नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि सेयर बजार उच्च अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ६१ दशमलव शून्य पाँच अंकले बढेर दुई हजार ७८ दशमलव ५१ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव शून्य नौ अंकले बढेर तीन सय ९८ दशमलव ३३ बिन्दुमा पुगेको छ । यतिवेला लगानीकर्ता दुई हजार अंकलाई मनोवैज्ञानिक बिन्दु मानेर कारोबार गरिरहेका छन् ।
लामो समय दुई हजार बिन्दुले परीक्षण गरिरहँदा बजारमा उत्तारचढाव आइरहेको हो । राष्ट्र बैंकले यसअघि सेयर धितो कर्जामा लगाउँदै आएको एक बैंक वा वित्तीय संस्थाबाट चार करोड रुपैयाँ र समग्रमा १२ करोड रुपैयाँसम्म मात्र सेयर कर्जा लिन पाउने गरी गरेको निर्देशनलाई खारेज गरी एउटै संस्थाबाट पनि १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्थाले लगानीकर्तालाई राहत पुगेको महसुस गरिएको छ ।
लगानीकर्ताको मुख्य माग सेयर धितो कर्जा खारेजी गर्नुपर्ने रहेको थियो । यसलाई बैंकले संशोधन गरेसँगै त्यसको प्रभाव सेयर बजारमा समेत देखापरेको छ । एक ब्रोकरले लगानीकर्ताको ४–१२ करोडको संशोधनको सकारात्मक प्रभाव बजारमा देखिएकाले आगामी बजार सकारात्मक हुने अपेक्षा गर्न सकिने बताए । उनले भने, ‘बजारले लामो करेक्सन पार गरेको र मौद्रिक नीति लगानीकर्ताका लागि सकारात्मक आएकाले बजार पुरानै गतिमा अघि बढ्ने अपेक्षा छ ।’
यस दिन एक सय ७९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको मात्र सेयर मूल्य घटेको छ । नेप्सेले ऋणपत्रहरूलाई भने यसमा गणना गरेको छैन । कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् । फाइनान्स समूहको सूचक सात दशमलव २२ प्रतिशतले बढ्दा ‘अन्य’ समूहको सूचक ६ दशमलव ९३ प्रतिशतले बढेको छ । विकास बैंक समूहको सूचक ५ प्रतिशतभन्दा बढीले बढ्दा माइक्रो फाइनान्स समूह, लगानीगत समूह र जलविद्युत् समूहको सूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । होटेल तथा पर्यटन समूह र जीवन बिमा समूहको सूचक २ प्रतिशतभन्दा बढीले बढ्दा वाणिज्य बैंक समूह, उत्पादनमूलक समूह, निर्जीवन बिमा समूह र म्युचुअल फन्ड समूहको सूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १९ कम्पनीको ६४ लाख २३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आइतबार सर्वाधिक कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीको ३९ करोड रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, एनआइसी एसिया बैंक, अरुण काबेली पावरको सेयर ६ करोड रुपैयाँदेखि ६ करोड ८२ लाख रुपैयाँसम्मको कारोबार भएका छन् ।
उच्च अंकले बढेको बजारमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, बेस्ट फाइनान्स, रिभरफल्स पावर, नेसनल हाइड्रोपावर कम्पनी, ग्रिनभेन्जर लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।