पुरुष कस्तो हुनुपर्छ या महिला कस्तो हुनुपर्छ ? के यो हामीले सामाजिक रूपले वेला–वेला सोचिरहने विषय हो ? तर सोचिरहनुपरेन, हामी पुरुष र महिला भएकैले समाजमा भिन्न कार्यमा संलग्न हुने गर्छौँ । अझ पुरुषत्वमा हुनुपर्ने गुणमा रफटप, चाम्रो, रिसाहा, उच्च महत्वाकांक्षा भएको, यौनिक आवेग (हिंसात्मक) भएको, महिलाप्रति सुरक्षात्मक र अधिनस्थजस्ता पक्षलाई समेटिन्छ । अनुसन्धानकर्ताले महिला र पुरुषमा जैविक रूपमा शरीरका केही अंगमा देखिने केही भिन्नता तथा प्रजनन अंगको फरक काम भए पनि अन्य भूमिका र गुण भने समाजबाट नै सिर्जित हुन्छ भन्ने मान्यता राख्छन् । तर, जैविक विशेषताले नभई कठोर सामाजिक मूल्य मान्यताले नै पुरुषत्व र स्त्रीत्वको सिर्जना गरेको हुन्छ ।
प्रसिद्ध नारीवादी अभियन्ता कमला भासिनले
आफ्नो पुस्तक “मर्द, मर्दानगी और मर्दवाद”मा लैंगिकताले सामाजिकस्तरमा काम गर्छ भन्ने तथ्यलाई पुष्टि गरेकी छिन् । पुरुषत्व व्यक्तिगत पहिचानको स्तरमा निर्धारण हुन्छ । पुरुषले के भूमिका निभाउने र स्त्रीले के गर्ने या नगर्ने भन्ने काम समाजले नै निर्धारण गरिदिएको हुन्छ । त्यस्तै गरेर संस्थागत तौरतरिकाको स्तरमा पनि शिक्षा व्यवस्थामा पुरुषले गणित, विज्ञान पढ्ने अनि महिलाले गृहविज्ञान, नर्सिङलगायत पढ्ने व्यवस्था समाजले नै गरिदिएको छ । पुरुष कमाउने र घरको मुखियाका रूपमा रहने तथा राजनीतिक व्यवस्थामा सहभागी हुने गरेका देखिन्छन् । राजनेताका रूपमा पुरुष नै अग्रपंक्तिमा देखिन्छन् । सैनिक सेवामा पुरुषकै आधिपत्य छ । सैनिकहरूले देशको रक्षार्थ लडाइँमा भाग लिनुका साथै महिला तथा बालबालिकाको रक्षा गर्छन् भन्ने मान्यता र अभ्यास छँदै छ ।
विभिन्न विचारधारा, धार्मिक, राजनीतिक धारणा, राष्ट्रिय तथा अन्य साम्प्रदायिक धारणा पनि पुरुषत्वलाई नै बढवा दिने खालका छन् । उदाहरणका रूपमा महिलालाई परम्परा, संस्कृति र सामूहिक पहिचानका रक्षक र पुरुषलाई आफ्नो क्षेत्र र सिमाना रक्षकका रूपमा स्विकारिन्छ । त्यस्तै, गरेर सबै प्रकारका तौरतरिका, गुण, असलपन दर्साउने सवालमा पनि पुरुषत्व र नारीत्वको अभ्यास गरिन्छ । स्वतन्त्रता, लोकतन्त्र, मातृभूमि, पितृभूमिजस्ता तर्कलाई पुरुषत्वका रूपमा ग्रहण गरिन्छ भने भावना र कमजोरीलाई स्त्रीत्वका रूपमा बुझ्ने गरिन्छ ।
यी सामाजिक संरचनाकै कारण अनेक पारिवारिक सामाजिक समस्याबारे खुलेर छलफल गर्ने वातावरण नहुँदा यो मेरो जिम्मेवारी हो भन्दै एक्लै अगुवा हुन खोज्दा पुरुषहरू विभिन्न आर्थिक तथा मनोवैज्ञानिक समस्यामा फस्न पुग्छन् । यस्तो अवस्थामा मानसिक दबाबलाई भित्रभित्रै दबाउँदै मदिरा र लागुपदार्थको लतमा समेत फस्न पुग्छन् । भित्रभित्रै अहंकार, आवेग र एक्लोपनले सताउँदै लगेर विभिन्न शारीरिक समस्यासँग जुधिरहेका पनि देख्न सकिन्छ कतिपय पुरुषलाई । पुरुषत्वकै अवधारणामै हुर्किरहेका कतिपय पुरुष विभिन्न आपराधिक संघसंगठनमा आबद्ध भएका घटना पनि सार्वजनिक भइरहेका हुन्छन् । तर, पुरुषहरू जन्मँदै पाशविक हुँदैनन् उनीहरू पनि उत्तिकै दयालु, विवेकी र आफ्ना भावनालाई महिलाले जत्तिकै प्रस्फुरण गर्न सक्छन् । तर, यो तथ्यलाई मनन नै नगरी एकोहोरो समाजका अमानवीय ढर्रालाई पछ्याउँदै जाँदा बन्ने भनेको उही प्रभुत्वशाली पुरुष अर्थात् हेजेमोनिक पुरुष नै हो ।
पुरुषको हिंसात्मक व्यवहारलाई नै पनि पुरुषत्व या मर्दपनका रूपमा लिइने अझै विद्यमान छ हाम्रो समाजमा । सामाजिक दबाबका कारण पैदा हुने शारीरिक समस्या पनि भन्न सकिन्छ केही पुरुषप्रधान मान्यतालाई । हाम्रो समाजमा आफूलाई दोस्रो दर्जाको नागरिक ठानेर आममहिला दुःखी भइरहेका हुन्छन् भने धेरै सुविधा र जिम्मेवारीले गर्दा पुरुषहरूले दुःख उठाउँछन् । तर, समाजमा घटित विभिन्न आपराधिक घटना र पुरुषत्वलाई बुझ्नु अहं सवाल हो । पुरुषत्वको धारणाले पुरुषलाई शारीरिक रूपले सुपरम्यानको जस्तो तगडा र शक्तिशाली बन्न प्रोत्साहित गर्छ । यसका साथै आक्रामकता, दुस्साहस तथा दबाब झेल्ने शक्तिलाई पनि बढाइदिन्छ । त्यसैले केही पुरुष शारीरिक रूपले सशक्त भएको अवस्थामा आफ्नो शरीरलाई हतियार बनाएर नियन्त्रण, धम्की तथा शोषणका लागि त्यसको उपयोग गर्छन् ।
हेजेमोनिक पुरुषत्व अर्थात् वर्चस्वशाली पुरुषत्वलाई समाजमा पुरुषको वर्चस्वको स्थितिलाई वैधानिक बनाउने अभ्यासका रूपमा परिभाषित गरिएको छ । एक समाजशास्त्रीय अवधारणाका रूपमा हेजेमोनिक पुरुषत्वको प्रकृति मार्क्सवादी सिद्धान्तकार एन्टोनियो ग्राम्सीद्वारा सांस्कृतिक आधिपत्यको सिद्धान्तबाट प्रतिपादित भएको अवधारणा हो । यसले सांस्कृतिक गतिशीलतालाई बुझाउँछ । जसका माध्यमबाट एक सामाजिक समूहले सामाजिक पदानुक्रममा अग्रणी र प्रभावकारी स्थिति दाबी गर्छ र यसलाई कायम राख्छ ।
हेजेमोनिक पुरुषत्व अर्थात् वर्चस्वशाली पुरुषत्वलाई समाजमा पुरुषको वर्चस्वको स्थितिलाई वैधानिक बनाउने अभ्यासका रूपमा परिभाषित गरिएको छ
वर्चस्वशाली पुरुषत्वको वैचारिक सुरुवातले पुरुषत्वको सांस्कृतिक रूपले आदर्शको प्रतिनिधित्व गर्यो जुन सामाजिक पदानुक्रमका रूपमा आधिपत्यको रूपमा थियो र ब्रेड विनरका रूपमा हेरिन्थ्यो । ब्रेड विनरको व्यक्तित्वको चित्र आक्रामक, छद्म, प्राकृतिक, कठोर र मनोवैज्ञानिक रूपमा विरोधाभासपूर्ण, आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा दिगो हुनुपर्छ भन्ने मान्यताले जरो गाड्यो । यो संसारभरि नै भिन्न परिवेश, तर उस्तै प्रचलनकै रूपमा उदाउँदै आयो । हामी आकलन गर्न सक्छौँ कि महिलाहरू घरपरिवार, बालबच्चाको स्याहारसम्भारमै व्यस्त भइरहँदा र पुरुषहरू संसार विचरण गर्दै नयाँनयाँ खोज तथा सम्भावनाका बाटाहरूको खोजीमा लाग्दा महिलाको सम्पत्तिमा अधिकार न्यून हुन पुग्यो । पुरुषमा हुनुपर्ने गुण भन्नेजस्ता सांस्कृतिक मान्यताले गर्दा पनि महिलाको शिक्षा, अर्थोपार्जन, सामाजिक राजनीतिक जीवनमा सक्रियतामा धेरै पछि मात्र विस्तारै विकास हुन पुग्यो या हुँदै छ ।
हेजेमोनिक पुरुषत्वको अवधारणाका समर्थकले तर्क गर्छन्, यो लैंगिक सम्बन्ध बुझ्नका लागि अवधारणात्मक रूपमा उपयोगी छ । र, जीवनकालको विकास, शिक्षा, अपराधशास्त्र, आमसञ्चारमाध्यममा पुरुषत्वको प्रतिनिधित्व, पुरुष र महिलाको स्वास्थ्य र संगठनको कार्यात्मक संरचनालगायत असमान शक्ति सम्बन्धको अध्ययन यस अवधारणाले गर्छ ।
आरडब्लू कोनेलका अनुसार समकालीन अमेरिकी र युरोपेली संस्कृतिमा हेजेमोनिक मर्दानीले मापदण्डको रूपमा काम गर्छ । जसमा महिलामाथिको प्रभुत्व र पुरुषभित्रैको पनि प्रभुत्व पर्छन् । यसले पुरुषमा पनि को बढी पुरुषत्व भएको भन्ने बुझाउँछ । यस्तो स्टेरियोटाइपको अवधारणाले नै युवा पुरुषको सामाजिकीकरण र आकांक्षालाई आकार दिइरहेको हुन्छ । उदाहरणका रूपमा निर्दयी, तीव्र प्रतिस्पर्धी, कमजोरी या निर्भरता स्वीकार गर्न नसक्ने या नचाहने, महिलाको अवमूल्यन गर्ने र खिल्ली उडाउनेजस्ता ‘गुण’ पुरुषमा देखिन सक्छ । पुरुषत्वको कुरा गर्नु भनेको लैंगिक सम्बन्धबारे कुरा गर्नु हो । पुरुषत्वले लैंगिक रूपमा पुरुषको सामाजिक अवस्थालाई चित्रण गर्छ ।
हाम्रो देशमा पनि वेलाबखत शक्तिका वरिपरि भएका पुरुषहरूले आफ्ना अहंलाई खुलेआम र गर्वसाथ समुदायबीच प्रस्तुत गरिरहेका हुन्छन् । त्यो क्षमता उनीहरूले पनि त्यही समाज, संस्कृति र वर्चस्वशाली पुरुष हुनुको फाइदाको रूपमा भोगचलन गर्दै आइरहेका हुन्छन् । वर्तमान अवस्थामा चुनावी माहोलमा पनि हामी हाम्रो समाजमा देख्न सक्छौँ कि पुरुषहरू नै आक्रामक रूपमा प्रचारमा जुटेका छन् ।
चुनावका उम्मेदवार पुरुष बेलगाम बोलिरहेका छन् । उनीहरूले आफ्ना बोलीमा अनियन्त्रित भाव दर्साइरहेका छन् । ती भाव महिलालक्षित गाली हुन् या आफ्नै सहकर्मी, तर सम्बन्ध बिग्रेका साथी नै किन नहोउन् । ती प्रभुत्वशाली पुरुष नेताहरूले न कुनै गल्ती मनन गर्छन् न विगत या वर्तमानमै मैले आवेगमा या अनजानमा यस्ता संवेदनशील कुरा बोलेँ भनेर गल्ती नै महसुस गर्छन् । आफ्ना महिलाद्वेषी लाग्ने, दलित, सिमान्तीकृतको विपक्षमा बोलिने भाषालाई सच्याउनु त कता हो कता, अरू पनि थपेर त्यसको प्रमाणीकरणमा लाग्ने गर्छन्, विशेषतः पुरुष नेतृत्वहरू ।
लाग्छ, हाम्रो समाजमा पनि वर्चस्वशाली पुरुषहरूमा उही हेजेमोनिक पुरुषत्वका गुण भरिभराउ त छैन ? यो तथ्य पुरुषवर्गले नै बुझ्नुपर्ने हुन्छ । कुनै नेतृत्व हाँक्ने क्षमता भनेको कंक्रिटका जंगल बनाउन मात्र सक्रिय हुनु होइन । आफ्ना वर्चस्वले समाजका हरेक इकाइ र मानवीयतालाई पनि छुन सक्नु हो । हुन त अहिले भइरहेको स्थानीय निर्वाचनमा महिलाको उम्मेदवारीमा उपस्थिति न्यून भए पनि पुरुषहरूचाहिँ मिलेकै जस्तो देख्न सकिन्छ । यो हेजेमोनिक पुरुषत्वमा कमी ल्याउने एक सकारात्मक पाटो पनि हो । तर, फेरि असामाजिक, आपराधिक र महिलामाथिका बोलीवचन र घटनालाई छोपछाप पारेर ठूलो स्वरले झपारेर स्थिति साम्य पार्ने पुरुषत्वको वर्चस्वभन्दा पनि मानवीयताको वर्चस्वको खाँचो छ हाम्रो समाजलाई ।