कुलो निर्माणमा अनियमितता गर्ने कार्यालय प्रमुख, वडाध्यक्ष र उपभोक्ता समितिका पदाधिकारीसहित नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मुगुको छायानाथ रारा गाउँपालिका–१० स्थित तीनमुखेदेखि लुवाबान्नसम्मको सिँचाइ कुलो निर्माणका लागि कृषि विकास कार्यालयबाट ०७६/७७ मा विनियोजित बजेटमा अनियमितता भएको अख्तियारले जनाएको छ ।
७५ लाखको लागत अनुमानको आयोजनामा उपभोक्ता समितिले जनश्रमदानको हिस्सा घटाएर ५४ लाखको भुक्तानी लिएको थियो । तर, काम भने ३१ लाखको मात्र भएको देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ । कृषि विकास कार्यालय, उपभोक्ता समिति र स्थानीय तहका कर्मचारी र पदाधिकारीको मिलेमतोमा अनियमितता भएको आयोगको ठहर छ ।
यसमा संलग्न कर्मचारी र पदाधिकारीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । आयोजनाको यथार्थ नापजाँच र मूल्यांकन नै नगरी नापी किताब तयार गर्ने, कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने तथा स्टिमेटअनुसारको सबै काम भइसकेको भनी नापी किताब र कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेको अभियोगमा आयोगले कार्यालयका प्रमुख पञ्चलाल बुढा र सबइन्जिनियर राजेन्द्र शाहीविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगको आरोपपत्रअनुसार बुढा र शाहीद्वयले उपभोक्ता समितिका पदाधिकारीसँग मिलेमतो गरी अनियमितता गरेका हुन् । उनीहरूविरुद्ध आयोगले २३ लाख १० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
त्यस्तै, आयोजनाको यथार्थ नापजाँच गरी अनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा नगरी कृषि विकास कार्यालयका तत्कालीन नायब प्राविधिक सहायक (नाप्रास) मणिचन्द्र विक र जिल्ला समन्वय समितिका तत्कालीन खरिदार विश्वास उपाध्यायले आयोजनाको यथार्थ नापजाँच गरी स्थलगत अनुगमन प्रतिवेदन पेस गर्नुपर्नेमा यथार्थ कार्यमूल्यांकनभन्दा विपरीत आयोजनाको सम्झौताअनुसारको काम भएको गलत प्रतिवेदन दिएका आयोगले जनाएको छ ।