नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई यात्रुको चाप बढी हुने आन्तरिक विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन बनाउने भएको छ । आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै क्यानले ६ वटा आन्तरिक र दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन यसै वर्ष निर्माण सुरु गर्ने घोषणा गरेको हो ।
आन्तरिक विमानस्थलहरू विराटनगर, भरतपुर, नेपालगन्ज, महेन्द्रनगर, रामेछाप र जुम्लालाई स्तरोन्नति गरिने तथा त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण प्रक्रिया सुरु गर्ने क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । ‘हामीले देशैभर नयाँ टर्मिनल भवन निर्माणसहित ६० अर्ब लगानीका विमानस्थल पूर्वाधार परियोजना एकैसाथ अगाडि बढाएका छौँ,’ उनले भने, ‘क्यानको यसपटकको बजेटले हवाई क्षेत्रलाई ‘नेक्स्ट लेबल’मा लैजानेछ ।’ क्यानले बहुवर्षीय ठेक्का प्रक्रियाबाट आन्तरिक स्रोतबाटै नयाँ टर्मिनल भवन बनाउने उद्घोष गरेको हो ।
क्यानले चालू आवका लागि ४१ अर्ब ८५ करोड ६६ लाखको बजेट ल्याएको छ । जसमध्ये २६ अर्ब ८२ करोड ४१ लाख पुँजीगत (विकास) खर्च छुट्याइएको छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ८ साउनमा बसेको क्यानको सञ्चालक समिति बैठकले यस वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो । यो बजेटले आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिलाई बढी प्राथमिकता दिएको छ ।
आन्तरिक हवाई यात्रु बढे
सन् २०२२ को पहिलो ६ महिनामै २२ लाख ९० हजार आन्तरिक यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा बढी तराईका विमानस्थलहरू व्यस्त हुन्छन् । दिनमा १८ घन्टा सञ्चालन हुने ती विमानस्थलमा ८० सिट क्षमताका जहाजहरू उडान–अवतरण गर्छन् । तर, त्यहाँ सन् १९६०÷७० को दशकमा बनेका टर्मिनल भवनबाट सेवा प्रवाह भइरहेको छ । ‘अहिले कुनै पनि आन्तरिक विमानस्थलमा पुग्दा यात्रुलाई एयरपोर्ट पुगेजस्तो महसुस हुँदैन, अत्यन्तै साँघुरा र थोत्रा टर्मिनल भवनमा कुनै पनि सुविधाहरू उपलब्ध छैनन्,’ उनले भने, ‘यात्रुले सुविधा खोज्दै धेरै पैसा तिरेर हवाई यात्रा गर्न खोज्छन् भने विमानस्थलमा पनि त्यही किसिमका सेवा–सुविधा हुनुप¥यो ।’
कुन विमानस्थलमा कस्तो टर्मिनल भवन ?
क्यानले महेन्द्रनगर एयरपोर्टमा करिब ६० करोड खर्चिएर कन्ट्रोल टावरसहितको नयाँ टर्मिनल भवन बनाउने भएको छ । त्यहाँ पिक आवरमा चार सय ५० यात्रुलाई एकैपटक सेवा दिन सक्ने तीन हजार सात सय २८ वर्गमिटरको टर्मिनल भवन बनाइने महानिर्देशक अधिकारीले बताए । विराटनगरमा तीन अर्ब खर्चिएर १५ हजार सात सय ६९ वर्गमिटरको नयाँ टर्मिनल भवन बनाउँदै छ । यस्तै, नेपालगन्जमा करिब तीन अर्ब लगानीमा १३ हजार एक सय ४४ बर्गमिटरको टर्मिनल भवन बनाउने भएको छ ।
भविष्यमा हुन सक्ने क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरी निर्माण गरिने टर्मिनल भवनमा पिक आवरमा एकैपटक १५ सय यात्रुलाई सेवा दिन सकिनेछ । चितवनको भरतपुर विमानस्थलमा सवा अर्ब लगानीमा सात हजार सात सय ४९ वर्गमिटरको नयाँ टर्मिनल भवन बनाइनेछ । ‘हामीले विमानस्थलको धावनमार्ग विस्तारका लागि नेपाली सेनासँग कुराकानी गरिसकेका छौँ,’ महानिर्देशक अधिकारीले भने । रामेछापमा २० करोडमा कन्ट्रोल टावरसहितको नयाँ टर्मिनल भवन र जुम्ला एयरपोर्टमा १० करोड रुपैयाँ खर्चिएर नयाँ टर्मिनल भवन बनाइँदै छ । यस्तै, भक्तपुरको नलिनचोकमा हेलिप्याड बनाइने बजेटमा उल्लेख छ ।
दुईवटा अन्तर्राष्ट्रिय टर्मिनल भवन
क्यानले त्रिभुवन विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताएको छ । नयाँ टर्मिनल भवन र समानान्तर ट्याक्सी वे बनाएपछि विमानस्थलको गुरुयोजनाले पूर्णता पाउने महानिर्देशक अधिकारीले बताए । नयाँ टर्मिनल भवन बनाउन करिब ३२ अर्ब लाग्ने अनुमान छ । एक लाख वर्गमिटरको भवनबाट वार्षिक एक करोड र व्यस्त समय (पिक आवर)मा एकैपटक ३५ सय यात्रुलाई सेवा दिन सकिने उल्लेख छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि १४ अर्ब लागतमा एरोब्रिजसहितको दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाइने भएको छ । यहाँ नयाँ समानान्तर ट्याक्सी वे, एप्रोनलगायत पूर्वाधार पनि निर्माण गरिने बताइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठमा सञ्चालनमा आएको हो । त्यहाँ अहिले कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
निजगढको विकल्प छैन
देशको बढ्दो यात्रु व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको महानिर्देशक अधिकारीले बताए । ‘अहिले वर्षमा १० लाख हवाई यात्रु बढिरहेका छन्, ती यात्रुका लागि निजगढ बन्नैपर्छ,’ उनले भने, ‘निजगढ विमानस्थल देशको आर्थिक समृद्धिका लागि दूरगामी महत्व राख्ने परियोजना हो ।’ सर्वोच्च अदालतले अहिलेसम्म भएका काम र निर्णय पूर्ण रूपमा खारेज गर्दै विकल्प खोज्न सुझाव दिएपछि निजगढ अलपत्र परेको छ । सर्वोच्चको आदेशबमोजिम विज्ञ समूह गठन गरेर विमानस्थल निर्माण अगाडि बढाइने उनले बताए ।
सेफ्टी अडिटमा प्रगति
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अडिटमा नेपाली आकाश सुरक्षित देखिएको छ । तर, अझै नेपाली उड्डयन क्षेत्रलाई युरोपेली आयोगले सुरक्षा चासोको सूचीमा राखेको छ । इयूले सन् २०१३ देखि नेपाललाई हवाई प्रतिबन्ध सूचीमा राखेको छ । इयूले निकट भविष्यमा नेपालमा सेफ्टी अडिट गर्न आउन लागेको शुक्रबार पत्राचार गरेको महानिर्देशक अधिकारीले बताए । ‘इयू नेपालमा विनासर्त सेफ्टी अडिट गर्न आउन तयार भएको छ, जुन हाम्रा लागि उपलब्धि हो,’ उनले भने, ‘नेपालले औसतभन्दा राम्रो नतिजा ल्याएको हुनाले इयूको प्रतिबन्धबाट उन्मुक्ति पाउने विश्वास छ ।’