प्रदेशको नामाकरणमा ढिलाइ हुँदा सुरक्षा थ्रेट बढेको भन्दै गोप्य मतदानको व्यवस्था गर्न प्रदेश १ का सांसदले माग गरेका छन् । आइतबार प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद सर्वध्वज साँवाले नामाकरणमा ढिलाइ हुँदा आफूहरू घरदेखि संसद्सम्म घेराबन्दीमा पर्न थालेको भन्दै नियमावली संशोधन गरेर गोप्य मतदानको व्यवस्था गर्न माग गरे ।
सांसद साँवाले संसदमा आउँदा पनि आफूहरू विभिन्न समूहको घेराबन्दीबाट जोगिँदै आउनुपरेको बताए । सार्वजनिक कार्यक्रमहरूदेखि घरसम्म यो वा त्यो नामको पक्षमा मतदान गरिनस् भने खबरदार ! भन्दै विभिन्न समूहले थ्रेट दिन थालेको उनले बताए ।
यसरी धम्की आउन थालेपछि प्रदेश सांसदहरू असुरक्षित भएको उनको भनाइ थियो । प्रदेश सभाको नियमावलीमा खुला मतदानबाट नामाकरण हुने व्यवस्था रहेकोले कसले कुन नामको पक्षमा मत जाहेर गर्यो भन्ने सार्वजनिक रूपमा थाहा हुन्छ । ‘कसले के नाममा मत दियो भन्ने सबैले जानकारी पाउँदा सांसदहरूलाई झन् जोखिम बढ्ने भयो,’ सांसद साँवाले भने, ‘गुहार, गुहार सभामुखज्यू हामी असुरक्षित भयाैँ ।’
बैठकमा बोल्दै एमालेकै सांसद हिमादेवी बस्नेतले प्रदेशको नामाकरणमा ढिलाइ हुँदा प्रदेशवासीले पहिचानका आधारमा नागरिकता प्राप्त गर्न नपाएको बताइन् । जसले गर्दा संवैधानिक हक उल्लंघन भैरहेको भन्दै उनले चाँडो प्रदेशको नाम टुंगो लगाउन माग गरिन् । बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफूहरू साझा नाममा सहमति जनाउन तयार रहेकोले अरू दलहरूले पनि साझा नाममा चाँडो सहमति बनाउन आग्रह गरे । नेता कोइरालाले भने, ‘द्वन्द्व पनि मेटिने अनि पहिचान पनि भेटिने गरी साझा नाममा सहमति जनाउन कांग्रेस तयार छ, यसैले अरू दलहरूले पनि चाँडो सहमति बनाउनुपर्छ ।’
प्रदेश १ सभाको पहिलो कार्यकाल समाप्त हुन लागे पनि दलहरूबीच सहमति नहुँदा अझै प्रदेशको नामाकरण टुंगो लागेको छैन । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने भन्दै किराँत राई यायोक्खा र किराँत याक्थुम चुम्लुङलगायतका संघसंस्था र दलका भ्रातृ संगठनहरूले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । आइतबार पनि किराँत राई यायोक्खाले पहिचानका आधारमा नामाकरण माग गर्दै प्रदेश सभा घेराउ गरेको छ ।