नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले यस्तो आरोप लगाएका हुन्।
उनले लामो समयदेखि नागरिकताबाट वञ्चित भएका नागरिकहरूको लागि नेपालको नागरिकता प्रदान गर्न लागि परे पनि सरकारले अहिले फिर्ता लिँदा नेकपा एमाले आश्चर्यमा परेको बताए। उनले नेकपा एमालेले एक किसिमले नागरिकता विधेयक पास गर्न सहयोग गर्न तयार रहेको भए पनि अर्को विधेयक ल्याउने सरकारको निर्णयलाई त्यसभित्रका कुराहरू नहेरी समर्थन नगर्ने बताए।
‘यो सरकार बनेपछि हामीले बारम्बार माग गरेका थियौँ । ल्याउने प्रयत्न हुँदै थियो तर अचानक त्यसलाई फिर्ता लिने रे भन्ने सुन्दा हामी आश्चर्यचकित भएका छौँ । दुई वर्ष लगाएर छलफल गरेर एक हिसाबले सर्वसम्मत भएको कुरा र लाखौँ वञ्चितहरूलाई नागरिकता दिने त्यो विधेयक फिर्ता लिएर सरकारले नागरिकको सामान्य हक खोस्ने काम गरेको छ,’ उनले भने, ‘अर्को नागरिकता विधेयक कस्तो आउँछ हेरेर मात्रै एमालेले सहयोग र समर्थन गर्छ। तर, मूल रूपमा नागरिकता ऐन छिटोभन्दा छिटो पास गर्नुपर्छ र वञ्चितहरूलाई नागरिकता दिनुपर्छ भन्ने पक्षमा एमाले छ।’