राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अंकित दरमा रु. ६ करोड १२ लाख ७९ हजार तीन सय मूल्यबराबरको ६ लाख १२ हजार सात सय ९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
आयोजनाले प्रभाव पार्ने रुकुमपूर्व जिल्ला र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
कम्पनीले रुकुमपूर्व जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।