ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको काम तत्कालका लागि स्थगन गर्ने सहमति जुटेको छ । योसँगै १२ माघदेखि आन्दोलनरत पक्षले पनि आन्दोलन स्थगित गरेको छ ।
गृह मन्त्रालयले गठन गरेको सरकारी वार्ता टोली र मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिसहितका समूहबिच मंगलबार राति भएको ६ बुँदे सहमतिअनुसार कोशीमा अनिश्चितकालीन यातायात बन्दको आन्दोलन पनि स्थगित भएको छ ।
सरकारी वार्ता टोलीका संयोजक, सहसचिव प्रेमप्रसाद भट्टराईका अनुसार केबलकार निर्माणको काम तत्कालका लागि स्थगन हुनेछ । तर, आन्दोलनरत पक्षले केबलकार निर्माण गर्न नै नहुने राखेको अडानका बारेमा भने २७ माघमा पुनः वार्ता गरेर टुंग्याइनेछ ।
सहमतिअनुसार १२ माघ र त्यसपछि आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी उपचार सरकारले गर्ने भएको छ । १२ माघमा भएको झडप र प्रहरीको बल प्रयोगबाट तीनजना गम्भीर घाइते भएका थिए । योे घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति बुँदा नम्बर ३ मा उल्लेख छ ।
त्यस्तै, आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई विनासर्त तत्काल रिहाइको प्रक्रिया सुरु गर्ने सहमति पनि भएको छ । मुक्कुम्लुङ संरक्षण पक्षबाट वार्तामा सहभागी सरस्वती सिंगक(सरू) ले सहमतिअनुसार यातायात बन्द स्थगित गरिएको बताइन् ।