मोरङको धनपालथान गाउँपालिका– ४ कर्सियाबजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी कसुरमा सार्वजनिक प्रतिनिधिसभा लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
एक महिनादेखि इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरेर बुझाएको अभियोग प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले सहकारीकाे रकम हिनामिना कसुरमा अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएपछि मोरङ अदालतले मंगलबार सांसदपत्नी तथा पूर्वसञ्चालक अञ्जला कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
मुद्दा दर्ता भएका २६ जनामध्ये वर्तमान सञ्चालक समिति सदस्य धनपालथान गाउँपालिका– ४ का ३७ वर्षीय रोशन राजवंशी मात्र पक्राउ परेका छन् । २१ कात्तिकमा आफूसहित १० जना वर्तमान समितिका सञ्चालकहरूलाई प्रहरीले पक्राउ पुर्जी लिएको थाहा पाएपछि उनी आफैँ प्रहरीमा हाजिर भएका थिए । अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाएको छ । बाँकी सबैलाई सरकारी वकिलको कार्यालयले फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सबैजना फरार छन् ।
अदालतका सूचना अधिकारी होमबहादुर बुढाथोकीका अनुसार पहिले प्रहरीले अनुसन्धानका लागि १० जनाविरुद्ध पक्राउ पुर्जी लिए पनि कसैलाई पक्राउ गर्न सकेको थिएन । तर, अदालतमा मुद्दा दर्ता भएपछि एकजनाको हकमा मात्र थुनछेक बहस भएर पुर्पक्षका लागि गएकाले बाँकी २५ जना सबै अभियुक्तलाई पक्राउ पुर्जी अदालतबाटै जारी भएको बताए । उनका अनुसार पक्राउ पुर्जी जारी भएको मितिदेखि सात दिनभित्र फरार प्रतिवादीहरूलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउनुपर्नेछ । तर, फेला पार्न नसकेमा अदालतले पुनः मिति जारी भएको ३५ दिनभित्रमा अभियुक्तको घरमा म्याद तामेल गर्नेछ ।
उमागौरी सहकारी ठगी कसुरमा इलाका प्रहरी कार्यालय रंगेलीको अनुसन्धान प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालय मोरङले २२ करोड ४८ हजारबराबरको बिगो कायम गरी सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा घ, ङ, च, छ, ज र त कसुरमा २६ जनालाई प्रतिवादी बनाएर २७ मंसिरमा मोरङ अदालतमा मुद्दा दर्ता गराएको थियो ।
सहकारी ऐनअनुसार ठगी कसुर ठहरिएमा सबै अभियुक्तहरूले बिगो र पीडितलाई क्षतिपूर्तिसहित ६ देखि आठ वर्ष कैद सजाय हुन सक्नेछ ।
उमागौरी कृषि सहकारीको ठगी प्रकरण सार्वजनिक भएपछि कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले २१ कात्तिकमा सांसद पोखरेलपत्नी अञ्जलाको नाम हटाएर वर्तमान कार्यसमितिका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित १० जना सबै सञ्चालकलाई पक्राउ गर्न प्रहरीमा प्रतिवेदन गरेको थियो । सोही प्रतिवेदनको आधारमा इप्रका रंगेलीले सहकारी अध्यक्ष शम्भु रौनियारसहित १० जनाविरुद्ध २१ कात्तिकमा अदालतबाट पक्राउ पुर्जी लिएको थियो । तर, पक्राउ पुर्जी जारी भए पनि एक महिनासम्म कसैलाई प्रहरीले पक्राउ गरेको थिएन ।
सहकारीको रकम हिनामिना कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्तहरू
प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गराएकाहरूमा सहकारीका वर्तमान अध्यक्ष धनपालथान– ४ घर भई विराटनगर– १० शान्तिचोक बस्दै आएका ४२ वर्षीय शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका– २ का ४७ वर्षीय लक्ष्मण साह, सचिव धनपालथान– ४ का ५१ वर्षीय आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान– ४ का ४० वर्षीय शम्भुप्रसाद सिंह तथा वर्तमान सञ्चालक समिति सदस्यहरू जहदा गाउँपालिका– ४ का ४० वर्षीय आमोद मण्डल, सदस्य धनपालथान–२ का ४५ वर्षीय जितमान ठाकुर, धनपालथान ४ का ३७ वर्षीय रोशन राजवंशी, धनपालथान– २ का जितमान ठाकुर छन् ।
यसैगरी वर्तमान लेखा समितिका संयोजक कटहरी गाउँपालिका– ६ का ४४ वर्षीय विजयकुमार यादव तथा सदस्यहरू धनपालथान– ३ का ४८ वर्षीय सुरेन्द्रकुमार राजवंशी र धनपालथान– २ का ४४ वर्षीय अशोककुमार विश्वास छन् । यसैगरी पूर्वसञ्चालक समिति सदस्यहरू विराटनगर महानगरपालिका– ११ की ४८ वर्षीया अञ्जला कोइराला, विराटगर– ८ की ४६ वर्षीया पूर्वउपाध्यक्ष दिलमाया राई, धनपालथान– ४ की पूर्वउपाध्यक्ष ५० वर्षीया उपासी राजवंशी, कटहरी गाउँपालिका– ४ नयाँ बजारका सहकारीका लेखापाल कर्मचारी ३४ वर्षीय सोनु यादव सोही ठाउँका पूर्वकर्मचारी ३८ वर्षीय मोहम्मद नजामुद्दिन, रंगेली नगरपालिका– २ बस्ने पूर्वकर्मचारी ३० वर्षीया चम्पा गिरी, सुनबर्सी नगरपालिका– ९ का पूर्वउपाध्यक्ष ४० वर्षीय शम्भुप्रसाद सिंह, रंगेली नगरपालिका– २ का पूर्वउपाध्यक्ष ४३ वर्षीय सन्तलाल खवास, धनपालथान– ६ की पूर्वसहसचिव ४१ वर्षीया लक्ष्मीदेवी कार्की राजवंशी, रंगेली नगरपालिका– २ का पूर्वसदस्य ४० वर्षीय ज्योति बाँस्कोटा, धनपालथान– ४ का पूर्वउपाध्यक्ष ४६ वर्षीय सुमन लोहनी र साबिक दर्बेसा गाविस– ९ का पूर्वसञ्चालक समिति सदस्य ६८ वर्षीय मित्रप्रसाद सिवाकोटी, धनपालथान– ४ का पूर्वसदस्य ३७ वर्षीय सरदराज सिंह, धनपालथान– ४ कै पूर्वसदस्य ४३ वर्षीय मोहम्मद नसरुद्दिन, रंगेली नगरपालिका– १ का पूर्वसदस्य ४३ वर्षीय मनोजकुमार सोनी र पूर्वसदस्य धनपालथान– ४ की ४० वर्षीया यशोदाकुमारी राजवंशी रहेका छन् ।
सांसदपत्नी कोइराला दुई कार्यकाल सञ्चालक समिति सदस्य थिइन्
०६८ सालमा स्थापना भएको उमागौरी कृषि सहकारी संस्थाको सांसदपत्नी कोइराला पूर्वसञ्चालक हुन् । सञ्चालक समिति सदस्य अञ्जला कोइरालाको श्रीमान् राजनीतिक रूपमा प्रतिष्ठित व्यक्ति रहेको कारण संस्थाको ख्याति बढाउनका लागि उनलाई अध्यक्ष शम्भु रौनियारले आफूखुसी सञ्चालक समितिमा राखेका थिए । अञ्जला ०७४/७५ देखि ०७८/७९ सम्म संस्थाको सञ्चालक समिति सदस्य थिइन् । उनले ५ माघ ०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर, उनको राजीनामा दुई वर्षपछि मात्र स्वीकृत भएको थियो । उनलाई रुपन्देहीको बुटवलस्थित आरसिडिसी लघुवित्त संस्थाले ३० करोड ऋण लिएर नबुझाएको आरोपमा अन्य सञ्चालकहरूसँगै कालोसूचीमा राखेको छ ।
अञ्जलाले आफूलाई निर्दोष बताउँदै उमागौरी सहकारी र लघुवित्तविरुद्ध परमादेश माग गर्दै उच्च अदालतमा रिट पनि दर्ता गराएकी थिइन् । उनको रिटउपर अझै अदालतमा मुद्दा विचाराधीन छ ।
विराटनगरको शनिहाट चौकस्थित महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी पत्नी अञ्जलालाई सांसद पोखरेलले नै आफ्ना कार्यकर्ताको सहकारीमा कार्यक्षेत्रविपरीत सञ्चालक समिति सदस्य बनाएका थिए । त्यसवेला उमागौरी सहकारीको कार्यक्षेत्र पाँच गाविस मात्र रहेको थियो ।
मोरङको धनपालथान– ४ कर्सियाबजारस्थित उमागौरी सहकारी संस्था लिमिटेड सर्वसाधारणले गरेको बचत तथा उनीहरूले पाएको महिला उद्यमी कार्यक्रमबापतको ऋण अपचलन गरेपछि डेढ वर्षदेखि बन्द रहेको छ । गत १४ कात्तिकमा अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले वडाध्यक्ष र सहकारी रजिस्ट्रारको कार्यालयका कर्मचारीको सहयोगमा कार्यालयको ताला फोडेर कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । बचत र महिला उद्यमी कार्यक्रमको ऋण हिनामिना गरेपछि अध्यक्ष शम्भु रौनियारले कोभिडको वहाना बनाउँदै सहकारीको कार्यालय बन्द गराएका हुन् ।
बचतकर्ता र ऋण लिएर किस्ता बुझाएका सदस्यहरूले रकम फिर्ता लिनका लागि तत्काल प्रहरीमा उजुरी गरेपछि अध्यक्ष रौनियार पक्राउ पनि परेका थिए । तर, उनले दाजुमार्फत ‘ब्याक डेटको’ चेक दिएर बचतकर्ताहरूलाई थामथुम पारी मिलापत्र गरेर थुनामुक्त भएका थिए । उमागौरी सहकारीलाई हाल मोरङ क्षेत्र नम्बर २ का संघीय सांसद तथा तत्काल संविधानसभा सदस्य तथा एमाले मोरङका निवर्तमान अध्यक्ष ऋषि पोखरेलले संरक्षण गर्ने गरेका थिए ।
उमागौरी सहकारीले सांसद ऋषिकेश पोखरेलकै संरक्षणमा महिला उद्यमी कार्यक्रमको तामझामसहित राष्ट्र बैंकका निर्देशकलाई ल्याएर उद्घाटन गरेको थियो । त्यसपछि उमागौरीले महिलाहरूलाई उद्यम गर्न १० लाख रुपैयाँसम्म ऋण दिने भन्दै लोभ्याएर सेयर सदस्य बनाई नबिल बैंक शाखा विराटनगरबाट १० लाख रुपैयाँसम्म सहकारी आफैँले सदस्यको नाममा ऋण निकालेर केही रकम मात्र सर्वसाधारणलाई दिने गरेको थियो । पछि सहकारी बन्द भएपछि बैंकको किस्ता नतिरेको भन्दै नबिल बैंक विराटनगरले बचतकर्ताहरूलाई ताकेता गरेपछि मात्र उनीहरूले आफूहरू ठगिएको थाहा पाएका थिए ।