मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ९ सोमबार १३:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनिर्वाचित मेयर हमालको पहिलो निर्णय : धनगढीमा पञ्चवर्षीय योजना लागू गर्ने

Read Time : < 1 मिनेट
२०७९ जेठ ९ सोमबार १३:४९:००

धनगढीको मेयरमा निर्वाचित गोपाल हमालले पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन्। कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले शपथ गराएलगत्तै कार्यभार सम्हालेका हमालले आगामी आर्थिक वर्षबाट धनगढीको पञ्चवर्षीय योजना लागू गर्ने पहिलो निर्णय गरेका छन् ।

योजनाबद्ध विकासको थालनी गर्न आगामी आर्थिक वर्ष ०७९/८० देखि ०८३/८४ सम्म पहिलो पञ्चवर्षीय आवधिक योजना लागू गर्ने निर्णयमा मेयर हमालले हस्ताक्षर गरेका हुन्। मध्यकालीन र दीर्घकालीन विकास योजना निर्माण गर्न चालू आर्थिक वर्षबाटै पञ्चवर्षीय योजना निर्माणको सुरुवात गरिने निर्णयमा उल्लेख छ।

‘हामीले प्राथमिकताका आधारमा विकासलाई अगाडि बढाउँछौँ भन्दै आएका थियौँ, आज त्यसको सुरुवात गरेका छौँ,’ निर्णयमा हस्ताक्षर गरेपछि पत्रकारसँग हमालले भने, ‘पञ्चवर्षीय योजना अहिलेसम्म यहाँ लागू भएको थिएन। आजका दिनदेखि नयाँ युगको सुरुवात गर्‍याैँ ।’ नगरमा पञ्चवर्षीय योजनाको परिपाटीले पाँच वर्षपछि पनि निरन्तरता पाउने उनले आशा व्यक्त गरे।

हमालले जनताको गुनासो सुन्ने व्यवस्था पनि आफूले छिट्टै गर्ने बताए। सञ्चारकर्मी र आमनागरिकलाई चाहिएको सूचना उपमहानगरपालिकाबाट सहज रूपमा उपलब्ध हुने वातावरण आफूले निर्माण गर्ने उनले बताए। स्वतन्त्र उम्मेदवार हमाल भारी मतान्तरसहित धनगढीको मेयरमा निर्वाचित भएका हुन्।