प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक शिक्षित र सुसुचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताएका छन् । नागरिकको सूचनाको हकलाई सूनिश्चित गर्न सञ्चारमाध्यमलाई थप चुस्त बनाउन आवश्यक रहेको उल्लेख गरे । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरूले सत्यतथ्य सूचना प्रसारण गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले तथ्यहीन, भ्रामक, समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकाले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चारमाध्यमलाई समयसुहाउँदो रूपमा परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले विश्वमा सूचना तथा प्रविधिको द्रुतगतिमा भइरहेको विकासलाई मध्यनजर गरेर सहज र आधुनिक माध्यमबाट नागरिकलाई सत्यतथ्य सूचना प्रकाशन गर्न सक्नुपर्ने बताए । उनले सत्यतथ्य सूचना प्रसारण गर्न सके मात्र लोकतन्त्र संस्थागत हुने बताए ।
प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषणजस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक–अधिकारको पूर्ण सुनिश्चितता हुने जिकिर गरे ।