सेतीले सञ्चालनमा ल्याएको डायलाइसिस सेन्टरमा अहिले ३० जनाले नियमित डायलाइसिस सेवा लिइरहेका छन्
सेती प्रादेशिक अस्पतालले डायलाइसिस सेवा सञ्चालनमा ल्याएको छ । संघीय सरकारले डायलाइसिस मेसिन खरिद गरेर पठाएको १० महिनापछि सेती अस्पतालले आफ्नै व्यवस्थापनमा डायलाइसिस सेवा सञ्चालन गरेको हो ।
डायलाइसिस सेवा सञ्चालनमा आएपछि सुदूरपश्चिमका मिर्गौला रोगपीडित बिरामीलाई सहज भएको छ । सेतीले सञ्चालनमा ल्याएको डायलाइसिस सेन्टरमा अहिले ३० जनाले नियमित डायलाइसिस सेवा लिइरहेका छन् ।
नेपाल सरकारसँगको सहकार्यमा निजी संस्था बिरंग हेल्थ केयरले पनि सेती अस्पतालमै १० शय्यामा डायलाइसिस सेवा सञ्चालन गरिरहेको छ । बिरंगको डायलाइसिस सेन्टरमा अहिले ७० जनाले डायलाइसिस गराउँदै आएका छन् । सरकारले एउटा व्यक्तिको एकपटक डायलाइसिस गराएबापत बिरंगलाई दुई हजार चार सय रुपैयाँ दिने गरेको छ । उक्त सेन्टरमा पालो पाउन सास्ती खेप्दै आएका बिरामीलाई सेतीले आफैँ सेवा सञ्चालनमा ल्याएपछि डायलाइसिस गराउन सहज भएको छ ।
संघीय सरकारले सातवटा डायलाइसिस मेसिन खरिद गरेर गत असोजमा सेती अस्पतालमा पठाएको थियो । तर, भुक्तानी रोकिएपछि आपूर्तिकर्ताबाट अस्पताललाई मेसिन हस्तान्तरण नहुँदा सेवा सञ्चालनमा ढिलाइ भएको हो । अस्पतालको नवनिर्मित भवनमा मेसिन जडान गरिएपछि गत साताबाट १० शय्यामा डायलाइसिस सेवा सञ्चालनमा ल्याइएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । सातवटा डायलाइसिस मेसिन नेपाल सरकारले उपलब्ध गराएको र तीनवटा मेसिन आन्तरिक स्रोतबाट अस्पताल आफैँले खरिद गरेको उनले बताए ।
अस्पतालले दुईवटा डायलाइसिस मेसिन थप गर्दै छ । ‘अस्पताल आफैँले डायलाइसिस सेवा सञ्चालन गरेपछि मिर्गौला रोगपीडितलाई सेवा पाउन सहज भएको छ । डायलाइसिसका लागि पालो कुर्नुपर्ने अवस्था अहिले छैन,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘अरू थप दुईवटा डायलाइसिस मेसिनबाट एक साताभित्रै सेवा थप्दै छौँ ।’ डायलाइसिस गराएबापत बिरंगले मासिक लाखौँ रुपैयाँ सरकारबाट भुक्तानी लिने गरेको छ ।
सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा डायलाइसिस गराउने सुविधा छैन । मिर्गौला रोगपीडितले डायलाइसिस गराउन धनगढी आउनुपर्छ । हप्तैपिच्छे डायलाइसिस गराउनुपर्दा पहाडबाट आउजाउ गर्न नसकिने भएपछि बिरामी तराईमा डेरा गरी बस्नुपर्ने बाध्यता छ । कोठा भाडामा लिएर बस्नुपर्दा विपन्न परिवारका बिरामीले उपचार गराउन कठिनाइ भोग्दै आएका छन् । डायलाइसिस गराउनेमध्ये अधिकांश बिरामी सुदूरपश्चिमका पहाडी जिल्लाका छन् । सुदूरपश्चिममा सरकारी अस्पतालमा सेतीमा मात्रै डायलाइसिस सुविधा छ ।