रोल्पामा दुई महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनमा माओवादीका उम्मेदवार दुई महिलाले वडाध्यक्षमा जित हासिल गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका– ३ मा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेकी तिलाकुमारी वली डाँगी वडाध्यक्षमा निर्वाचित भएकी छिन् ।
निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बालाराम डाँगीलाई झन्डै दोब्बर मतले पछि पार्दै तिलाकुमारी विजयी भएकी हुन् । उनले चार सय ७० मत प्राप्त गरेकी छन् भने निकटतम् प्रतिद्वन्द्वी बालारामले दुई सय ६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, रुन्टीगढी गाउँपालिकाको वडा नं. ८ को वडाध्यक्षमा माओवादी केन्द्रकी तुलसी पुन निर्वाचित भएकी छिन् । पुनले तीन सय ९३ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खिमबहादुर रोकाले तीन सय १७ मत प्राप्त गरी पराजय व्यहोरेका छन् ।