मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताबारे जानकारी दिँदै क्यानका पदाधिकारी ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ५ बिहीबार ०७:४०:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल टी–२० लिग असोजमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ५ बिहीबार ०७:४०:००

नेपाल टी–२० लिगमा सहभागी हुने खेलाडीलाई तीन समूहमा विभाजित गरिएको छ । ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख रुपैयाँ पाउनेछन् । यसैगरी ‘बी’ श्रेणीमा रहेका खेलाडीले १० लाख तथा ‘सी’ श्रेणीका खेलाडीले कम्तीमा पाँच लाख पाउनेछन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले ८ असोजदेखि ५ कात्तिकसम्म नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसको जानकारी दिएका हुन् ।

प्रतियोगिता होम एन्ड अवेमा आधारित हुनेछ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने चन्दले बताए । आइसिसीबाट निलम्बन फुकुवा भएपछि क्यानले आफ्नै स्वामित्वमा पहिलोपटक नेपाल टी–२० लिग आयोजना गर्न लागेको चन्दले बताए । ‘क्यान प्रतिबन्धको समयमा बृहत् प्रतियोगिता आयोजना हुन सकेन,’ उनले भने, ‘प्रतिबन्ध फुकुवापछि हामीले आफ्नै स्वामित्वमा रहने गरी लिग गर्न लागेका हौँ ।’ उनका अनुसार लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

विभिन्न सहरका नाममा फ्रेन्चाइज टोलीको घोषणा छिटै हुनेछ । अहिले सहरहरूको नाम सार्वजनिक भएको छैन । दोस्रो संस्करणदेखि लिगमा टोलीको संख्या बढ्न सक्ने क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए । ‘यो वर्ष हामीले ६ टोलीबीच लिग गराउँछौँ, अर्को वर्ष फ्रेन्चाइज टोली बढ्नेछ ।’ नेपाल टी–२० लिगको घोषणा भएपछि नेपालमा एक मात्रै लिग हुने क्यानका अध्यक्ष चन्दले जनाए । जुन क्यानको आयोजनामा मात्रै हुनेछ । ‘नेपालमा अब फ्रेन्चाइज लिग आधारमा एउटै मात्र टी–२० लिग हुनेछ, यो क्यानकै आयोजनामा हुन्छ,’ चन्दले भने, ‘नेपाल लिगजस्तै प्रकृतिका अन्य लिग आयोजना हुँदा त्यसले मान्यता नपाउने उनले स्पष्ट पारेका छन् । ‘यदि हामीले आयोजना गर्नेजस्तै अरू लिग हुन्छ भने त्यो आधिकारिक हुनेछैन,’ उनले भने ।

क्यान निलम्बनमा रहँदा क्रिकेट गतिविधि ठप्प थियो । यही अवधिमा एभरेस्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) तथा पोखरा प्रिमियर लिग (पिपिएल) आयोजना भएका थिए । यी तीनवटै लिगले आइसिसीबाट मान्यता पाएका थिए । नेपाल टी–२० लिगसँगै इपिएल, डिपिएल तथा पिपिएल फ्रेन्चाइज लिगको भविष्य अन्योलमा परेको छ । 

क्यानका अध्यक्ष चन्दले निजी क्षेत्रबाट आयोजना भइरहेका लिगको सम्बन्धमा छलफल हुने बताए । विश्वभरि क्रिकेटको प्रमुख संस्थाले टी–२० फ्रेन्चाइज लिग आयोजना गर्ने अवधारणा रहेको उनले बताए । ‘अन्य देशमा पनि त्यहाँकै क्रिकेट संघले लिग आयोजना गर्छ, आइसिसीले नै संघले आयोजना गर्ने लिगलाई नै आधिकारिक मानेको छ, नेपालमा पनि क्यानले आयोजना गर्न लागेको टी–२० लिग नै आधिकारिक हो, योबाहेक अरू लिग आधिकारिक हुनेछैन,’ उनले भने, ‘हामीले क्यानको साधारणसभाबाटै यो घोषणा गरेको हो ।’

नेपाल टी–२० लिगमा सहभागी हुने खेलाडीलाई तीन समूहमा विभाजित गरेको कार्यवाहक सचिव मल्लले बताए । उनका अनुसार ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख रुपैयाँ पाउनेछन् । यसैगरी ‘बी’ श्रेणीमा रहेका खेलाडीले १० लाख तथा ‘सी’ श्रेणीका खेलाडीले कम्तीमा पाँच लाख पाउनेछन् । ‘क्यानले निर्धारण गरेको ग्रेडअनुसारै खेलाडीले नेपाल टी–२० लिगमा पारिश्रमिक पाउनेछन्,’ मल्लले भने, ‘यसबाट खेलाडीहरू व्यावसायिक हुनेछन् ।’ 

क्यानले प्रतियोगिताअघि नै खेलाडीको श्रेणी घोषणा गर्नेछ । फ्रेन्चाइज टोली तथा खेलाडीको वर्गीकरण सम्बन्धमा क्यानले पत्रकार सम्मेलन गरी जानकारी दिने उनले बताए । लिगको आयोजनापछि नेपाली क्रिकेट व्यावसायिकतातर्फ अग्रसर हुने विश्वास क्यानका अध्यक्ष चन्दले जनाए । ‘हामीले दुई वर्षको प्रयासपछि प्रतियोगिता आयोजना गर्न लागेका छौँ, मलाई विश्वास छ, यो प्रतियोगितापछि खेलाडीहरू व्यावसायिक हुनेछन्,’ उनले भने, ‘नेपालमा क्रिकेटले पनि फड्को मार्नेछ, क्रिकेटको माध्यमबाट यहाँ पर्यटक पनि बढनेछन् ।’ 

 भारतीय कम्पनीसँग सम्झौता
क्यानले रणनीतिक र कमर्सियल अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गरिसकेको थियो । क्यान र सेभेन थ्री स्पोर्टस्बीच आठ वर्षको सम्झौता भएको छ । क्यानले कमर्सियल अधिकार भारतीय कम्पनीलाई ३३ करोड रुपैयाँमा बेचेको हो । सम्झौताअनुसार क्यानले प्रत्येक वर्ष चार करोड १२ लाख रुपैयाँ पाउनेछ । ‘हामीले साधारणसभाबाट सेभेन थ्री स्पोर्टस् कम्पनीलाई नेपाल टी–२० लिगको रणनीतिक र कमर्सियल अधिकार दिने निर्णय गरेका थियौँ,’ अध्यक्ष चन्दले भने, ‘यो कम्पनी भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिगमा समेत आबद्ध छ ।’ सेभेन थ्री स्पोर्टस्का संस्थापक तथा म्यानेजिङ डाइरेक्टर जटिन अहलुवाईले नेपाल टी–२० लिगसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको बताए । ‘क्यानसँग सम्झौता गर्नुअघि हामीले सबै अध्ययन गर्‍यौँ, विभिन्न चरणका वार्तापछि नै सहकार्य गर्न सहमति भयौँ,’ उनले भने, ‘हामीसँग आइपिएल, फिफा विश्वकपलगायत चर्चित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको अनुभव छ ।’ 

 सपना पूरा हुने भयो : लामिछाने 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यानको आयोजनामा हुने नेपाल टी–२० लिग खेल्ने सपना पूरा भएको बताएका छन् । ‘हामी खेलाडीको चाहना पनि क्रिकेटको आधिकारिक संस्था क्यानले आयोजना गरेको लिगमै खेल्ने हो, जुन अब पूरा हुने भएको छ,’ सन्दीपले भने, ‘यो लिगमा मैले विभिन्न फ्रेन्चाइज लिगमा बटुलेको अनुभव साथीहरूलाई बाँड्ने कोसिस गर्नेछु ।’ नेपाल टी–२० लिगले खेलाडी आर्थिक रूपमा बलियो हुने विश्वास उनले लिएका छन् । 

 इपिएलको पनि घोषणा
जोहरा स्पोर्टस् कम्पनीले पनि पाँचौँ संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)को मिति घोषणा गरेको छ । २६ कात्तिकदेखि १० मंसिरसम्म इपिएलको मिति घोेषणा भएको छ । तर, क्यानले इपिएललाई प्रतियोगिता आयोजना गर्न अनुमति नदिएको कार्यवाहक सचिव मल्लले बताए । ‘क्यानले इपिएललाई अनुमति दिएको छैन, यदि प्रतियोतिगा आयोजना हुन्छ भने त्यो आधिकारिक हुनेछैन,’ उनले भने, ‘अब इपिएल अहिलेको शैलीमा हुन सक्दैन ।’