राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले ६ खेलका १३ खेलाडीलाई खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका समान एक, बक्सिङका तीन, एथलेटिक्स र ट्रायथलनका समान दुई गरी १३ खेलाडीलाई १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको हो ।
पारा ओलम्पियन तेक्वान्दोकी पलेसा गोवद्र्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान एक लाख ५० हजार रुपैयाँ पाए । टोकियो पारा ओलम्पिकमा दुई ‘बाउट’ जितेर इतिहास रचेकी पलेसाले एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । विश्व जुनियर वरीयताको सातौँ स्थानमा रहेका प्रिन्स केही महिनाअघि शीर्ष वरीयतामा थिए । बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना घिसिङले एक–एक लाख पाए ।
बक्सिङका तीनैजना खेलाडीले युएईमा भएको एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेका थिए । सिर्जनाले इरानमा भएको वल्र्ड प्रेसिडेन्ट कप च्याम्पियनसिपमा नेपाललाई रजत दिलाएकी थिइन् । एथलेटिक्सकी राजपुरा पछाईं र पुष्पा भण्डारी, ट्रायथलनका सोनी गुरुङ र वसन्त थारू, पारा तेक्वान्दोका रञ्जना धामी र विशाल गर्बुजा तथा भलिबलकी अरुणा शाहीले समान ५० हजार रुपैयाँ पाएका छन् ।
राजपुराले भारतमा भएको दक्षिण एसियाली क्रस कन्ट्री तथा पुष्पाले ढाका म्याराथनमा रजत जितेका थिए । पोखरामा भएको नवौँ दक्षिण एसियाली ट्रायथलनमा सोनी र वसन्तले कांस्य हात पारेका थिए । रञ्जनाले एसियाली खेलकुदको छनोट तथा विशालले युथ एसियन गेम्सको छनोटमा कांस्य हात पारेका थिए । एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालले स्वर्ण जित्दा अरुणा टोलीकी कप्तान हुन् ।