१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
बिर्तामोडमा रिक्सामा झन्डा राखी जिंगल बजाएर मत माग्न हिँडेका गठबन्धनका कार्यकर्ता ।
२०७९ बैशाख १६ शुक्रबार ०८:३७:००
Read Time : > 2 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

झापामा निर्वाचन आचारसंहिता उल्लंघनमा ठूला दल अगाडि

Read Time : > 2 मिनेट
२०७९ बैशाख १६ शुक्रबार ०८:३७:००

- १२ वैशाखमा गौरादह नगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न कांग्रेस, माओवादीसहितको गठबन्धन दल शक्ति प्रदर्शन गर्दै निर्वाचन अधिकृतको कार्यालय पुग्यो । उसले प्रत्येक मोटरसाइकल र ठूला सवारीमा गठबन्धनका दलको झन्डा लगायो । यसरी सवारीसाधनमा लगाएर निर्वाचन प्रक्रियामा सहभागी हुनु निर्वाचन आचारसंहिता २०७८ को दफा १२ (घ) विरुद्ध थियो । तर, न स्थानीय प्रशासनले रोक्यो, न त निर्वाचन कार्यालयले नै रोक्यो । 

- बिर्तामोड नगरपालिकामा नेकपा एमालेले रिक्सा तथा अटोमा झन्डा लगाएर र प्रचारको संगीतसहित घरदैलो कार्यक्रम गरिरहेको छ । एमाले बिर्तामोडले टोपीमा लोगो त अंकित गरेको छैन, तर प्रचारमा हिँड्ने सबै नेता/कार्यकर्ताले रातो टोपी लगाएका छन् । जसले एउटा दलका भन्ने संकेत दिन्छ । यो गतिविधि निर्वाचन आचारसंहिता २०७८ को दफा १२ (घ)प्रतिकूल छ ।

- राप्रपाले बिर्तामोडको प्रचारका लागि अटोमा झन्डा राखेर घरदैलो कार्यक्रम गरिरहेको छ । उसले दलप्रति मतदाता प्रभावित पार्ने गीतसंगीत पनि बजाइरहेको छ । यो निर्वाचन आचारसंहिताविपरीत हो । 

आचारसंहिता उल्लंघनका यी केही उदाहरण हुन् । झापामा ठूला दलहरू आचारसंहिता उल्लंघनमा अगाडि छन् । यी उदाहरण निर्वाचन आचारसंहिता २०७८ को दफा १२ (घ)विपरीत छन् । यस दफामा जुलुस, आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झन्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गाम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने, तर उम्मेदवारले एफोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा)को विवरण खुलाई वितरण गर्न बाधा नपर्ने उल्लेख छ । तर, झापाका राजनीतिक दलहरूले भने चुनाव प्रचारमा प्रयोग भएको मोटरसाइकल, अटो रिक्सा र चारपांग्रे सवारीमा झन्डा तथा प्राचारका ब्यानर लगाएर चुनाव प्रचार गरिरहेका छन् । 

आचारसंहिता उल्लंघनमा एमाले, कांग्रेस, माओवादी, राप्रपालगायतका ठूला दल अग्रपंक्तिमा छन् । यस्तै, राजनीतिक दलले सवारीसाधनमा प्रचारका जिंगल र पार्टीअनुकूल हुने सामग्रीहरू चोकचोकमा बजाएर मतदाता फकाइरहेका छन् । 

झापाको कमल गाउँपालिकास्थित पाडाजुंगी चोकमा दलहरूले निर्वाचन आचारसंहिताविपरीत राखेका झन्डा ।

झापाका राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयको आचारसंहिता अनुगमन समितिको बैठकमा निर्वाचन आचारसंहिताविपरीत प्रचार नगर्ने प्रतिबद्धता जनाएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीराम नेपालले बताए । ‘झन्डा लिएर मत माग्न हिँड्न, गीतसंगीत र जिंगल बजाएर हिँड्न पाइँदैन । यो निर्वाचन आचारसंहिताविपरीत हो,’ उनले भने, ‘निजी र सार्वजनिक सवारीमा झन्डा लगाए सवारी पनि जफत हुन सक्छ ।’ साना दल र स्वतन्त्र उम्मेदवारको प्रचारप्रसार र घरदैलो कार्यक्रम आचारसंहिताविपरीत देखिँदैन । तर, ठूला दलले भने आचारसंहिताको धज्जी उडाएर ब्यानर, कैयौँ झन्डा र जिंगल तथा गीतसंगीत बजाएर मतदातालाई प्रभावित पार्न घरसम्म पुगिरहेका छन् ।

उम्मेदवारले प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गरेर प्रचारप्रसार गर्नु आचारसंहिताविपरीत हो । तर, झापाका स्थानीय तहका उम्मेदवारले सामाजिक सञ्जालमा धमाधम प्रचार गरिरहेका छन् । प्राविधिक विषयमा निर्वाचन आयोगसँग समन्वय गरेर रोकिने नेपालको भनाइ छ । निर्वाचन आचारसंहिता कार्यान्वयन भए÷नभएको पनि जिल्लास्थित आचारसंहिता अनुगमन समितिले अनुगमन गरिरहेको र कार्यान्वयन नगर्नेलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । 

सार्वजनिक स्थलमा झन्डा राख्ने प्रतिस्पर्धा
झापामा सार्वजनिक स्थानमा दलका झन्डा राख्ने प्रतिस्पर्धा नै चलेको छ । आचारसंहिताविपरीत ठूला राजनीतिक दलले एकअर्काको सिको गर्दै चोकचोकमा झन्डा राखेका छन् । मुख्य गरेर पूर्व–पश्चिम राजमार्गमा पर्ने कमल गाउँपालिकाको पाडाजुंगी चोक, शिवसताक्षीको धरमपुर, डुडामारी, दुधे बजार, झिलझिले बजारमा ठूला राजनीतिक दलले ठूला झन्डा राखेका छन् । झापामा बिजुलीका पोलमा समेत झन्डा राखिएको छ । उनीहरूले प्रतिस्पर्धा गरेर एकै ठाउँ एमाले कांग्रेस, माओवादीलगायत दलको झन्डा राखेका हुन् ।

यसरी सार्वजनिक स्थानमा झन्डा राख्नु निर्वाचन आचारसंहिता २०७८ को दफा १२ (ज) विपरीत हुन्छ । उक्त दफामा घर वा जग्गाधनीको अनुमति नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने उल्लेख छ । 

‘यसरी सार्वजनिक स्थानमा राख्न पाइँदैन । राखेको भए हटाउँछौँ भनेर राजनीतिक दलले प्रतिबद्धता जनाएका छन्,’ निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले भने, ‘यदि उहाँहरूले हटाउनुभएन भने हामी प्रहरी लगाएर हटाउँछौँ । झापामा पूर्ण रूपमा अचारसंहिता कार्यान्वयन हुन्छ ।’