१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार २२ बुधबार ०७:३५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बजेट सक्न मनसुनमा फुटबल र क्रिकेट प्रतियोगिता

Read Time : > 1 मिनेट
२०७९ असार २२ बुधबार ०७:३५:००

महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा १५–१६ असारमा जनकपुरधामको उद्योग वाणिज्य संघ सभाहलमा प्रदेश युवा महोत्सव आयोजना भयो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेको महोत्सवमा उल्लेख्य युवाहरूको सहभागिता नभएपछि विद्यालयका बालबालिकालाई सहभागी गराइएको थियो ।

एक सय ३६ स्थानीय तहका युवाहरू सहभागी गराउने भन्दै मन्त्रालयले स्वीकृत गरेको १० लाखको बजेटमा युवालय नामक संस्थाले प्राविधिक र सहजीकरणमा सहयोग गरेको थियो । तर, युवाहरूको सहभागिता न्यून भएपछि कार्यक्रम विवादित हुन पुग्यो । मन्त्रालयका सचिव केशवप्रसाद विमलीले भने सातवटै प्रदेशमा यो नौलो कार्यक्रम भएको बताए । काठमाडौंको ‘युवालय’ नामक संस्थालाई कार्यक्रममा प्राविधिक र अन्य पक्षमा सहजीकरण गर्न दिएपछि विरोध भएको सचिव विमलीको भनाइ छ ।

खेलकुद मन्त्रालयले २५ लाख बजेट विनियोजन गरेर धनुषाको महेन्द्रनगरमा रामनारायण मिश्र प्रदेशस्तरीय फुटबल प्रतियोगिता–२०७९ आयोजना गरेको छ । जिल्ला खेलकुद संघ धनुषाले १८ असारबाट आयोजना गरेको प्रतियोगिता २२ असारमा सक्न दैनिक दुई खेल खेलाइएको छ ।  

मन्त्रालयको आयोजनामा सप्तरीको राजविराजमा महेन्द्रनारायण निधि मधेस प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता १४ असारबाट सुरु भएको छ । ३५ लाख बजेट छुट्याइएको प्रतियोगिता हतारमा सक्न १५–१५ ओभरमा छोट्याइएको थियो ।  मधेस प्रदेश सरकारलाई अहिले आर्थिक वर्षको अन्त्यमा बजेट सक्न हतारो देखिएको छ ।

खेलकुद मन्त्रालय पनि असारमा धमाधम तालिम, गोष्ठी, सेमिनार, खेलकुद आयोजनामा जुटेको हो । मन्त्रालयले यस समयमा कार्यक्रम गरेर तीनवटा कार्यक्रममा ७० लाख रुपैयाँ खर्च गर्दै छ । युवा सम्मेलनमा कुर्सीहरू खाली–खाली थिए भने खेलकुद वर्षाले प्रभावित बनाएको थियो ।    

युवा महोत्सवको नाउँमा मन्त्रालयले आफूखुसी संस्थासँग टेक्निकल सपोर्ट गरेर बजेट दुरुपयोग गरेको स्थानीय युवा चन्दन कर्णको आरोप रहेको छ । ‘मधेसमा युवाको क्षेत्रमा क्रियाशील र मधेस बुझेको संस्थालाई कार्यक्रममा सहजीकरण गर्न दिनुपथ्र्यो,’ कर्णले भने, ‘यो सब कमिसनको खेल हो । झन् मधेसका हटिया, संस्कृति बुझ्ने विज्ञ नै सहभागी गराएन ।’

मन्त्रीदेखि कर्मचारीहरूबीच आर्थिक लेनदेन र सेटिङ मिलाएर कार्यक्रम आयोजना गरिएको उनको आरोप छ । पूर्वक्रिकेटर मुरलीकान्त सिंहले पनि असारमा क्रिकेट, फुटबल खेल प्रतियोगिता गर्न भनेको रकम दुरुपयोग गर्नुभएको बताएका छन् । ‘असारमा वर्षाले पिच भिजेको हुन्छ । खेलमैदान हिलाम्मे हुन्छ,’ उनले भने, ‘हाम्रो देशमा यस्तो मौसममा खेल आयोजना गर्नु रकम खर्चिनुबाहेक केही होइन ।’

प्रदेशले असार दोस्रो सातापछि आयोजना गरेको खेलकुद प्रतियोगिता कमिसनका निम्ति बजेट सक्ने काम मात्रै भएको सिराहाका अगुवा नवीनकुमार यादवको भनाइ छ ।