Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १ बुधबार ०७:१४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘खेताला कैदी’को आत्महत्या प्रकरणबारे छानबिन समितिको प्रतिवेदन : कारागार प्रशासनको लापरबाही र त्रुटि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १ बुधबार ०७:१४:००

रोल्पा कारागारमा कैदी सुन्दर हरिजनको आत्महत्याबारे छानबिन गर्न गठित समितिले कारागार प्रशासनको लापरबाही र त्रुटि औँल्याएको छ । समितिले दुई साता लगाएर तयार गरेको प्रतिवेदन मंगलबार संयोजक सूर्य सेढाईंले गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएका छन् ।

कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कारागार ऐन र नियमावली, पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटि गरेको र कर्तव्य पालनामा उदासीनता देखाएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानका क्रममा यो प्रकरणका प्रमुख व्यक्ति रहेका विजयविक्रम शाहलाई भेट्न छानबिन समिति भारत नै पुगेको थियो ।

शाहको नाममा हरिजन ‘खेताला कैदी’ बनेर जेल भुक्तान गरिरहेका थिए । शाह अहिले भारत उत्तर प्रदेशको बारबंकी जिल्लामा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका छन् । अनुसन्धानका क्रममा भारत सरकारसँग अनौपचारिक समन्वय गरी छानबिन समितिले शाहसँग पनि भेटेर जानकारी लिएको प्रतिवेदनमा उल्लेख गरेको छ । 

चोरी मुद्दामा कारागारमा रहेका हरिजन जेलबाट छुट्नु दुई महिनाभन्दा कम समय बाँकी छँदा ८ मंसिर ०७७ मा बाँके कारागारबाट रोल्पा कारागारमा स्थानान्तरण गरिएका थिए । रोल्पामा ‘सिंह’ छद्म नाममा जेल भुक्तान गरिरहेका उनी गत ४ जेठमा कारागारमा झुन्डिएको अवस्थामा भेटिएका थिए । 

आत्महत्यापछि उनी सिंहको छद्म परिचयमा जेल भुक्तान गरेको विषय सार्वजनिक भएपछि कारागार विभागले यस सम्बन्धमा छानबिन गर्न निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा ६ जेठमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले १६ जेठमा विभागलाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदनले घटनाको चुरो पहिल्याउन नसकी सामान्य सुझाव मात्र बुझाएको थियो ।

लगत्तै घटनाबारे छानबिन गर्न सहसचिव सेढाईंको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट १७ जेठमा पाँच सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए । 

गृहमन्त्री खाणले हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कार्यान्वयनमा लैजाने बताएका छन् । प्रतिवेदनले दोषी औँल्याएकालाई कानुनअनुसार कारबाहीको प्रक्रिया सुरु गर्ने उनको प्रतिबद्धता छ ।