धानखेतीको समयमा रासायनिक मल नपाउँदा सिराहाका किसान मर्कामा परेका छन्। नेपालमा मल अभाव छ भने छिमेकी मुलुक भारतबाट ल्याउन त्यहाँका सुरक्षाकर्मीले अवरोध गर्ने गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडले आपूर्ति गर्न नसकेपछि सिराहाका दक्षिणी सीमावर्ती गाउँका किसानले सीमावर्ती बजारबाट समेत मल ल्याउन नपाउँदा अप्ठ्यारोमा परेको गुनासो गरेका छन्।
जिल्लाको औरही गाउँपालिका– १ हरट्टी दरहैयाका वडा सदस्यसमेत रहेका ४२ वर्षीय किसान रामकुमार यादवले भारतीय सुरक्षाकर्मीले पनि मल ल्याउन नदिँदा आफूजस्ता किसान समस्यामा परेको बताए। ‘भारतीय बजारबाट सुरक्षाकर्मीको आँखा छलेर १५ देखि २५ किलोसम्म युरिया डिएपी मल ल्याएर जसोतसो खेती गरिन्थ्यो,’ उनले भने, ‘यसपटक आफ्नै देशका किसानलाई नै मल नपुगेको भन्दै भारतीय सुरक्षाकर्मीले ल्याउन दिएका छैनन्। लुकिछिपी ल्याएको मल समातिए कुटपिट हुने र मलसमेत जफत हुने जोखिम भएकाले किसान पारि जानै डराउँछन्।’
सिराहा नगरपालिका– २ छोट्की टोलका ५२ वर्षीय किसान राधेश्याम यादवका अनुसार यसअघि गाउँदेखि करिब १० किलोमिटरको दूरीमा रहेको सीमावर्ती भारतीय बजार जयनगरबाट स–सानो बोरामा पोको पारेर मल ल्याएर खेती गरिन्थ्यो। यादवले भने, ‘यसपटक भारतीय सुरक्षाकर्मीले ल्याउन कडाइ गरेपछि ल्याउन पाएका छैनौँ ।’ त्यस्तै, नरहा गाउँपालिका– १ देवीपुर तिलासीका ५४ वर्षीय रामखेलावन यादवले बर्सेनि चार बिघामा गर्ने धानखेती यो वर्ष मल अभावमा एक बिघामा पनि धान लगाउन पाएका छैनन्। ‘बर्सेनि करिब चार बिघामा धान खेती गरिन्थ्यो। यसपटक मल नहुँदा एक बिघामा पनि लगाउन पाइएलाजस्तो छैन।’
साल्ट ट्रेडिङ र कृषि कम्पनीको डिपो रित्तै
सरकारले आयात गर्न नसक्दा मल बिक्री गर्ने साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडजस्ता संस्थाको डिपो रित्तो भएपछि किसानले खेती गर्नै नसक्ने अवस्था रहेको सुखीपुर नगरपालिका– २ छजनाका किसान वीरेन्द्र भण्डारीले गुनासो गरे। ‘कृषिप्रधान मुलुकका किसानले खेतीपातीकै वेला चरम मल अभाव खेप्नुपरेपछि कसरी खेती गर्ने ?’ उनले प्रश्न गरे। स्थानीय मिलिजुली कृषि सहकारी संस्थाका सञ्चालकसमेत रहेका भण्डारीले भने, ‘स्थानीय तहमा मल बिक्रीको डिलर लिएका कृषि सहकारीका सञ्चालकले नै बदमासी गरेर मल नआएको भन्दै किसान घेराउ गर्न आउँछन्। साह्रै अप्ठ्यारोमा छौँ।’
सिराहाको भगवानपुरस्थित लक्ष्मीनारायण कृषि सहकारी संस्थाका व्यवस्थापक रामनारायण साहले भने, ‘किसानले बढी प्रयोग गरिरहेका डिएपी, युरिया र पोटास हरेक वर्ष धान खेती गर्ने वेलामा अभाव हुँदै आएको छ। किसानको समस्या हेर्नुबाहेक केही गर्न सक्ने अवस्थामा छैनौँ।’
नेपालमा बर्खे र हिउँदे बालीका लागि अढाई लाख मेट्रिक टन युरिया, एक लाख ५० हजार ३३ मेट्रिक टन डिएपी र एक लाख मेट्रिक टन पोटास गरी पाँच लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने साल्ट ट्रेडिङका सल्लाहकार भगवान कोइराला बताउँछन्। साल्ट ट्रेडिङले २५ हजार मेट्रिक टन युरियाको रकम भुक्तानी गरिसक्दा पनि इन्डियन पोटास लिमिटेडले उपलब्ध गराउन नसकेको उल्लेख गर्दै कोइरालाले भने, ‘मल उत्पादनका लागि चाहिने प्राकृतिक ग्यास उत्पादकहरूले उत्पादन कटौती गरेका छन्। मागअनुसार उत्पादन नभएपछि भारतमै मल नपुगेकाले नेपालले मल पाएको छैन।’
जिल्लामा धान र गहुँखेतीका लागि वार्षिक चार लाख बोरा (२० हजार मेट्रिक टन) युरिया, दुई लाख ५० हजार बोरा (१२ हजार पाँच सय मेट्रिक टन) डिएपी चाहिने भए पनि मागअनुसार आपूर्ति नहुँदा खेतीपातीको समयमा प्रायः हरेक वर्ष मलको अभाव हुने गरेको साल्ट ट्रेडिङका लहान प्रमुख जितेन्द्रकुमार साहले बताए।