१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २७ सोमबार
  • Sunday, 22 September, 2024
२o७९ असार २७ सोमबार o७:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २७ सोमबार o७:o५:oo

कृषि ज्ञानकेन्द्र लमजुङले जिल्लाका ३८ किसानलाई क्षेत्रफलका आधारमा तरकारी उत्पादन प्रोत्साहन सहयोग गरेको छ । खुला तथा नियन्त्रित रूपमा व्यावसायिक तरकारी खेती गरिरहेका कृषि फार्म तथा समूहलाई नगद एक लाख आठ हजारसम्म प्रोत्साहन सहयोग गरिएको हो ।

सम्मानित हुनेहरूमा बेँसीसहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिका, मस्र्याङ्दी, दोर्दी र क्व्होलासोथर गाउँपालिकाका ३८ जना रहेका छन् । केन्द्रका अर्थविज्ञ मदन रेग्मीका अनुसार कृषकले कम्तीमा खुलामा दुई रोपनी क्षेत्रफलमा र नियन्त्रितमा दुई सय वर्गमिटरमा व्यावसायिक खेती गरेको हुनुपर्ने प्रावधान रहेको छ ।  

ज्ञानकेन्द्रले तोकेको मापदण्ड पूरा गरी मस्र्याङ्दी गाउँपालिका–९ को भलामचौर मिर्चे नमुना कृषि फार्म सबैभन्दा बढी क्षेत्रफलमा खेती गरी प्रथम भएको छ । सो फार्मले एक लाख आठ हजार नगद प्रोत्साहन पाएको छ ।

त्यस्तै, दोस्रो हुन सफल मध्यनेपाल नगरपालिका–५ स्थित जंगल कृषि फार्मलाई नगद ५२ हजार नौ सय रुपैयाँ र तेस्रो हुन सफल क्व्होलासोथर गाउँपालिकाको अस्मिता कृषि फार्मलाई नगद ३० हजार प्रोत्साहन रकम प्रदान गरी सम्मान गरेको कृषि प्रसार अधिकृत किरण सापकोटाले बताए ।

आइतबार कृषि ज्ञानकेन्द्रको सभाहलमा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले कृषि उत्पादन बढाउनुका साथै बजारीकरणमा सहयोग गर्न पालिकाहरूलाई आफूले समन्वय गर्ने बताए । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले लमजुङको हावापानीले यहाँ व्यावसायिक कृषिको राम्रो सम्भावना रहेको बताए ।

कृषि ज्ञानकेन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले कृषिमा व्यवसायीकरण गर्नका लागि प्रविधि, यान्त्रीकरण, सिँचाइसहितका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए ।