१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार ०८:१८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रिन्ससहित १० खेलाडीलाई  ओलम्पिकको छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार ०८:१८:००

सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ग्रीष्मकालीन ओलम्पिकका लागि १० नेपाली खेलाडीले ओलम्पिक छात्रवृत्ति प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटीले सम्बन्धित खेल संघको सिफारिसमा बुधबार छात्रवृत्तिका लागि १० खेलका १० खेलाडी छनोट गरेको हो । छनोट भएका खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्वीकृत गरेको एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताएका छन् । 

छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहनेछ । छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रिस्टाइल) र ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत) रहेका छन् । यसैगरी, जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजीमुनि), सुटिङकी सुस्मिता नेपाल (१० मिनेटर एयर राइफल), तेक्वान्दोकी युनिसिया राई (४९ केजीमुनि), डान्स स्पोर्टस्का दीपक लामा (बि–ब्वाइङ), गल्फका सुभाष तामाङ (व्यक्तिगत) र भारोत्तोलनका सागर भण्डारी (१०९ केजीमुनि) रहेका छन् ।

छात्रवृत्तिअन्तर्गत प्रत्येक खेलाडीले मासिक सात सय ५० डलर प्राप्त गर्नेछन् । यो ओलम्पिकको अन्तिम छनोटसम्म कायम रहनेछ । छनोटमा सफल रहे ओलम्पिक प्रतियोगितासम्म नै छात्रवृत्ति कायम हुनेछ । ओलम्पिक कमिटीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता, खेल सामग्री, बिमा, स्वास्थ्य परीक्षणदेखि अन्य तयारीका लागि चाहिने सबै प्रक्रियामा खर्च गरिने एनओसीका उपाध्यक्ष वैद्यले बताए । ओलम्पिक छात्रवृत्तिले नेपाली खेलाडीको तयारीमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । ‘छात्रवृत्तिको मुख्य लक्ष्य ओलम्पिक छनोट रहेको छ र यसले खेलाडीलाई ओलम्पिक छनोटको तयारी गर्न मद्दत गर्नेछ,’ उनले भने । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २००४ को एथेन्स ओलम्पिकदेखि यस प्रकारको छात्रवृत्ति प्रदान गर्न सुरु गरेको हो ।