१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिनेछ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:२१:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका छन् । धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको शनिबार उद्घाटन गर्दै उनले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आवश्यक कानुन छिटै ल्याइने आश्वासन दिए ।

‘गेटामा प्रतिष्ठान बनाउने विश्वास दिलाउन चाहन्छु । क्याबिनेटबाट निर्णय गरेर छिटै विधेयक ल्याउँछौँ,’ उनले भने । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले भौतिक संरचना तयार भइसकेको गेटामा प्रतिष्ठान वा मेडिकल कलेज के सञ्चालन गर्ने भन्नेबारे छिटो निर्णय गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । 

त्रिलोचन भट्ट, मुख्यमन्त्री सुदूरपश्चिम प्रदेश
पहाडी जिल्लामा विकास गर्न नसक्ने हो भने बसाइँसराइले कैलाली, कञ्चनपुर कंक्रिटको सहर बन्छ

गेटामा मेडिकल कलेजका लागि भनेर भवन निर्माण भएका छन् । अन्य संरचना पनि सम्पन्न हुने चरणमा छन्, तर सञ्चालनबारे अन्योल छ । मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय कुन मोडालिटीमा सञ्चालन गर्ने भन्नेबारे सरकारले टुंगो लगाउन सकेको छैन । प्रतिष्ठान वा विश्वविद्यालय सञ्चालन गर्न माग गर्दै यहाँका स्थानीयले सरकारलाई दबाब दिँदै आएका छन् ।

प्रधानमन्त्री देउवाले तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने धारणा राखे । उनले सार्वजनिक क्षेत्र अतिक्रमण रोक्न सके मात्र धनगढीलाई सुन्दर सहरको रूपमा विकास गर्न सकिने भन्दै यहाँका जनप्रतिनिधिलाई अतिक्रमण नियन्त्रणमा ध्यान दिन निर्देशन दिए ।

मुख्यमन्त्री भट्टले नागरिकको समेत लगानीमा पश्चिम सेती जलविद्युत् आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । उनले तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई पहाडसँग जोड्ने महाकाली करिडोर, सेती लोकमार्ग र खुटिया–दीपायल दु्रत मार्ग निर्माणलाई तीव्रता दिन प्रधानमन्त्रीसँग आग्रह गरे । ‘पहाडी जिल्लामा विकास गर्न नसक्ने हो भने बसाइँसराइले कैलाली, कञ्चनपुर कंक्रिटको सहर बन्छ,’ मुख्यमन्त्री भट्टले भने, ‘बसाइँसराइ रोक्नका लागि तराई जोड्ने यी तीनवटा सडक चाँडो बन्नुपर्छ ।’

धनगढी उपमहानगरपालिकाका मेयर हमालले गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । राणाकालदेखि कैलाली प्रशासनमातहत रहेको त्रिनगर नाका गत वर्षबाट कञ्चनपुर प्रशासनमातहत लैजाँदा नागरिकले समस्या भोग्नुपरिरहेकाले नाकाको सुरक्षा व्यवस्थापनको जिम्मा कैलालीलाई दिन उनले माग गरे ।

 

ad
ad