वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना निकालेर सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ–धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो ।
विगत केही सातादेखि मुलुकको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको सन्दर्भमा विभागले उक्त सूचना जारी गरेको हो । वायु प्रदूषणका मुख्य कारक उद्योग, कलकारखाना र सवारीसाधन, वन डढेलो हो । त्यसैगरी, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउँदा, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलोले पनि वायुलाई प्रदूषित गर्दछ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीहरूलाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।