नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अहिले सरकारको नेतृत्व गरेको नेकपा एमाले कांग्रेसको प्रतिस्पर्धी र सहयात्री दुवै भएको बताएका छन् । उनले सरकारमा सँगै भएको हुँदा नेकपा एमाले सहयात्रीको रूपमा रहे तापनि भोलिका दिनमा प्रतिस्पर्धी दल भएको बताएका छन् ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ को कार्यालयमा कार्यकर्तासँग छलफल गर्दै साउदले देशका ठुला राजनीतिक दलहरू मिलेर बनेको सरकारले जनताको जनचाहनाअनुसारको काम गर्न नसकेको गुनासो गरे । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदले ठुला दल मिलेर बनेको सरकार गतिशील र जनमुखी बन्न नसकेको बताए । उनले अन्य राष्ट्रसँगको समन्वयका नेपालमा धेरै कुराको फाइदा लिन सकिने बताउँदै अहिले त्यसमा सरकार नलागेको बताए ।
साउदले नेपाली कांग्रेस संसद्को सबैभन्दा ठुलो दल भएको र कांग्रेससँग जनताको पनि ठुलै अपेक्षा रहेको भन्दै त्यो अपेक्षाअनुसार कांग्रेस गतिशील बन्न नसकेको बताए । हाम्रो पार्टी संसद्कै ठुलो पार्टी हो । ‘हमी सरकारमा पनि छौँ,’ नेता साउदले भने, ‘तर, जनतालाई काम गरेर अनुभूति दिलाउन सकेका छैनौँ । यो अनुभूति कहिले दिलाउने, त्यसतर्फ कांग्रेसले सोच्न जरुरी रहेको छ ।’ उनले अब पनि कांग्रेस जनताको पक्षमा रहेर काम गर्न सकेन भने आगामी निर्वाचनमा पछि पर्न सक्नेमा शंका व्यक्त गरे ।
साउदले कांग्रेसले अन्तरमतले आफूलाई सच्याएर जान सकेमा मात्र लक्ष्यमा पुग्ने बताउँदै पहिलो चरणमा गुट–उपगुटको अन्त्य हुन जरुरी रहेको बताए । उनले नयाँ पुस्तामा परिवर्तनको फ्युजनले पार्टीमा क्रान्तिको आशा रहेकाे त्यो पनि गुटबन्दीमा नै विलय भएको बताए ।
उनले भ्रातृ संस्थाहरूको अधिवेशन वैचारिक किसिमले समयमा नै सम्पन्न गर्न जरुरी रहेको भन्दै माथिल्लो तहबाट पनि यसमा पहल थाल्न आवश्यक रहेको बताए । साउदले स्थानीय तहमा जनप्रतिनिधिले आमजनताको भावनाअनुसार काम गर्न नसकेको गुनासो आएको हुँदा पार्टीपंक्तिले पनि यसमा चासो दिनुपर्नेमा जोड दिए ।