
गृहमन्त्री बालकृष्ण खाणले कारागारहरूलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् ।
अधिकांश कारागार सहरको मध्यभागमा रहेको भन्दै ती कारागारलाई ठूलो भूभागमा स्थानान्तरण गर्ने तथा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको मन्त्री खाणको भनाइ थियो । उनले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरूलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उल्लेख गरे ।
‘कृषि उत्पादनमा पनि उनीहरूलाई उपयोग गर्न सकियोस् भन्ने हाम्रो ध्येय र धारणा हो । त्यसका लागि सहर, बजारको मध्यभागमा रहेका बन्दीगृहहरूलाई सहर–बजारको किनारमा सार्ने जनताको माग पनि छ,’ उनले भने, ‘पालिकाहरूको पनि माग रहिआएको छ । उपयुक्त ठाउँमा जमिन खोजेर बजेटको व्यवस्थापन गरेर नयाँ बन्दीगृह बनाउने र त्यसलाई सुधारगृहको रूपमा परिणत गरेर बन्दीहरूलाई सुविधाजनक जीवन जिउने वातावरण बनाउने हामी कार्ययोजनामा छौँ ।’