१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार १३ सोमबार ०९:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती प्रदेशको बजेटप्रति एमाले असन्तुष्ट

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार ०९:२९:००

एमालेले बागमती प्रदेश सरकारले ल्याएको बजेटप्रति पूर्ण असन्तुष्टि जनाएको छ । सन्तुलित नभएको र कार्यकर्ता पोस्ने किसिमले बजेट ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले असन्तुष्टि जनाएको हो । १ असारमा संसद्मा बागमती सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफलका लागि आइबार बोलाइएको संसद् बैठकमा एमालेले असन्तुष्टि जनाउँदै अवरोधसमेत गरेको थियो ।

एमालेको अवरोधका कारण सभामुख सानुकुमार श्रेष्ठले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । बागमती सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, बजेटले सबै जिल्लालाई नसमेटेको, चुनावकेन्द्रित बजेट ल्याएको र एउटै योजना बजेट पुस्तिकामा दोहोरिएको एमालेको आरोप छ । आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रदेश सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर प्रदेश सभा बैठक स्थगितको माग राखेका थिए ।

सभामुख श्रेष्ठले एमाले मुख्य सचेतक दीपक निरौलालाई बोल्ने समय उपलब्ध गराएका थिए । मुख्य सचेतक निरौलाले बजेटमा आफ्नो पार्टीको असन्तुष्टिको विषय संसद्मा जानकारी दिएका थिए ।आइतबार नै बसेको एमाले संसदीय दलको बैठकले सदन अवरोध गर्ने निर्णय गर्दै पूर्ण असहमति र असन्तुष्टि जनाएको दल नेता अष्टलक्ष्मी शाक्यले बताइन् । ‘हामीले बजेटप्रति असन्तुष्टि जनाएका छौँ,’ उनले भनिन्, ‘मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बजेट पुस्तिका फिर्ता गर्नेसमेत बैठकमा निर्णय भएको छ ।’ उनले जनताको पक्षमा भन्दा पनि चुनावकेन्द्रित र कार्यकर्ता पोस्ने बजेट ल्याएको आरोप लगाइन् । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका थिए ।

मन्त्री जमकट्टेलले प्रमुख प्रतिपक्ष एमालेले संसद् अवरुद्ध गर्नु र बजेटप्रति असन्तुष्टि जनाउनु स्वाभाविक रहेको बताए । ‘प्रतिपक्षले सरकारले अघि बढाएका योजनालाई अघि बढ्न नदिनु, बजेट पास गर्न सक्दो रोकावट गर्नु स्वाभाविक हो,’ उनले भने ।