साबिक विजेता न्युरोड टिम (एनआरटी) २५औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलबार भएको क्वार्टरफाइनलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३–१ ले पराजित गर्दै एनआरटी अन्तिम चारमा पुगेका हो । एनआरटीका लागि शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । झापाका लागि रोबर्ट खोन्जोउले एक गोल फर्काएका थिए ।
एनआरटीले फाइनल प्रवेश खेलमा युकेएफसी भारतसँग खेल्नेछ । खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
झापा र एनआरटीबिच पहिलो हाफ गोलरहित बराबरी भएको थियो । झापाले दोस्रोे हाफको सुरुमा नै गोल खायो । खेलको ४८औँ मिनेटमा एनआरटीका शिशिरले १–० का लागि गोल गरे । सुजन लिम्बूको पासमा उनले डिबक्समा उत्कृष्ट गोल गरेका हुन् ।
खेलको ६०औँ मिनेटमा कप्तान सरोज घिसिङले एनआरटीलाई २–० को स्थितिमा राखे । उनले गोलरक्षक अभिशेष बरालबाट रिबाउन्ड भएको बललाई गोल गरेका हुन् । खेलको ६२औँ मिनेटमा झापाले २–१ को गोलअन्तरमा खेल पु¥याएको थियो । खामिर लिम्बूले मिलाइदिएको पासमा रोबर्टले गोल गरेका हुन् ।