मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३१ शुक्रबार ०६:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रलाई लयमा फर्काउन प्रधानमन्त्री देउवाको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३१ शुक्रबार ०६:१०:००

मुलुकको अर्थतन्त्रबारे प्रधानमन्त्री शेरबहादुर देउवाले तालुक मन्त्रालयका अधिकारीहरूसमक्ष चासो राखेका छन् । अर्थ मन्त्रालयको जिम्मेवारी आफ्नो काँधमा आइपुगेपछि उनले पहिलोपटक बैठक राखेरै चासो देखाएका हुन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।

प्रधानमन्त्रीले खासगरी बाह्य क्षेत्रमा परेको प्रभावलाई लिएर चासो लिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले व्यापार घाटा, शोधनान्तर र विदेशी विनिमय सञ्चितिको विषयमा बढी चासो राख्नुभयो । उहाँले सञ्चिति बढाएर अर्थतन्त्रलाई लयमा फर्काउने उपाय खोज्न निर्देशनसमेत दिनुभयो ।’ 

राष्ट्र बैंक अहिले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारीमा छ । मौद्रिक नीति ल्याउने तयारीकै सन्दर्भमा प्रधानमन्त्री देउवासमक्ष राष्ट्र बैंकका सञ्चालकसमेत रहने अर्थसचिव मधुकुमार मरासिनी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्रिफिङ गरे । बैठकमा अर्थसचिव, गर्भनर र वाणिज्य सचिवबाहेक अरूले प्रस्तुति नदिएको उद्योग सचिव अजुन पोखरेलले बताए । उनले भने, ‘यो मन्त्रालयगत रूपमा नियमित बैठक नै हो । प्रधानमन्त्रीले अर्थको जिम्मेवारी आफूले सम्हालेपछि भने यस्तो बैठक पहिलोपटक बसेको हो ।’

व्यापार घाटा, शोधनान्तर र विदेशी विनिमय सञ्चितिको विषयमा बढी चासो राख्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चिति बढाएर अर्थतन्त्रलाई लयमा फर्काउने उपाय खोज्न निर्देशन दिए

व्यापार घाटाको विषयमा उद्योग वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डेयले प्रस्तुति दिएका थिए । त्यस्तै, अर्थसचिव मरासिनी र गभर्नर अधिकारीले आयात निरुत्साहनको नीतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपाल आयल निगमको घाटा बढ्दै गइरहेको सन्दर्भमा पेट्रोलियम पदार्थको मूल्य परोल मूल्यमै बिक्री गर्न पाउनुपर्ने विषयमा पनि अर्थसचिवले जोड दिए ।

नेपाल राष्ट्र बैंकको ११ महिनाको तथ्यांकअनुसार जेठसम्ममा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ४५ करोड अमेरिकी डलर पुगेको छ । यो ६.७३ महिनाको आयात धान्नलाई पर्याप्त रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । त्यस्तै, वस्तु आयात २७.५ प्रतिशतले बढेर व्यापार घाटा १५ खर्ब ७७ अर्ब पुगेको छ । यद्यपि, रेमिट्यान्समा ३.८ प्रतिशतले बढ्दा सञ्चितिलाई भरथेग भएको तथ्यांकले देखाएको छ । अहिले शोधनान्तर स्थिति पनि दुई खर्ब ६९ अर्ब घाटामा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सरकारले विलासिताका वस्तु आयातमा कडाइ गरेसँगै आयातमा थोरै सुधार आइरहेको छ । विदेशी मुद्राको ढुकुटीमा परेको चापलाई राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले सम्बोधन गर्नेतर्फ धेरैको अपेक्षा छ ।