Skip This
कम्युनिस्ट पार्टीहरूलाई एकै ठाउँमा हुन नदिन पाँचदलीय गठबन्धन : उपसभापति खड्का
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १२:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कम्युनिस्ट पार्टीहरूलाई एकै ठाउँमा हुन नदिन पाँचदलीय गठबन्धन : उपसभापति खड्का

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:२८:oo

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कम्युनिस्ट पार्टीहरूलाई एकै ठाउँमा हुन नदिन पाँचदलीय गठबन्धन गरिएको बताएका छन्। कांग्रेस बाग्लुङले आइतबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले प्रतिगमनविरुद्ध र कम्युनिस्ट पार्टीलाई एकै ठाउँमा हुन नदिन अहिलेको गठबन्धन गरिएको बताएका हुन्।

कम्युनिस्ट पार्टीसँग सहकार्य नगरे उनीहरू एक हुँदा एमाले हाबी हुने र संविधान नै धरापमा पर्ने भएकाले माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग सहकार्य गरिएको उनले बताए। कम्युनिस्टहरूबीच द्वन्द्व बढ्दा कांग्रेसलाई नै फाइदा पुग्ने बताउँदै उनले स्थानीय तह निर्वाचनको परिणामबारे उल्लेख गरे।

‘कम्युनिस्ट मिले भने कांग्रेसलाई सकाउने खेल खेल्छन्। उनीहरूबीच द्वन्द्व बनायौँ भने कांग्रेसलाई नै फाइदा हुन्छ। हेर्नुस् त स्थानीय तहको निर्वाचनले नै देखायो नि,’ खड्काले भने, ‘भर्खर सम्पन्न निर्वाचनमा गठबन्धन गर्‍याैँ, हामीलाई नै फाइदा भयो। कहिल्यै नजित्ने वडा र पालिकामा पनि अहिले कांग्रेसका जनप्रतिनिधि छन्। यो फाइदा त कांग्रेसले लियो नि हाेइन ? गठबन्धनको मर्म सबै नेता–कार्यकर्ताले बुझनुपर्छ।’ गठबन्धन गरेकै कारण कांग्रेस अहिले ०४९ सालपछि पहिलोपटक स्थानीय तहमा पहिलो भएको खड्काले बताए।

उनले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले शान्ति प्रक्रिया खलबल्याउने, संविधान ध्वस्त पार्ने, प्रतिगमन निम्त्याउने गतिविधि गरेका कारण पनि पाँचदलीय गठबन्धन गर्न सघाउ पुगेको जिकिर गरे।

पूर्वगृहमन्त्रीसमेत रहेका खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलगायतका दलहरूसँग गठबन्धन कायम रहने दाबी गर्दै पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाले वाचा गरेको संविधान संशाेधनको प्रस्तावलाई बहुमतले परित गरिने बताए।

‘गठबन्धनको बाध्यता लोकतन्त्रविरोधी अहंताको प्रवृत्ति अन्त्यका लागि हो। हिजो कांग्रेसलगायत केही दलले संविधान संशाेधनको प्रस्ताव ल्याएका थिए। नेकपा एमालेले यसलाई दिएन,’ खड्काले भने, ‘पूर्वप्रधानमन्त्री स्व. सुशील काेइरालाले देखेको सपना आमनेपाली जनताको सपना हो। त्यो पूरा गर्नका निम्ति पनि गठबन्धनलाई कायम गरी बहुमतमा संविधान संशाेधन गरी कांग्रेसले जिम्मेवारी पूरा गर्नुपर्नेछ। संशाेधनका माध्यमबाट सवैको साझा संविधान निर्माण हुनेछ।’ संविधानमा प्रत्यक्ष निर्वाचन प्रणाली नभएसम्म कुनै पनि दलको एकल बहुमत नआउने उनले जिकिर गरे।

स्थानीय तह निर्वाचनमा घातलाई पार्टीले कारबाही गरेको र आउँदा दिनमा पनि गर्ने बताउँदै खड्काले नेता–कार्यकर्तालाई विधि–विधान र अनुशासनमा बस्न आग्रह गरेका छन्।

ad
ad