जिल्ला सदरमुकाम मार्तडीस्थित निर्माणाधीन खेलकुद विकास कार्यालय र बहुउद्देश्यीय कभर्ड हल अलपत्र अवस्थामा रहेको छ । कार्यालय स्थापनाको २७ वर्षसम्म पनि आफ्नै भवन नहुँदा खेलकुद विकास कार्यालय परिसर घोडा खच्चर चरण क्षेत्र बनेको छ । कार्यालयको स्थापना ०५२ सालमा भएको हो । कार्यालयमा एकजना कार्यालय प्रमुख र कार्यालय सहयोगीको दरबन्दी छ । कार्यालयको अवस्था जीर्ण हुँदासमेत सरोकारवाला निकाय र जिल्लाका स्थानीय तहहरूले चासो देखाएका छैनन् ।
जिल्ला खेलकुद विकास कार्यालयकी प्रमुख लक्ष्मी बडुवालका अनुसार कार्यालय सहयोगीको दरबन्दी भए पनि कर्मचारी नियुक्त भएका छैनन् । कार्यालयकै आन्तरिक स्रोतबाट कार्यालय सहयोगी राखिएको छ । कार्यालय सहयोगी वीरेन्द्र रोकायाले नौ वर्षदेखि मासिक २५ सय रुपैयाँमा काम गर्दै आएको बताए । यो रकम पनि कार्यालयको परिसरमा होटेल सञ्चालन गरेको व्यवसायीले भाडा दिए मात्रै पाउने गरेको उनले बताए ।
प्रशासन र खेल अभ्यास एउटै कोठामा
भवन जीर्ण भएका कारण कार्यालयको प्रशासकीय फाँट र खेलाडीलाई अभ्यास एउटै कोठामा हुने गरेको छ । जुडो, कराते, बक्सरको प्रशिक्षण र प्रशासन फाँट एकै कोठामा छ । भवन अभावले कार्यसम्पादनमा समेत समस्या भएको कार्यालय प्रमुख बडुवाले बताए ।
जिल्ला खेलकुद विकास कार्यालय स्थापनाको २७ वर्षसम्म पनि आफ्नै कभर्ड हल छैन, कार्यालय परिसर घोडा र खच्चर चरण क्षेत्र बनेको छ
हरेक वर्ष बजेट विनियोजन तर काम हुँदैन
बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि सरकारबाट बजेट नआएको होइन । पटक–पटक गरी चार करोड २५ लाख बजेट आइसकेको छ । तर, तत्कालीन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत थापा, जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकाया, जिल्ला प्रशासन र भवन निर्माण कम्पनीको ठेकेदारको चरम लापरबाहीका कारण अहिलेसम्म जिल्लाको एक मात्रै बहुउद्देश्यीय कभर्ड हल अलपत्र बनेको स्थानीयवासी दिलबहादुर कुँवरले आरोप लगाए । भवन निर्माणका लागि नेपाल सरकारबाट प्रत्येक वर्ष बजेट विनियोजन भएको देखिन्छ । तर, ठेकेदार र खेलकुद विकास समितिको लापरबाहीले बजेट कार्यान्वयन हुन नसकेको कुँवरको भनाइ छ ।
केपीबा स्पोर्टस् क्लबको जिल्ला अध्यक्ष लक्ष्मण रोकायाले खेलकुद विकास कार्यालय स्थापना भएको वर्षौँ बितिसक्दा पनि जिल्लाका सयौँ खेलाडीले उपयुुक्त खेलमैदान नपाएको बताए । कभर्ड हल अभावमा सार्वजनिकस्थल, विद्यालयजस्ता स्थलमा अभ्यास खेल खेल्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । समाज सुधार युवा क्लब अध्यक्ष प्रेम नेपाली राज्यले करोडौँ रकम जिल्ला खेलकुद विकास कार्यालयको नाममा आए पनि खेलकुद विकास समितिको लापरबाहीले रकमको सही सदुपयोग नभएको बताए ।
बजेट सदुपयोग नहुनु दुःखद : थापा
खेलकुद विकास समिति बाजुरा अध्यक्ष राकेश थापाले पनि बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि करोडौँ बजेट आए पनि बजेटअनुसारको काम नहुनु दुःखद भएको बताए । अध्यक्ष थापाले भने, ‘कभर्ड हल निर्माणका लागि बजेट आउँदा म अध्यक्ष थिइनँ ।’तत्कालीन अध्यक्षलगायतका व्यक्तिहरूको लापरबाहीले बहुउद्देश्यीय कभर्ड हल अलपत्र परेको उनको भनाइ छ । यसपटकको दुई करोड बजेट कार्यान्वयनका लागि सहरी विकास कार्यालय, दिपायलले बोलपत्र खोलेको उनले बताए ।
कभर्ड हल निर्माणमा कति खर्च ?