मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १७ शुक्रबार ०६:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिअघि सेयर बजारमा देखियो चमक

सबै समूहका सूचकसँगै कारोबार रकम पनि बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १७ शुक्रबार ०६:१३:००

नेपाल राष्ट्र बैंकले विभिन्न निकायसँग बसेर मौद्रिक नीतिबारे छलफल गरिरहँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । बिहीबार नेप्से परिसूचक ७४ दशमलव ९३ अंकले बढेर दुई हजार ३७ दशमलव ६४ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको  कारोबारमापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ६३ अंकले बढेर तीन सय ९१ दशमलव ७८ बिन्दुमा पुगेको छ । 

बजार बढेसँगैै लगानीकर्ता उत्साहित बन्न पुगेका छन् । बुधबार मौद्रिक नीतिका विषयमा अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच लामो कुराकानी भएको थियो । लगानीकर्ताले उठाउँदै आएको माग सम्बोधन पनि अब आउने मौद्रिक नीतिसँग जोडिने अपेक्षामा यसपटकको मौद्रिक नीतिलाई सेयर लगानीकर्ताले चासोका साथ हेरिरहेका छन् । लगानीकर्ता आगामी मौद्रिक नीतिमार्फत आफ्नो मागलाई सम्बोधन गराउनका लागि विभिन्न राजनीतिक भेटघाट बढाउन थालेका छन् ।

बिहीबार बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक बढेका छन् । ट्रेडिङ समूहको सूचक सात दशमलव ३१ प्रतिशतले बढ्दा यी समूहका लगानीकर्ता यस दिन उल्लेख्य नाफामा देखिएका छन् । त्यसैगरी, विकास बैंक समूह र फाइनान्स समूहको सूचक ६ प्रतिशतभन्दा बढीले बढ्दा उत्पादनमूलक समूह र ‘अन्य’ समूहको सूचक ५ प्रतिशतभन्दा बढीले बढेको छ । अन्य सात समूहको सूचक ३ प्रतिशतदेखि ४ प्रतिशतभन्दा बढीले बढेको छ । यस दिन एक सय ९१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने पाँचवटा कम्पनीको सेयर मूल्य घटेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ इन्स्योरेन्स, अरुण काबेली पावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, न्यादी गु्रप पावर, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच करोड रुपैयाँदेखि नौ करोड ९५ लाख रुपौयाँसम्मको सेयर कारोबार भएको छ ।

यस दिन सातवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, न्यादी पावर, आँधी खोला लघुवित्त वित्तीय संस्था, सिवाइसी लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । बढेको बजारमा ग्लोबल आइएमई बैंकको ऋणपत्र, वरुण हाइड्रोपावर कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर २ प्रतिशतभन्दा बढीले घटेको छ ।

 पुँजी बजार सुझाव समिति र लगानीकर्ता संगठनबीच छलफल
अर्थ मन्त्रालयले गठन गरेको पुँजी बजार सुझाव समितिले बिहीबार विभिन्न लगानीकर्ता संगठनका प्रतिनिधिसंग छलफल गरेको छ । अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सुझाव समितिले बजारको विकासका लागि लगानीकर्ताबाट सुझाव संकलन गरेको हो । सुझाव समितिसँगको छलफलमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल सहभागी थिए । छलफल कार्यक्रममा लगानीकर्ता संगठनहरूले सुझाव समितिलाई विभिन्न १८ बुँदे मागहरू पेस गरेका । लगानीकर्तासँगको छलफलमा सहभागी राधा पोख्रेलले सुझाव समितिले लगानीकर्ताका मागहरू अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको समेत बताइन् । लगानीकर्ताले बुझाएको १८ बुँदे मागमा विशेष गरी सेयर सीमा कर्जा ४–१२ करोडको नीतिलाई तत्काल खारेज गर्नुपर्ने, ब्रोकर कमिसन घटाउनुपर्ने, लगानीकर्ताको वर्गीकरण गरी दीर्घकालका लागि ३ प्रतिशत र अल्पकालका लागि ५ प्रतिशत लाभकर कायम गर्नुपर्ने, केवाइसीलाई डिजिटलाइज गर्नुपर्नेलगायत मुख्य माग राखेका छन् ।