![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/janardan-sharma2022-05-29-04-42-12.jpeg)
अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षाभत्ता दिने उमेर कम बनाइएको बताएका छन्। बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले १५औँ आवधिक योजनाले निकालेको निष्कर्षअनुसार ६९.७ वर्ष आयु रहेको सामाजिक सुरक्षाभत्ता दिने उमेर कम गरिएको बताए । यो भन्दाअघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष पुर्याइएको छ ।
उनले भने, ‘विपन्न नागरिकहरूको सामाजिक सुरक्षाभत्ता दिने उमेर कम गरेको विषय छ । नेपालको १५औँ आवधिक योजनाले निकालेको निष्कर्ष नेपालको औषत आयु ६९.७ वर्ष आयु रहेछ । यो योजना आयोगले १५औँ योजनामा निकालेको तथ्यांक हो । त्यो भएकाले एउटा तल्लो वर्ग रहेको छ । उसको आयु कम नै हुने गरेको छ । त्यसलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षाभत्ता पाउने उमेर ६८ वर्ष बनाइएको छ ।’
मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट सबै सरोकारवाला निकायहरूसँगको छलफल, सुझाव र योजनाका आधारमा बजेट ल्याएको बताए। उनले अर्थशास्त्रीदेखि निजी क्षेत्रको समेत सुझाव समावेश गरेर बजेट ल्याएको दाबी गरे । सबैको माग, सुझाव र छलफलको माध्यमबाट बजेट प्रस्तुत भएकाले बजेट सबैको स्वामित्व रहेको मन्त्री शर्माले बताए । सांसदहरूले सरकारले चुनाव लक्षित बजेट ल्याएको भने पनि आफूले संयमित भएर बजेट ल्याएको बताए। उनले अघिल्लो सरकारले ल्याएको भन्दा गत वर्षको प्रतिस्थापन बजेट १०.७३ प्रतिशतले मात्रै वृद्धि भएको बताए। मन्त्री शर्माले प्रतिस्थापन विधेयक बजेटभन्दा आगामी आर्थिक वर्षको बजेट ९.८६ प्रतिशतले मात्रै बढी भएको बताए ।
अर्थमन्त्री शर्माले संविधानमा कति समयका लागि बजेट बनाउने भनेर लेखेको नभेटेको बताएका छन् । मन्त्री शर्माले बजेट छलफलमा नेकपा एमालेका सांसदहरूले प्रदेश र केन्द्रको निर्वाचनभन्दा अगाडिसम्म मात्रै रहने सरकारले ५ वर्षको लागि भनेर आयोजनामा बजेट ल्याएको भनाइको जवाफ दिँदै ‘संविधानमा कति समयको लागि बजेट ल्याउने भनेर लेखेको कतै नभेटिएको बताए। उनले संविधानमा त्यस्तो व्यवस्था नदेखिएकाले एक वर्षको लागि बजेट ल्याएको बताए। मन्त्री शर्माले निर्वाचन आफ्नो प्रक्रियामा हुने भन्दै निर्वाचनपछि आउने सरकारले पनि यही बजेट कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । उनले अहिले सरकारले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरेकाले यो बजेट पनि पछि आउने सरकारले कार्यान्वयन गर्ने बताए ।
अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनमा बजेटले जोड दिएको दोहोर्याए । उनले पछिल्लो समय मुलुकले भोगिरहेको आर्थिक संकट आउन नदिनको लागि मुलुकभित्र नै आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट आएको बताए ।
त्यस्तै, अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा शिक्षामा लगानी बढेको बताए । उनले विगतको भन्दा थोरै भए पनि शिक्षामा लगानी बढाइएको बताए । मन्त्री शर्माले सरकारले बजेटमा १२ कक्षा पढिसक्दा सीप सिकेर निस्कने व्यवस्था हुने गरी प्राविधिक शिक्षाको परिकल्पना गरिएको बताए । शक्तिलाई सीपयुक्त बनाउने गरी बजेटमा आधारभूत पूर्वाधार बनाएर मेडिकल शिक्षा नेपालमा नै पढाउने व्यवस्था गरिएको मन्त्री शर्माले बताए। उनले हजारौँ विद्यार्थीहरू मेडिकल शिक्षा अध्ययनका लागि विदेशमा गएकाहरूलाई रोक्न नयाँ योजना बनाइएको मन्त्री शर्माको भनाइ छ । उनले आइटी शिक्षा र सूचना प्रविधिमा आधारित कुराहरू बजेटमा राखिएको बताए ।
अर्थमन्त्री शर्माले विद्युतीय इन्डक्सन चुलो भोटका लागि घोषणा नगरिएको बताए। उनले इन्डक्सन चुलो वितरणमा भेदभाव नहुने भन्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई पनि सो कार्यक्रममा सहभागी हुन आग्रह गरे । उनले सरकारले विद्युतीय सवारीसाधनको कर कुनै स्वार्थका लागि नबढाएको जिकिर गरे। मन्त्री शर्माले मुलुकको आवश्यकतालाई हेरेर विद्युतीय निजी सवारीसाधनमा कर वृद्धि गर्नुपरेको बताए ।