मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १७ शनिबार
  • Saturday, 30 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १४ शनिबार १९:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छानबिन समितिको प्रतिवेदन एमालेलाई मान्य छैन : अध्यक्ष ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १४ शनिबार १९:४३:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन् । समितिको सो प्रतिवेदन तथ्यमा आधारित नरहेकाले त्यसलाई मान्न नसकिने उनको भनाइ छ । राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गरे । 

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढ्ने आफ्नो पार्टीको अडान रहेको बताए । समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘इन्टरनेसनल छानबिन गरौँ । यो देशविरुद्धको अपराध हो । देशको अर्थतन्त्रमाथिको गम्भीर अपराध हो । जनताले राजस्व तिर्नुपर्छ । उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ । व्यवसायीको घाँटी निमोठिएको छ । केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशयी पार्ने अपराध गरिएको छ,’ उनले भने, ‘मामुली कुरा हो यो ? आइन्दा सच्याउँला भन्ने कुरासम्म पनि छैन । यो विषयलाई गम्भीरताका साथ लिइएन ।’ 

अध्यक्ष ओलीले सत्तारुढ दलहरूले देशलाई बर्बादीको दिशातिर धकेलेको आरोपसमेत लगाए । देशलाई बचाउनका लागि आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने भन्दै त्यसका लागि खट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।