१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २७ शुक्रबार
  • Saturday, 28 September, 2024
सौरभ यादव राजविराज
२o७९ जेठ २७ शुक्रबार o६:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मिटरब्याजी रामदेव तेली फरार, छोरा नन्दकिशोर धरान बजारबाट पक्राउ

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ जेठ २७ शुक्रबार o६:५८:oo

सप्तरीका विपन्न नागरिकको उठीवास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेली फरार भएका छन् । उनका छोरा नन्दकिशोरलाई भने बिहीबार पक्राउ गरिएको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए । पीडितहरूले तीन महिनाअघि नै उजुरी दिए पनि प्रहरीले बेवास्ता गर्दै आएको थियो ।

बिहीबारको नयाँ पत्रिकामा रामदेवको ज्यादतीबारे समाचार प्रकाशित भएपछि प्रहरीले उनको खोजीमा तदारुकता देखाएको छ । ‘सप्तरी प्रहरीको एक टोली रामदेवसहितका आरोपीलाई खोज्दै बिहीबार उनको धरानस्थित घर पुगेको थियो । घरमा कोही भेटिएनन् । बजार क्षेत्रबाट उनका छोरा नन्दकिशोर पक्राउ परेका छन्,’ एसपी काफ्लेले भने, ‘रामदेवसहित अन्य फरारको पनि खोजी गरिरहेका छौँ ।’

पीडितहरूले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध तीन महिनाअघि नै इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएका थिए । 

संसदमा साहुकारमाथि कारबाही गर्न माग
सांसदहरूले मधेसमा मिटरब्याजमा ऋण दिएर विपन्न परिवारको उठीवास लगाउने साहुकारमाथि कारबाहीको माग गरेका छन् । बिहीबारको संसद् बैठकको शून्य समयमा बोल्दै सांसद तेजुलाल चौधरीले सप्तरी र सिराहामा साहुकारहरूको ऋणले किसानहरूको उठीवास हुने कारुणिक अवस्था देखिएको भन्दै मिटरब्याजीको पहिचान गरी कारबाही गर्न माग गरे । 

पीडितको जाहेरी दर्ता गर्न उच्च अदालतको परमादेश
उच्च अदालत जनकपुरको राजविराज इजलासले जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पीडित (दिलादेवी)को जाहेरी दर्ता गर्न गत २० जेठमा परामादेश दिएको छ । तर, प्रहरीले भने अहिलेसम्म त्यसबारे जानकारी नभएको जनाएको छ । न्यायाधीशद्वय नातिबाबु लामिछाने र मदन पोख्रेलको संयुक्त इजलासले ‘निवेदक (पीडित)लाई झिकाई निजले दिएको जाहेरी सनाखत गराई निकासा दिनू’ भनेर प्रहरीका नाममा परमादेश गरेको थियो । सप्तरीका एसपी अविनारायण काफ्लेले परमादेशबारे जानकारी आइनसकेको बताए । ‘अहिलेसम्म त्यस विषयमा कुनै जानकारी आएको छैन, आयो भने हामी कानुनबमोजिम अगाडि बढ्छौँ,’ उनले भने ।