१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २२ बुधबार
  • Sunday, 29 September, 2024
दीपक भट्ट रामेछाप
२o७९ असार २२ बुधबार o६:oo:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ब्रेक बिग्रिएको गाडी चलाउँदा दुर्घटना, १३ को मृत्यु

Read Time : > 2 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार o६:oo:oo

ब्रेक बिग्रिएको गाडी चलाउँदा दुर्घटना भएर रामेछापमा १३ जनाको मृत्यु भएको छ । काठमाडौं आउँदै गरेको बा.३ख ८३९६ नम्बरको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका– ५ र खाँडादेवी गाउँपालिका– १ स्थित सिमानामा मंगलबार बिहान ब्रेक फेल भएर दुर्घटना भएको हो । बस लुभुघाट सडकको मोडबाट करिब सय मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा परी घटनास्थलमै नौ र चारजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी बसमा सवार २४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत तथा बाँकी २१ जनालाई एम्बुलेन्स र जिपमा राखेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । चालक र सहचालक भने हामफालेर जोगिएका छन् ।

गाडी छुट्दादेखि नै ब्रेकमा समस्या देखिएको, गाडी गन्हाएको र हावा धेरै फालेको घाइतेहरूले बताएका छन् । धुलिखेल अस्पतालमा उपचाररत जानुका मगरका अनुसार दुर्घटनाको जोखिम देखेपछि केही यात्रु बेथानमा गाडी रोक्न लगाएर झरेको थिए । ‘ब्रेकमा समस्या छ भनेर यात्रुले सचेत गराउँदा पनि चालकले केही हुँदैन भन्दै कुदाए,’ उनले भनिन्, ‘बेथानमा आइपुग्दा धेरै नै यात्रु डराएर झरे । भ्वासामा पुग्दा त गाडी खालीजस्तो भएको थियो । केही समयपछि दुर्घटना नै भयो ।’

अर्की घाइते शोभा श्रेष्ठले पनि ब्रेक ठिक नभएको गाडी तिब्र गतिमा कुदाउँदा मोडमा दुर्घटना भएको बताइन् । ‘दुर्घटना हुनुभन्दा केहीसमय अघि पनि हामीले चालकलाई गाडी रोक्नु भनेका थियौं, तर चालकले मानेनन्,’ उनले भनिन्, ‘हामीले भनेको ठाउँमा रोकेको भए दुर्घटनाबाट जोगिने थियो ।’ 

दुर्घटनामा सुनापती गाउँपालिका– ५ रामेछापका ६० वर्षीय ठूलो तामाङ, सुनापती– ४ की २६ वर्षकी समिता तामाङ, सुनापती– ५ का ६५ वर्षीय खटबहादुर विक, सुनापती– ५ कै २२ वर्षीया विपना तामाङ र सुनापती– ५ कै ३५ वर्षीया सञ्जु आलेमगरको मृत्यु भएको छ । त्यस्तै, रोसी गाउँपालिका– ४ काभ्रेका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका– ८ काभ्रेका १८ वर्षीय सुदीप गजमेर, मन्डनदेउपुर– ९ काभ्रेका ६० वर्षीया सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका– ५ काभ्रेका ४० वर्षीय कुलबहादुर विकको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्याय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए । उनका अनुसार सुनापति– ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ र नेमा तामाङ तथा सुनापतिकै बुद्ध तामाङको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ । त्यहाँ उपचाररत एकको मंगलबार रातिसम्म सनाखत हुन सकेको छैन ।

बस दुर्घटनालगत्तै उद्धारका लागि रामेछापका प्रमुख जिल्ला अधिकारी दीपकराज पहाडी नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङ, सशस्त्र प्रहरी मन्थली आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक केशवराज प्याकुरेललगायतको टोली घटनास्थल पुगेको थियो । 

रामेछापका आठवटै स्थानीय तहमा जोडिएका अधिकांश कच्ची र साँघुरा सडकका कारण बर्सेनि सवारी दुर्घटना हुँदा यात्रुले अकालमा ज्यान गुमाउनुपरेको छ । स्थानीय, प्रदेश र संघीय सरकारले सडक निर्माण र मर्मतको नाममा करोडौँ रुपैयाँ बर्सेनि खर्च गरे पनि सडकको गुणस्तरमा सुधार भने अहिलेसम्म हुन सकेको छैन ।

धुलिखेल अस्पतालमा उपचाररत घाइते जानुका मगरको बयान– गाडी छुट्दादेखि नै ब्रेकमा समस्या थियो, केही यात्रु त डरले बीचमै झरेका थिए
हिलेदेवीबाट गाडी छुटेलगत्तै ब्रेकमा समस्या देखिएको थियो । ब्रेक लगाउँदा गाडी गन्हाएको थियो । हामी यात्रुले गाडीमा समस्या भएको भनेर चालकलाई सचेत गराउँदा उनले ‘केही हुँदैन’ भनेर ल्याए । अगाडि बढ्दै गर्दा गाडीले हावा पनि बढी नै फाल्न थालेको थियो । दुर्घटनाको जोखिम देखेपछि केही यात्रु बेथानमा गाडी रोक्न लगाएर झरे । म भने जसरी पनि काठमाडौं पुग्नैपर्ने बाध्यतामा रहेको र अर्को सवारीसाधन पनि नभएका कारण डराएरै बसेँ । धेरै नै यात्रु डराएर झरेपछि बेथानको भ्वासामा पुग्दा त गाडी खालीजस्तो भएको थियो । तर, भ्वासामा अन्य धेरै यात्रु गाडी पर्खिरहेका थिए । अन्य विकल्प नभएपछि उनीहरू त्यही गाडीमा चढे । त्यहाँबाट गाडी छुटेको केहीछिनमै जलदेवी माध्यमिक विद्यालय पुग्दासम्म गाडीको ब्रेकमा समस्या झन् बढिसकेको थियो । गाडी रोक्न सबै यात्रुले चालकलाई एकस्वरमा पटक–पटक भनेका थिए । तर, चालकले अटेरी गरेर झन् तीव्र गतिमा चलाउँदा घुम्तीमा पुगेपछि ब्रेक फेल भएर दुर्घटना भयो ।