१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Sunday, 22 September, 2024
२o७९ बैशाख २२ बिहीबार १o:o८:oo
Read Time : > 2 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

हेटौँडा उपमहानगरमा ‘ह्याट्रिक’  गरेको एमालेमाथि गठबन्धनको दबाब

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार १o:o८:oo

०७४ मा कांग्रेस–माओवादी गठबन्धनलाई हराएको एमाले यसपालि पाँच दलका साझा उम्मेदवारसँग मैदानमा, राप्रपा पनि प्रतिस्पर्धामा

हेटौँडा उपमहानगरको आगामी नेतृत्व कसको हातमा जाला ? पछिल्ला केही सातादेखि हेटौैँडा बजार मात्र होइन, नगरका भित्री चियापसल र चोकहरूमा समेत यही चर्चा हुने गरेको छ । विगत र अहिलेको शक्तिसन्तुलनलाई हेर्दा मुख्यतः एमाले र पाँचदलीय गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । तर, राप्रपा पनि बलियो प्रतिस्पर्धीका रूपमा खडा भएको छ । 

हेटौँडा नगरमा एमालेको गर्विलो इतिहास छ । अहिलेसम्म भएका सबै स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अर्थात्, एमालेले ह्याट्रिक गरिसकेको छ । हेटौँडा नगरपालिका हुँदा दुई र उपमहानगर भएपछि भएको निर्वाचनमा पनि एमालेकै उम्मेदवारले बाजी मारेका छन् । त्यसैले एमाले अहिले पनि बलियो प्रतिस्पर्धी हो ।

प्रमुखमा एमालेका उम्मेदवार अनन्त पौडेललाई उसैबाट टुक्रिएर बनेको एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाको सबैभन्दा बलियो चुनौती छ । लामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् । गठबन्धनको मुख्य शक्ति कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको उनलाई बलियो साथ देखिन्छ । 

एमालेले उपमेयरमा सुमित्रा काफ्लेलाई उठाएको छ । गठबन्धनबाट उपप्रमुखमा कांग्रेसका राजेश बानियाँ उठेका छन् । यी दुई दललाई चुनौती दिने तयारीसाथ राप्रपाले प्रमुखमा दीपकबहादुर सिंह र उपप्रमुखमा इन्दिरा न्यौपानेलाई अघि सारेको छ । सिंह यहाँका सदाबहार उम्मेदवार हुन् ।

स्थानीय तहका सबै निर्वाचनमा उनी प्रमुखमा उठ्दै र पराजित हुँदै आएका छन् । कमल थापाको गृहजिल्ला भएकाले पहिलेदेखि नै यहाँ राप्रपाको प्रभाव छ । तर, थापाले राप्रपा फुटाएर राप्रपा नेपाल पुनर्गठन गरेपछि त्यो शक्ति एकीकृत छ वा छिन्नभिन्न भयो भन्ने खुलेको छैन । राप्रपा नेपालले यहाँ कसैलाई उम्मेदवार उठाएको छैन । 

०४९, ०५४ र ०७४ मा भएका निर्वाचनमा विजयी हुँदै एमालेले ह्याट्रिक गरेको थियो । यसपटक गठबन्धन त्यसलाई तोड्न चाहन्छ । ०७४ मा कांग्रेस र माओवादीको गठबन्धनबाट कांग्रेसका आनन्दराम पराजुली उम्मेदवार बनेका थिए । पराजुली ६ सय १५ मतले एमालेका हरिबहादुर महतसँग पराजित हुन पुगे । उपमेयरमा माओवादीबाट उठेका बलराम बल एमालेकी उम्मेदवार मीना लामा (अहिले गठबन्धनकी प्रमुख उम्मेदवार)सँग ठूलो अन्तरले पराजित भए ।

यो तथ्यांक हेर्दा एमाले विभाजित रहेको अवस्था र गठबन्धनमा कांग्रेस, माओवादीसँगै विभाजित समाजवादी, जसपा र जनमोर्चासमेत जोडिँदा गठबन्धन केही सहज अवस्थामा देखिन्छ । तर, विभाजित अवस्थामै पनि एमाले कमजोर शक्ति होइन । गठबन्धनभित्र कांग्रेस बलियो र एकीकृत समाजवादी कमजोर छ । माओवादी जिल्लाकै तेस्रो शक्ति र गठबन्धनको दोस्रो शक्ति हो । जसपा र जनमोर्चाका मतदाता न्यून छन् ।

शक्ति परीक्षण नगरिएकै अवस्थामा समाजवादीलाई उपमहानगरको नेतृत्व दिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि थियो । समाजवादीको नेतृत्व कुनै हालतमा नस्विकार्ने भन्दै यहाँका कांग्रेस नेताले केन्द्रमा बारम्बार दबाब दिएका थिए । तर, केन्द्रबाटै भागबन्डा मिलाउँदा नेतृत्व समाजवादीले नै पायो । 

उपमहानगरको नेतृत्व जित्न यसपटक ३० हजारभन्दा बढी मत ल्याउनुपर्ने आकलन गरिएको छ । यसअघि कांग्रेस, माओवादी गठबन्धनले २२ हजार पाँच सय नौ मत ल्याएको थियो । अहिले पाँचदलीय गठबन्धनका नेता ३५ हजारभन्दा बढी मत ल्याउने दाबी गर्छन् । एक्लै लडेर २३ हजार एक सय २४ मत ल्याएको एमालेका नेता पाँच वर्ष उपमहानगरको नेतृत्वमा रहँदा गरेका कामका कारण मतदाता आफ्नो पक्षमा रहेको बताउँछन् । कांग्रेसकै असन्तुष्टहरूको मत र नयाँ मतदाताको मतसमेत जोड्दा आफूहरू सहजै विजयी हुने उनीहरूको विश्लेषण छ । 

गठबन्धन र एमालेका आ–आफ्नै दाबी
कांग्रेस जिल्ला सभापति बुद्ध लामा हेटौँडामा कांग्रेस बलियो रहेको र माओवादी तथा एकीकृत समाजवादीले आ–आफ्नो मत बढाउन सके सहजै जित्न सकिने बताउँछन् । यसअघि देखिएको मत बदर नदोहोरिए गठबन्धनको जित अझ सहज हुने उनको दाबी छ ।

०७४ मा प्रमुखमा झन्डै सात हजार र उपप्रमुखमा नौ हजार मत बदर भएको थियो । लामाले यसपटक प्रमुख, उपप्रमुखसँगै दुईतिहाइभन्दा बढी वडामा गठबन्धन विजयी हुने दाबी गरे । एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ भने हेटौँडामासबै विकास एमालेको नेतृत्वमा भएकाले चौथो कार्यकालका लागि पनि नगरवासीले एमाले उम्मेदवारलाई तिजाउने दाबी गर्छन् ।