मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Thursday, 19 December, 2024
राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणना हुँदै । तस्बिर : नयाँ पत्रिका
सुवास भट्ट काठमाडाैं
२o७९ जेठ २ सोमबार o८:३२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देशभर मतगणना अति सुस्त

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार o८:३२:oo

सीमित ठाउँमा गणना, धेरै उम्मेदवार र लामो मतपत्रका कारण मतगणनामा ढिलाइ

थोरै मतदाता भएका पालिकाको परिणाम आउन थाले पनि धेरै मतदाता र उम्मेदवार रहेका पालिकाको मतगणनामा ढिलाइ देखिएको छ । धेरै मतदाता भएका खासगरी उपमहानगर र महानगरको अन्तिम परिणाम आउन समय लाग्ने देखिएको छ । 

मतगणनामा भएको ढिलाइस“गै निर्वाचन आयोगको एक साताभित्र मतगणना सक्ने लक्ष्य पूरा नहुने देखिएको छ । अहिलेका स्थानीय तहका जनप्रतिनिधिको कार्यावधि ५ जेठसम्म मात्र भएकाले सोही अवधिभित्र मतदानको अन्तिम परिणाम दिने आयोगको लक्ष्य थियो । तर, अहिलेको गतिले आयोगको लक्ष्यअनुसार मतगणना सक्न सम्भव नहुने निश्चित भएको छ । 

शुक्रबार मतदान सकिएलगत्तै कतिपय पालिकामा त्यसै दिन र कतिपयमा शनिबारबाट मतगणना सुरु भएको थियो । दुई दिन बित्दा पनि महानगर र उपमहानगरहरूको मतगणनाको गति सुस्त छ । सीमित ठाउँमा गणना, धेरै उम्मेदवार र लामो मतपत्रका कारण मतगणनामा ढिलाइ भइरहेको आयोगको भनाइ छ । काठमाडौंमा शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । सुरुवातमा वडा नम्बर १ र ३२ बाट गणना सुरु भएको थियो । अहिलेसम्म वडा नम्बर १ को मात्रै नतिजा आएको छ । अहिले वडा नम्बर २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ । महानगरमा ३२ वडा छन् । 

यही गतिको मतगणनाले ३२ वटै वडाको गणनामा तीन साता लाग्ने देखिन्छ । भलै, पछिल्लो समय मतगणनाको गति बढाउँदै लगिएको छ । तीन लाख दुई सय ४२ मतदाता रहेको महानगर क्षेत्रमा एक लाख ९० हजार एक सय ७० मत खसेको छ । काठमाडौंमा प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

ललितपुर महानगरका मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटी यसपटक मतपत्र ठूलो भएको, ठूलो संख्याका उम्मेदवार, मतपत्र एक–एक केलाएर हेर्नुपर्ने, बदर मत, उम्मेदवार तथा प्रतिनिधिसँग रुजु गराउनुपर्नेलगायतका कारण गणना ढिला भएको बताउँछन् । दुई वा धेरै ठाउँबाट मतगणना गर्न स्वतन्त्र उम्मेदवारको अवरोधलगायतका कारण पनि गणनामा ढिलाइ भएको उनले सुनाए । 

‘दुई नयाँ गणनास्थल बनाएर गणना थालेका छौँ, अब तीन गणनास्थलबाट चार सिफ्टमा गणना हुन्छ,’ सिवाकोटीले नयाँ पत्रिकासँग भने, ‘अब अलि छिटो गणना हुन्छ ।’ सिवाकोटीले छिटो सक्ने गरी २४ घन्टा नै गणना गरिएको भए पनि करिब ८५ हजार मत गणना गर्न समय लाग्ने बताए । ‘कुनै बाधा–अवरोध भएन भने अबको सात–आठ दिनमा गणनाको अन्तिम नतिजा दिन सक्छौँ,’ उनले भने । 

पोखरा महानगरमा वडा १, २, १२ र २३ मा मतगणना जारी छ । पोखरा महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई मतगणनामा ढिलाइ हुनुका धेरै कारण औँल्याउँछन् । उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले निम्त्याउने अनावश्यक झमेला, गणना गर्ने ठाउँको अभाव, निर्वाचन आयोगले निर्धारण गरेको सिफ्ट संख्याको अव्यावहारिक नीति र भौतिक पूर्वाधारलगायतका कारण गणना ढिलाइ भएको उनले बताए । 

विभिन्न अवरोधका कारण २८–२९ घन्टासम्म ५–६ सय मत मात्र गनिएको उनले बताए । ‘अवरोधका कारण मतगणना सुरु गरेको २८–२९ घन्टासम्म एउटै वडाको पनि अन्तिम परिणाम दिन सकेका छैनौँ,’ भट्टराईले भने । 

एउटा चिह्नमा सामान्य विवाद आए गणना नै रोकिदिएर उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिले गणक कर्मचारीलाई सहज तरिकाले काम गर्न नदिएको उनी बताउँछन् । दुई हजार मत गनेको एक सिफ्ट कायम गरिदिने आयोगको अव्यावहारिक नीतिले पनि समस्या पारेको उनको भनाइ छ । यसको गुनासो आयोगलाई गरे पनि सुनुवाइ नभएको उनी बताउँछन् । ‘गणना गर्नुपर्ने मतपत्र धेरै छ, तर कहिलेकाहीँ बत्ती जान्छ, गणनाहल पनि गतिलो छैन, यस्ता समस्या धेरै छन्,’ उनले भने । मुख्य मतदान अधिकृत भट्टराईका अनुसार पोखरा महानगरको मतगणना ६ ठाउँमा भएको छ । 

वीरगन्ज महानगरपालिकामा वडा नम्बर १, २, ३१ र ३२ को मतगणना भइरहेको छ । विराटनगर महानगरमा आइतबार रातिसम्म झन्डै ११ हजार मत गणना भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल मतगणनामा भएको ढिलाइबारे आयोग जानकार भए पनि यसका व्यावहारिक कारण भएको बताउँछन् । मतपत्रको आकार, चुन्नुपर्ने जनप्रतिनिधिको संख्या, बदर मतलगायतका कारण गणनामा ढिलाइ भएको उनको भनाइ छ । स्थानीय तहको मतपत्र गणना संघ र प्रदेशको तुलनामा बढी समय लाग्ने उनी बताउँछन् । सुरुमा बढी समय लागे पनि गणनाको गति बढ्दै जाने उनले बताए । 

छिटो मतगणना गर्न आयोगको निर्देशन
आयोगले जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी चाँडो मतगणना सक्न निर्देशन दिएको छ । आयोगले आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, उपलब्ध भएसम्म संघ तथा प्रदेशका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकताका साथ खटाउने, स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी गणना गर्न भनेको छ । 

मतगणना छिटो सम्पन्न गर्ने कार्यमा सहयोग र सहजीकरण गर्नसमेत आयोगले राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिलाई आग्रह गरेको छ । ‘जिल्लाका जनशक्ति व्यवस्थापन समितिलाई आवश्यक जनशक्ति व्यवस्थापन गरेर तथा मतगणना टोली बढाएर गणना चाँडो सक्न आयोगले निर्देशन दिएको छ,’ मतगणनाको ढिलाइबारे आयोगका सहायक प्रवक्ता अर्यालले भने, ‘अब मतपरिणाम आउने क्रम छिटो हुन्छ ।’ मतगणना चाँडो सक्ने कार्यमा उम्मेदवार तथा राजनीतिक दलको पनि सहयोग आवश्यक भएको सहप्रवक्ता अर्यालले बताए ।