१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Saturday, 28 September, 2024
आकाश श्रेष्ठ
२o७९ जेठ १९ बिहीबार o७:३६:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बालेनको जितमा लुकेका सन्देशहरू

Read Time : > 3 मिनेट
आकाश श्रेष्ठ
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार o७:३६:oo

निर्वाचन प्रक्रिया आफैँमा कुनै पनि राजनीतिक व्यवस्थाप्रति जनताको भरोसा टिकाइराख्ने एक महत्वपूर्ण कदम हो । नेपाली जनताले यसपटकसहित स्थानीय सरकारका लागि दुईपल्ट मतदान गरे । यसरी नै एकपछि अर्को निर्वाचन गर्दै राजनीतिमा स्थायित्व आउने हो । यी निर्वाचन प्रक्रियाबाटै जनताले लागू भइरहेको राजनीतिक व्यवस्थाप्रतिको भरोसा व्यक्त गर्ने हुन् र राज्यले जनतालाई उनीहरूका इच्छा र चाहनाको सुनवाइ भइरहेको अनुभूति दिने पनि हो । यस हिसाबले यो निर्वाचन आफैँमा संघीयताको दिगोपनका लागि ठूलो जित हो । हामीजस्ता हरेक दशकजसो नयाँ शासनपद्धति खेप्दै आएका र आफ्ना इच्छा र चाहना केही सीमित राजनीतिक व्यक्तिको स्वार्थका निम्ति निमोठिँदै आएका जनताका लागि आशाको किरण पनि हो, यसपटकको निर्वाचन र बालेनहरूको उदय ।


काठमाडौंको समावेशी इतिहास र संस्कृति : काठमाडौँको इतिहास आफैँमा समावेशिताको एक ज्वलन्त उदाहरण हो । काठमाडौँका आदिवासीहरू सधैँ खेती–किसानीका नाममा जमिनसँग जोडिएर यहाँ बसोवास गर्दै आए । जमिनसँग यसरी जोडिएका वर्गले शासन पद्धति परिवर्तन हुँदैमा आफ्नो वासस्थान परिवर्तन गर्दैनन् । त्यसैले चाहे गोपाल शासकको पालामा होस् या महिषपाल, किराँत, लिच्छवि, मल्ल, शाह, राणा गर्दै हालको शासन व्यवस्था नै किन नहोस्, काठमाडौँवासीले इतिहासका हरेक बिन्दुमा अन्य जाति, धर्म वा वर्गसँग सहकार्य गर्दै आएका छन् ।

उनीहरूले एक–आपसबीचको भिन्नताको सधैँ सम्मान गरेका छन् । हो, आफ्नो संस्कृतिमाथि आक्रमण हुँदा उनीहरू चिढिन्छन् । जस्तै– गुठीसम्बन्धी विधेयक । तर, आफूमध्येबाटै शासनसत्ता चल्नुपर्छ भन्ने माग यहाँ कहिल्यै पाइँदैन । हिजो जोगमेहर श्रेष्ठ तथा आज केशव स्थापित र सिर्जना सिंहहरूको हार काठमाडौँमा नेवार नभई जितिन्न वा नेवारलाई नरिझाई जितिन्न भन्ने व्याख्यामा तुक नहुनुको प्रमाण हो । यस अर्थमा काठमाडौँले ऐतिहासिक रूपमै सहनशील, समावेशी, विविधतामुखी र खुला क्षेत्रका रूपमा एउटा पहिचान बनाएको छ । बालेनको जित काठमाडौँको यही इतिहास र संस्कृतिको निरन्तरता हो । राजनीतिक शब्दावलीमा बुझिने ‘हेपाहा काठमाडौँ’ र वास्तविक काठमाडौँवासीको भिन्नताको चित्रण पनि हो यो जित ।  

स्थापित राजनीतिक दलका एजेन्डाको अप्रासंगिकता : पछिल्लो सात दशकभर नेपाल कुनै न कुनै प्रकारको राजनीतिक अस्थिरताबाट गुज्रिरह्यो । अस्थिरताले स्थापित राजनीतिक दललाई अस्थिरताको राजनीतिको खेलमा माहिर बनायो । स्थिरताको माहोलमा उनीहरूले कहिल्यै राजनीति गर्नैपरेन र उनीहरूले त्यो कहिल्यै सिकेनन् । बालेनहरूको जित अब उनीहरूका लागि ठूलो चुनौती हो ।

आजको स्थापित राजनीतिक नेतृत्वले यहाँ आएर के बुझ्न आवश्यक छ भने हिजो राज्य व्यवस्थाविरुद्ध नागरिकको लडाइँमा उनीहरूको नेतृत्व जसरी अपरिहार्य थियो, त्यसरी नै अब आर्थिक–सामाजिक रूपान्तरणका निम्ति पनि उत्तिकै महत्वपूर्ण छ भन्ने ठान्नु गलत हो । सत्ताका लागि भनेर नेपाल अझै पनि अस्थिरताबीच नै छ र यसबाट निकास पाउन अझै पनि उनीहरूको भूमिका महत्वपूर्ण छ, नत्र नेपाल संकटतर्फ जान्छ, ध्वस्त हुन्छ भन्ने व्याख्या गर्दै जबर्जस्ती आफ्नो भूमिका कुँद्न खोज्नु उनीहरू आफैँ नयाँ नेपालका लागि तगारो बन्न खोज्नु हो । हिजोको उनीहरूको प्रशिक्षण सत्ताविरुद्ध लड्ने थियो, आर्थिक–सामाजिक रूपान्तरण ल्याउने थिएन । नयाँ युगको नयाँ उद्देश्यपूर्तिका लागि जस्तो व्यवस्था चाहिन्छ, त्यो दिन आफू पछि नहट्ने हो भने कालान्तरमा उनीहरू राजनीतिक जीवनको अन्तिम परीक्षामा फेल हुने सम्भावना बढ्नेछ । 

संघीयताको मर्मप्रतिको उदासीनता : स्थानीय निर्वाचनमा पनि प्रमुख दलहरूले गठबन्धन गर्दा र स्थानीयस्तरमा जनतासँग भिजेर काम गरेका नेतालाई छाडेर भागबन्डा र संस्थापनसँगको निकटताका आधारमा केन्द्रीय स्तरबाट टिकट बाँड्दा संघीयताको मर्म मार्ने जुन काम गरे, त्यसको सशक्त जवाफ पनि हो, बालेनहरूको उदय । हाम्रा राजनीतिक दलहरूको अपरिपक्वता र उनीहरूले नागरिकप्रति दर्साएको उदासीनताको परिणाम पनि हो यो ।  

दलभित्रै नयाँ पुस्ताको नैराश्य : दलहरूले लिनैपर्ने अर्को सिकाइ भनेको नयाँ युग, नयाँ उद्देश्य, नयाँ नेपाल भन्दै गर्दा यसभित्र नयाँ पुस्ताको पनि कुरा आउँछ । भोलिको समृद्ध नेपाल नयाँ पुस्ताको प्रमुख एजेन्डा हो । अस्थिरताको राजनीति गर्ने क्रममा स्थापित दलहरू आफ्नै संगठनभित्र नयाँ पुस्ताको विकास गर्ने कार्यमा चुके । दलभित्र युवाहरू हुँदै नभएको अवश्य होइन, तर के दलहरूले उनीहरूलाई भोलिको नेतृत्वका रूपमा विकास गरिरहेका छन् त ? के आज यो कुरा दलहरूको प्राथमिकतामा छ ? यसको अर्थ नयाँ पुस्तालाई सडकमै उतारेर देखाउनुपर्छ भन्ने होइन । स्थापित दलहरूसँग आबद्ध आजका युवाले पर्याप्त जिम्मेवारी पाउने ठाउँमा आफू पुगेको देख्न सकिरहेका छैनन् । बालेनहरूको उदय यो नैराश्यको प्रकटीकरण पनि हो ।

स्वतन्त्र उम्मेदवारको आवाज : बालेन, अर्थात् एक प्रकारको स्वतन्त्र उम्मेदवारको अर्थ लगाउने हो भने उनीहरू साँच्चै राजनीतिमा होमिएर परिवर्तन ल्याउने चाहना भएका तर झोला बोकेर राजनीति गर्ने समयमा किताब–कलम बोकेर पढाइमा लागेका वा अन्य कारणले काँचै उमेरदेखि सक्रिय राजनीतिमा लाग्न नसकेका व्यक्तिहरू हुन् । आज स्वतन्त्र उम्मेदवारी दिनुपछाडिको उनीहरूको एउटा कारण भनेको स्थापित दलभित्र उनीहरूका लागि ठाउँ नहुनु हो । अर्को प्रकारको स्वतन्त्र उम्मेदवार पार्टीले आफ्नो योगदानको सही मूल्यांकन र कदर नगरेर अर्कैलाई टिकट दिएकाले बागी उठेकाहरू । यी दुवै खाले प्रवृत्तिले दललाई आ–आफ्नै सन्देश दिएका छन् ।

पहिलो, नेपाली दलगत राजनीतिमा नयाँ कार्यकर्ताका लागि पाश्र्व प्रवेश (ल्याटरल इन्ट्री) अर्थात् अर्कै ढोकाबाट पनि पस्ने बाटो बनाउन आवश्यक भयो । यस प्रकारको दल प्रवेशको नीतिलाई दलहरूले संस्थागत गर्नुपर्‍यो । दोस्रो, दलहरूले आ–आफ्ना उम्मेदवार छान्ने प्रक्रियालाई प्रजातान्त्रिक बनाउनुप¥यो । विश्वभर यसका विभिन्न तरिका अभ्यासमा छन् । हाम्रा लागि यसको ताजा उदाहरण हुन सक्छ, भारतको पन्जाबमा आम आदमी पार्टीले जनताको उम्मेदवार कसलाई बनाऊँ भनेर जनतालाई नै सोधेको विषय । जसरी गरिए पनि यी दुई सुधारले कार्यकर्ताको उत्प्रेरणा बढाउँछ, दलभित्र प्रजातान्त्रिक परिपाटीको विकास गर्छ, राजनीतिलाई सार्वजनिक सेवामुखी बनाउँछ, कार्यकर्ताबीच सार्वजनिक सेवामुखी प्रतिस्पर्धाको लहर ल्याउँछ, र दल र लोकतन्त्रको सुदृढीकरणमा टेवा पुर्‍याउँछ ।