सरकारको लगानीमा निर्माणाधीन रहेको धरान–चतरा–उदयपुर–सिन्धुली–हेटौँडा जोड्ने सडकको उदयपुर–सिन्धुलीखण्ड जोखिमपूर्ण बन्दै गएको छ । निर्माण सम्पन्न हुँदै गरेको मदन भण्डारी लोकमार्ग नामले परिचित उदयपुर–सिन्धुलीखण्ड धाँजा भएर फाट्न थालेपछि जोखिमपूर्ण बन्दै गएको हो ।
धरानदेखि हेटौँडासम्म जम्मा तीन सय ११ किलोमिटर दूरी रहेको छ । जसमा पूर्व खण्डमा पर्ने उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म एक सय ३५ किलोमिटर पर्दछ । अहिले त्यही खण्डमा सडकछेउ र पुलहरूको छेउ धाँजा भएर भत्किन थालेपछि जोखिम बढ्दै गएको हो ।
मदन भण्डारी लोकमार्ग हुँदै हेटौँडादेखि धरानको यात्रामा भेटिएका सवारीचालक राम कुँवरले सडकको छेउछाउ धाँजा भएर पहिरो जाने खतरा बढेको बताए । उनले भने, ‘धेरैजसो सिन्धुलीको भिमानदेखि उदयपुरकाे बसाहाखण्डमा पर्ने सडक धाँजा गएको छ । कतै भासिएको छ । सवारीसाधनमा जोखिमपूर्ण यात्रा गर्नुपर्छ ।’
उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका– ९ भिमानसम्म एक सय ३५ किलोमिटरलाई पूर्वीखण्ड र भिमानदेखि हेटौँडा उपमहानगरपालिका– ६ चौघडासम्मको एक सय १५ किलोमिटरलाई पश्चिम खण्डमा विभाजन गरेर काम हुँदै छ । जसमा पूर्वी खण्डमा पर्ने उदयपुरको बसाहा–सिन्धुली खण्डमा पुलहरू निर्माणको काम मात्र बाँकी छ ।
सडक उपभोक्ताहरूले सडक कार्यालय र ठेकेदार कम्पनीले आर्थिक चलखेल गरेर सडक खुम्च्याउने र गुणस्तरहीन काम गरेको आरोप लगाउँदै आएका छन् । उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म एक सय ३५ किलोमिटर सडक निर्माण जेडआइइसी, शर्मा लामा जेभी कन्स्ट्रक्सनले गरेको थियो । अहिले उक्त सडक गुणस्तरहीन भएको उपभोक्ताहरूको आरोप रहेको छ ।
जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चर काठमाडाैंले ६ अर्ब ५४ करोड २९ लाख ३२ हजार नौसय ३७ रुपैयाँमा ठेक्का लिई गत ०७८ भदौमा सम्पन्न गरिसकेको निर्माणाधीन मदन भण्डारी लोकमार्गको उदयपुर–सिन्धुली खण्ड हेर्ने जिम्मा पाएको सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक योजनाका प्रमुख गोपालप्रसाद खकुरेलले बताए । उनले भने, ‘नयाँ सडक भत्किनु कुनै नौलो होइन् । अहिले भत्के पनि ठेकेदार कम्पनीले बनाउने हो, बनाउँदै छ । ठेकेदारले गुणस्तरहीन काम गर्यो भन्न मिल्दैन ।’
उनले चुरेको कमसल पहाडमा बनेको सडक भएकाले पनि धेरै स्थानमा धाँजा पर्ने, पहिरो जानेलगायतका समस्या आइरहेको बताए । उनले भने, ‘नयाँ सडकमा धाँजा पर्नु, पहिरो जानु सामान्य नै हो ।’
उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्म जम्मा ४३ वटा खोलानालामा पुल बनिसकेको र अन्य १२ वटा पुल बन्दै गरेको खकुरेलले बताए । उनले भने, ‘निर्माणधीन रहेका जम्मा १२ वटा पुलमा आठवटा सम्पन्न हुँदै छन् । बाँकी पनि आउने फागुन महिनामा सम्पन्न हुनेछन् ।’ पुलको एप्रोचभाग (पुलको छेउछाउ) मात्र कालोपत्रे गर्न बाँकी रहेको पनि उनले जानकारी दिए ।
मधेस आन्दोलनताका पूर्व–पश्चिम राजमार्ग ठप्प हुँदा सुनसरीको चतरादेखि उदयपुर हुँदै सिन्धुली र मकवानपुरमा चुरेको फेदी हुँदै सवारीसाधन आवतजावत गर्ने ग्रामीण सडक थियो । पछि उक्त सडकलाई पूर्वपश्चिम लोकमार्गको रूपमा निर्माण गर्दै मदन भण्डारी लोकमार्ग नामकरण गरिएको थियो ।