काठमाडौंको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ। सुकेधाराबाट कपन जाने बाटोमा पर्ने धोबीखोलामा पानीमा तैरिएको अवस्थामा पुरुषको शव आज बिहान फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले धोबीखोलामा डुबेको अवस्थामा अन्दाजी ४०–४५ वर्षीय पुरुषको शव फेला परेको जानकारी दिए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीलाई खबर गरेसँगै उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर र प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोली घटनास्थल पुगेर उक्त शवको मुचुल्का उठाई शवपरीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रवक्ता मैनालीले बताए। त्यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पहिचान नभएको प्रवक्ता मैनालीले बताए। रासस