काठमाडौंका पाँच, ललितपुरका चार र भक्तपुरका तीन स्थानीय तहका उम्मेदवार मतगणनामा अगाडि
काठमाडौं, ललितपुर र भक्तपुरमा २१ स्थानीय तह छन् । प्रायः सबै स्थानीय तहमा मतगणना जारी छ । मतगणना भइरहेका उपत्यकाका स्थानीय तहमा दोहोरिन चाहेका उम्मेदवारहरू नै अग्रस्थानमा देखिएका छन् । उपत्यकामा १० मेयर र दुईजना गाउँपालिका अध्यक्षले यसपटक पनि पुनः उम्मेदवारी दिएका छन् । काठमाडौंका चार स्थानीय तहमा दोहोरिन चाहेकै उम्मेदवार मतगणनामा अगाडि छन् । काठमाडौंका दक्षिणकाली, चन्द्रागिरी, नागार्जुन र टोखा नगरपालिकामा पुनः उठेका प्रमुखका उम्मेदवार अगाडि देखिएका हुन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) अग्रस्थानमा छन् । उनलाई एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् । उपमेयरमा एमालेकी सुनीता डंगोल अग्रस्थानमा छिन् । यसअघि कांग्रेसलाई हराएर एमालेका विद्यासुन्दर शाक्य महानगरको मेयर बनेका थिए ।
कागेश्वरी मनोहरा नगरपालिकामा एमालेको रामशरण ढुंगाना अग्रस्थानमा रहँदा कांग्रेसका उपेन्द्र कार्की र एकीकृत समाजवादीका कृष्णहरि थापा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । थापा यसपटक पुनः नगर प्रमुखमा उठेका हुन् । कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी पहिलो स्थानमा छन् । उनलाई एमालेका केशरत्न बज्राचार्य र माओवादी केन्द्रका शिवशरण महर्जनले पछ्याइरहेका छन् । गोकर्णेश्वर नगरपालिकामा एमालेका उद्धव विष्ट अगाडि छन् । कांग्रेसका दीपककुमार रिसाल दोस्रो र एकीकृत समाजवादीका गोपालप्रसाद बराल तेस्रो स्थानमा छन् ।
चन्द्रागिरि नगरपालिकामा कांग्रेसका घनश्याम गिरी अग्रस्थानमा रहँदा एमालेका उत्तमबहादुर राउतले उनलाई पछ्याइरहेका छन् । टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी, कांग्रेसकी रजनी थापा र माओवादी केन्द्रका शेखर श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । तारकेश्वर नगरपालिकामा कांग्रेसका कृष्णहरि महर्जन पहिलो, एमालेका रामेश्वर बोहरा दोस्रो र एकीकृत समाजवादीका लवकुमार बस्नेत तेस्रो स्थानमा छन् ।
दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेतले अग्रता लिएका छन् । एमालेका श्रीराम आचार्य दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानभक्त अमात्य तेस्रो स्थानमा छन् । नागार्जुनमा कांग्रेसका मोहनबहादुर बस्नेत पहिलो, एमालेका नन्दनहरि गौतम दोस्रो र माओवादीकी सरस्वती सुनार तेस्रो स्थानमा छिन् ।
बुढानीलकण्ठ नगरपालिकामा कांग्रेसका विनोद चालिसे, एमालेका मिठाराम अधिकारी र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । शंखरापुर नगरपालिकामा एमालेका कृष्णलाल बजगाईं अग्रस्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो र एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठ तेस्रो स्थानमा छन् ।
ललितपुरमा दोहोरिएका चारमध्ये तीन उम्मेदवारले लिए अग्रता
ललितपुरका ६ स्थानीय तहमध्ये तीनवटामा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् । ललितपुर महानगर, गोदावरी नगरपालिका र बागमती गाउँपालिकामा कांग्रेस अग्रस्थानमा छ । उनीहरू तीनजना दोहोरिन चाहेका उम्मेदवार हुन् । दोहोरिन चाहेका तीनमध्ये कोन्ज्योसोम गाउँपालिकाका उम्मेदवार मात्र पछाडि परेका छन् । ललितपुर महानगरको मेयरमा गठबन्धनका चिरिबाबु महर्जनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले पछ्याइरहेका छन् । गोदावरी नगरपालिकामा कांग्रेसका गजेन्द्र महर्जन पहिलो स्थानमा छन् । उनलाई एमालेका गम्भीरबहादुर राणा र राप्रपाका राजकुमार महर्जनले पछ्याइरहेका छन् ।
महालक्ष्मी नगरपालिकामा माओवादीका शिवप्रसाद कट्टेल पहिलो, एमालेका हरिगोविन्द श्रेष्ठ दोस्रो र राप्रपाका प्रवीण खत्री तेस्रो स्थानमा छन् । कोन्ज्योसोम गाउँपालिकामा एमालेका कृष्णमान लामा पहिलो, माओवादीका गोपीलाल सिंतान दोस्रो र राप्रपाका मानबहादुर तामाङ तेस्रो स्थानमा छन् । बागमतीमा गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन अग्रस्थानमा छन् । उनलाई एमालेका नवराज सञ्जेलले पछ्याइरहेका छन् । महांकाल गाउँपालिकामा कांग्रेसकै गणेश केसी अगाडि छन् । एमालेका गाउँपालिका प्रमुखका उम्मेदवार दोस्रो स्थानमा छन् ।
भक्तपुर नगरपालिकामा नेमकिपा जितको नजिक
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीबाट मेयरमा उम्मेदवारी दिएका सुनील प्रजापति मतमा अन्य प्रतिस्पर्धी उम्मेदवारभन्दा पाँचगुणा अगाडि छन् । नेमकिपाकै रजनी जोशी उत्तिकै मतका साथ अग्रस्थानमा छिन् । नगरपालिकामा एमाले र कांग्रेस उम्मेदवार क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यसअघि नगरपालिकामा नेमकिपाकै प्रजापति र जोशी मेयर र उपमेयर थिए । मध्यपुर नगरपालिकामा एमालेका मदनसुन्दर श्रेष्ठ दोहोरिन चाहेका छन् ।
चाँगुनारायण नगरपालिकामा कांग्रेसका जीवन खत्री पहिलो, एमालेकी विना बास्तोला दोस्रो र राप्रपाका रवीन्द्रप्रताप शाह तेस्रो स्थानमा छन् । मध्यपुर ठिमी नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठ, एमालेका मदनसुन्दर श्रेष्ठ दोस्रो र राप्रपाका भुवन श्रेष्ठ तेस्रो स्थानमा छन् । सूर्यविनायक नगरपालिकामा कांग्रेसका निशान ढुंगेल पहिलो, एमालेका वासुदेव थापा दोस्रो र राप्रपाकी राधिका रानाभाट तेस्रो स्थानमा छन् ।