मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १० मंगलबार
  • Wednesday, 02 September, 2026
२o७९ श्रावण १० मंगलबार १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नालीको व्यवस्थापन नगर्दा सडक भासियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १० मंगलबार १४:१२:oo

दैलेखको नारायण नगरपालिका– ६ नयाँगाउँ हुँदै बिजौरा–चौराठा जाने सडकमा नालीको व्यवस्थापन नहुँदा पहिरोले सडक भासिएको छ। भीषण वर्षापछिको पहिरोले समथल स्थान अहिले खोलाको रूपमा परिणत भएको छ।

बेलापुर मन्दिर हुँदै तलपट्टि–बसपार्कलगायतका स्थानबाट जम्मा भएको भलका कारण सडक भासिएको हो। पहिरोले रूख ढल्दा विद्युतको पोलसमेत भाँचिएपछि विद्युत् अवरुद्ध भएको छ।

विगत तीन वर्षदेखि नगर चक्रपथअन्तर्गत उक्त सडक निर्माण तथा मर्मतको काम भइरहे पनि नालीको उचित व्यवस्थापन नहुँदा करिब एक सय ५० मिटर सडकमा ठूलो पहिरो गएको छ। पहिरोका कारण थप जोखिमको सम्भावना देखिएको स्थानीयले गुनासो गरेका छन्।

सडक भासिएसँगै अहिले बिजौरा, चौराठा, बिन्ध्यावासिनीलगायतका स्थानहरू सदरमुकाम दैलेख बजारसँग सम्बन्धविच्छेद भएका छन्। बिरामी पर्दा सवारीसाधन आवतजावतमा समेत समस्या उत्पन्न भएपछि बिजौरा हुँदै बेलासपुर मन्दिर परिसरबाट वैकल्पिक सडक खुलाउने तयारी भएको नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापाले जानकारी दिएकी छन्।

निरन्तरको वर्षातका कारण दैलेखका अधिकांश पालिका र वडा जोड्ने सडकहरू अवरुद्ध भएका छन्। समस्या भएका सडकहरू तत्काल सुचारु गर्न, धनजनको क्षति हुनबाट जोगाउन हरेक पालिकामा रहेका सुरक्षा निकायको प्रभावकारी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन्।