राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन्। मंगलबार उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
चितवनको साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा पैसा गएको र त्यो खर्च गर्ने भूमिकामा उनी पनि रहेको भन्दै लामिछानेलाई पनि प्रतिवादी बनाइएको छ ।
लामिछानेविरुद्ध चितवनमा ठगीको मात्र मुद्दा लागेको छ । संगठित अपराधको मुद्दा नलगाइएको भनेर चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयले मंगलबार नै सरुवा गरेको छ । संगठित अपराध निवारण ऐनको व्याख्याअनुसार सो सहकारीको रकम हिनामिनामा लामिछानेको भूमिका नदेखिएको भन्दै उनीविरुद्ध ठगीको मात्र अभियोग लगाइएको छ।
चितवन साहारा सहकारीबाट गोर्खा मिडियामा १० करोड ८० लाख रकम गैरकानुनी रूपमा गएको छ। सो सहकारीका चार सञ्चालकलाई दामासाहीका रूपमा सो बिगो कायम गरिएको छ।