हरेक वर्ष उपत्यकामा पनि डुबानको समस्या देखिने गरेको छ । डुबानकै कारण प्रत्येक वर्ष उपत्यकामा जनधनको क्षति बढ्दै गएको प्रहरी तथ्यांकले देखाउँछ । प्रहरी प्रधान कार्यालय विपत् व्यवस्थापन महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्र झन्डै दुई दर्जन स्थान डुबानबाट प्रभावित हुने गरेका छन् ।
गत वर्ष डुबानका कारण उपत्यकाका विभिन्न २३ वटा स्थानमा क्षति पुगेको विपत् व्यवस्थापन महाशाखाको विवरणले देखाएको छ । बाढी र डुबानका कारण गत वर्ष नौ सय २० घर डुबानमा परेका थिए भने एकजनाको मृत्यु, एउटा घरमा पूर्णतया क्षति र दुईवटा जग्गा डुबानमा परेको तथ्यांक छ ।
प्रहरीको विपत् व्यवस्थापन महाशाखाको विवरणअनुसार ०७७ मा डुबानबाट प्रभावित विभिन्न १८ स्थानमा घर डुबानमा परेका थिए । जसकारण ६५ परिवार विस्थापित हुनुका साथै एकजनाको मृत्यु भएको थियो । बाढी र डुबानबाट उपत्यकामा १५ वटा चौपायाको मृत्यु, दुईवटा घरमा पूर्णतया क्षति, एउटा पुलमा क्षति भएको प्रहरी तथ्यांकले देखाउँछ । ०७६ मा विभिन्न प्रभावित १३ स्थानमा तीन सय ३५ घर डुबानमा परेका थिए भने बाढीका कारण चारजनाको मृत्यु, एक घाइते र एकजना बेपत्ता भएका थिए ।
अव्यवस्थित सहरीकरणका कारण डुबान क्षेत्र बढ्दै
अधिकांश भूभाग कंक्रिटले ढाकिएकाले खोलामा पानीको बहाव उच्च हुन थालेसँगै नदी किनाराका बस्ती डुबानको जोखिममा पर्दै गएका छन् । अकासेपानी संकलन अथवा जमिनमुनि जाने प्रक्रिया बन्द भएपछि काठमाडौं उपत्यकामा ढल तथा खोलामा पानीको चाप बढ्ने र सोही कारण किनारका बस्तीमा डुबान पर्ने गरेको विज्ञहरू बताउँछन् ।
कंक्रिट संरचनाको बढ्दो चाप, ढलको व्यवस्थापन पर्याप्त नहुनु र मौसम परिवर्तनका कारण केही वर्षयता वर्षाको प्रकृतिमा आएको परिवर्तनले बाढी र डुबानको जोखिम प्रत्येक वर्ष बढ्दै गएको सहरी विकाससम्बन्धी जानकार किशोर थापा बताउँछन् । ‘वर्षाको पानी सोस्ने खाली जमिन नहुँदा सबै पानी बगेर खोलामा जान्छ । खोलावरपरसमेत मापदण्ड मिचेर संरचना बनेका छन्, छोटो समयमै अत्यधिक वर्षा भइरहेकाले वरपरका बस्तीमा डुबान निम्त्याउनु स्वाभाविक हो । सहरी क्षेत्रमा अकासेपानी व्यवस्थापनमा चासो नदिनुको परिणाम वर्षामा डुबानका रूपमा देखिएको हो,’ उनले भने ।
संयुक्त राष्ट्रसंघको एक अध्ययनअनुसार विश्वका उच्च १० सहरीकरण वृद्धि भएका क्षेत्रमा नेपाल पनि पर्छ । ००७ को दशकताका भवन, सडक तथा अन्य पूर्वाधारले एक प्रतिशतजति मात्रै क्षेत्रफल मात्रै ओगटेको थियो, जुन ०७९ सम्म आइपुग्दा बढेर २५ प्रतिशत पुगेको छ । सहरी पूर्वाधारविद् थापाका अनुसार पानीको सहज बहावलाई चाहिने न्यूनतम चौडाइ अवरुद्ध हुने गरी बाटो बनाउने, पर्खाल लगाउने काम उत्तिकै दु्रत गतिमा छ । यी सबै कारणको एकमुस्ट असरका रूपमा सामान्य वर्षामा समेत डुबानको ठूलो प्रभाव देखिन थालेको छ ।
जोखिम क्षेत्रका बासिन्दा चिन्तित
यस वर्ष अत्यधिक वर्षा हुने मौसम पूर्वानुमानको सूचना जारी भएसँगै वंशीघाट त्रिपुरेश्वरका भरत नेपाल फेरि डुबानको चपेटामा परिने डरले त्रसित छन् । ३३ वर्षदेखि बागमती किनारमा बसोवास गर्दै आएका उनको परिवारमा वर्षासँगै डर बोकेर आउने गर्छ । मनसुन सुरु भएयता ठूलो पानी परेको दिन निद्रा पर्दैन उनलाई ।
दुई वर्षयता वर्षामा घरको पहिलो तला पूरै डुब्न थालेकाले उनी यसपालिको मनसुनमा झन् डराएका छन् । ‘पहिले पानी पर्दा डुबानको डर हुँदैनथ्यो । किनारका बस्तीमा खोलाले भन्दा अव्यवस्थित ढलले बढी डुबानमा पार्ने गरेको छ,’ उनले भने ।
वर्षामा बागमतीमा आएको बाढीले किनारका बस्तीमा असर पार्ने भए पनि ढल र विभिन्न गल्ली हुँदै बगेको पानीसमेत खोला किनारका बस्तीमा गएर जम्मा हुने हुँदा प्रत्येक वर्ष डुबानको जोखिम बढ्दै गएको छ । वंशीघाटकै ६२ वर्षीय विनोद रायमाझी भन्छन्, ‘बागमतीको पानी माथिसम्म आउँदैन, तर टेकु एरियाको ढलले समस्या पारेको छ । यसबारे काठमाडौं महानगर बेखबर छ । पानी पर्दा ढलले धान्न नसकेको पानी बस्तीमा पर्छ, तर यसबारे कसैको चासो छैन ।’
वंशीघाटमा मात्रै नभई वर्षाको समयमा बागमती किनारका अधिकांश क्षेत्रमा डुबान बढ्न थालेको छ । गत मंगलबार कक्षाकोठा र खेल्ने मैदानमा बाढी पसेपछि भक्तपुर नगरपालिका– ४ राममन्दिर भोलाछेंस्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा पठनपाठन नै प्रभावित भएको थियो ।
दिउँसो विद्यार्थी सडकछेउमा खेलिरहेका थिए । कक्षाकोठा डुबानमा पर्दा अतिरिक्त कक्षा सञ्चालनका लागि ठाउँ उपलब्ध नभएपछि विद्यार्थीहरू फुर्सदिला देखिन्थे । यहाँ वर्षा सुरु भएसँगै हनुमन्ते खोलामा आएको बाढीको असर देखिन थाल्छ ।
हरेक वर्ष विद्यालय डुबानमा परेपछि पुस्तकालय, स्टाफ कक्ष वा एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यताका बीच शिक्षक र विद्यार्थीले हैरानी भोग्दै आएका छन् । ‘असार सुरु नहुँदै तीनपटकसम्म विद्यालय डुबानमा परिसक्यो, जसले गर्दा १० वटा कक्षाकोठा प्रभावित भए । अहिले बिहान र बेलुकाको सिफ्ट मिलाएर कक्षा चलाउनुपरिरहेको छ । यसबारे नगरपालिकाले अहिलेसम्म चासो देखाएको छैन,’ विद्यालयका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले भने ।
बाढीले यहाँ अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थी प्रभावित हुन्छन् । ‘विज्ञान र कम्प्युटर प्रयोगशाला, प्रशासनलगायत कक्षामा पढाउनुपर्ने बाध्यता छ । अत्यधिक वर्षा भएको दिन साना कक्षालाई बिदा दिनुपर्ने अवस्था आएको छ,’ कर्माचार्यले भने । हनुमन्ते खोलामा बाढीका कारण माटो थुपिँ्रदै गएकाले सानो बाढी आउँदासमेत वरपरका बस्ती डुबान हुने गरेका छन् ।
शान्ति निकेतनसँगै शारदा आधारभूत विद्यालय, राममन्दिर र वरपरका घरमा बाढीले ल्याएको लेदो भरिएपछि जनजीवन प्रभावित भएको छ । स्थानीय बासिन्दाका अनुसार ढल मिसिएको लेदो थुप्रिएका कारण जति सफा गरे पनि दुर्गन्ध फैलिइरहेकाले बस्न समस्या भइरहेको छ । प्रत्येक वर्ष खोलावरपरको खेत, सांस्कृतिक संरचना, विद्यालय र बस्ती प्रभावित भइरहे पनि खोला व्यवस्थापनमा नगरपालिकाले चासो देखाएको छैन ।