नवलपरासी पश्चिममा पनि मिटरब्याजीको आतंक
खेतबारी मिटरब्याजीले हडपिसके । तर, नवलपरासी पश्चिमको सुस्ता–५, रत्नगन्जका ६३ वर्षीय रामशुभक मुसहरलाई अझै मिटरब्याजी साहुले छाडेका छैनन् । छोरालाई वैदेशिक रोजगारीमा मलेसिया पठाउन उनले जगदीश बनियाँ (गुप्ता)सँग डेढ लाख रुपैयाँ ऋण लिएका थिए । ‘श्रीमतीको नाममा रहेको तीन कट्ठा घडेरी राखेर ऋण लिएको थिएँ, तर अहिलेसम्म १२ लाख बुझाउँदा पनि साहुको लिस्टमा मैले अझै आठ लाख तिर्नुपर्ने बाँकी छ ।’
डेढ लाख ऋण लिएको १२ लाख बुझाइसकेँ, अझै आठ लाख बाँकी छ भन्छन् : रामशुभक मुसहर, पीडित
तीन कट्ठा जग्गा राखेर जगदीश बनियाँसँग डेढ लाख ऋण लिएँ । उनले पैसा माग्दै गए, मैले बुझाउँदै गएँ । श्रीमतीको नाममा भएको जग्गा पनि बेचेर पैसा दिएँ, अझै चुक्ता भएको छैन भन्छन् । १२ लाख बुझाइसकेँ, अझै आठ लाख बाँकी छ भन्छन् । सरकारले केही गर्ला कि भनेर काठमाडौं आएका हौँ ।
मिटरब्याजीको फन्दामा परेका उनी आठ दिनदेखि काठमाडौंको माइतीघरमा छन् । ‘गाउँको सिंहदरबारले नसुनेपछि उनी काठमाडौंको सिंहदरबारसामु’ आइपुगेका हुन् । तर, सिंहदरबारले अझै सुनेको छैन । उनका तीन छोरा मलेसिया र एकजना कतार गएर फर्किसकेका छन् । ‘जगदीशले पैसा माग्दै गए, मैले बुझाउँदै गएँ । तर, अझै चुक्ता भएको छैन भन्छन् । श्रीमतीको नाममा भएको जग्गा पनि बेचेर पैसा दिएँ, अझै चुक्ता भएको छैन भन्छन्,’ मुसहरले निन्याउरो अनुहार लगाउँदै भने, ‘सरकारले केही गर्ला कि भनेर काठमाडौं आएका हौँ ।’ सुनील बनियाँ, जगदीश बनियाँ, सुजित बनियाँ र सुरेश बनियाँले सुस्ता र प्रतापपुरका स्थानीय मुसहर, चमार परिवारलाई ऋणका नाममा मिटर ब्याजमा फसाएपछि उनीहरू माइतीघर पुगेका हुन् ।
प्रतापपुरकी किशोरीदेवी चमारले छोरालाई मलेसिया पठाउन जगदीश बनियाँसँग एक लाख पाँच हजार रुपैयाँ ऋण लिएकी थिइन् । ‘एक लाख ऋण लिँदा दुई लाखको कागज बनाइएको रहेछ, अहिले थाहा पाएँ,’ उनले भनिन्, ‘पाँच लाख तिर्दा पनि अझै चुक्ता भएको छैन रे । अझै १० लाख मागिराछन् ।’ ऋण लिँदा १५ कट्ठा जग्गा दृष्टिबन्धक राखेको, तर अहिलेसम्म कागजात नभएको उनले गुनासो गरिन् ।
रत्नगन्जकै हृदयेश कुर्मी साहुसँग ऋण लिएर कतार पुगेका थिए । हृदयेशका भनाइमा उनका बुबाले कतार पठाउन जगदीश बनियाँसँग दुई लाख रुपैयाँ ऋण लिएका थिए, जसबापत पाँच कट्ठा जग्गा दृष्टिबन्धक राखियो । तर, चार लाखको कागजात बनाइयो । यो ०७५/७६ को घटना हो । ‘१२ कट्ठा खेत बेचेर १६ लाख तिरिसके, अझै १० लाख तिर्न बाँकी छ भन्छन्,’ हृदयेशले भने, ‘अब न्याय खोज्न कहाँ जाऊँ ?’ आफूहरूले जगदीशसँग ऋण लिएको भए पनि सुनीलसँग बनाइएको उनले दाबी गरे ।
सुस्ता र प्रतापपुरका ४० परिवार मिटर ब्याजमा फसेका छन् । तीमध्ये २३ जना माइतीघर धर्नामा छन् । उनीहरूले रामसुरत गुप्ताको अध्यक्षतामा मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति पनि बनाएका छन् । उनले साहुसँग सात लाख ऋण लिएका थिए । ‘१४ लाख बुझाइसकेँ, तर साहुले अझै ३२ लाख बाँकी छ भनेर भन्दा म अचम्ममा परेँ,’ उनले भने ।
मिटर ब्याज पीडितहरूले प्रहरी, मानवअधिकार आयोग र सम्पत्ति शुद्धीकरण विभागमा निवेदन दिएका छन् । गुप्ताका अनुसार ८ मंसिर ०७८ मा लुम्बिनीस्थित मानवअधिकार आयोगको प्रदेश कार्यालयमा निवेदन दिइएको छ । त्यसअघि १८ असोज ०७८ मा प्रहरी र जिल्ला प्रशासनमा निवेदन पनि दिएका थिए । काठमाडौं आएर सम्पत्ति शुद्धीकरण विभागमा निवेदन पनि दिइएको छ ।
पीडितलाई न्याय दिलाउन प्रशासनसँग समन्वय गर्छु : उमेशचन्द्र यादव, अध्यक्ष, प्रतापपुर गाउँपालिका
उहाँहरूमाथि अन्याय भएको छ । सोमबार काठमाडौंमा भेटेर फर्केको छु । उहाँहरूले यसबारे कुनै जानकारी त दिनुभएको थिएन ।
तर, मेरो पालिकाका जनता काठमाडौंमा धर्नामा बसेको थाहा पाएपछि पुगेको हुँ । यसबारे गृहमन्त्रीसँग पनि भेट्न खोजेको थिएँ ।
तर, समय नपाएपछि निजी सचिवालयमा टिपोट गराएर फर्किएको छु । मिटर ब्याजमा पर्नुभएको भन्ने त दुईमत भएन । तर, कसरी प्रमाण जुटाउने भन्ने कुरा हो ।
यसका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्नेछु । दुवै पक्षलाई प्रशासनमा राखेर छलफल गर्न सकिन्छ ।