१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ बैशाख १६ शुक्रबार ०८:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल–अमेरिका सम्बन्धको ७५ वर्ष उच्चस्तरीय भ्रमण अनिश्चित

Read Time : > 2 मिनेट
२०७९ बैशाख १६ शुक्रबार ०८:२४:००

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल भन्छिन्– उच्चस्तरीय भ्रमणको अपेक्षा छ 

नेपाल र अमेरिकाबीच यो वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष पुगे पनि उच्चस्तरीय भ्रमण दुवैबाट भएन । पछिल्लोपटक डेमोक्रेटिक पार्टीकी सिनेटर (सांसद) क्रिस्टेन गिलिब्रान्ड नेतृत्वमा ६ सदस्यीय टोलीले ९ देखि ११ वैशाखमा नेपाल भ्रमण गर्‍यो । त्यसअघि ६ देखि ८ वैशाखमा दक्षिण तथा मध्यएसियाली मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले भ्रमण गरिन् । तर, दुई देशबीच विदेशमन्त्री वा त्योभन्दा माथिल्लो स्तरका उच्च अधिकारीहरूको भ्रमण निश्चित छैन । अमेरिकाबाट दुई दशकयता नेपालमा विदेशमन्त्रीस्तरको समेत भ्रमण भएको छैन । 

नेपाल र अमेरिकाबीच २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । बेलायतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको दोस्रो मुलुक अमेरिका हो । तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलले दुई दशकअघि नेपाल भ्रमण गरेका थिए । त्यसयता विदेशमन्त्री वा उनीभन्दा माथिल्लो स्तरमा अमेरिकाबाट नेपाल भ्रमण भएको छैन । नेपालबाट पछिल्लोपटक चार वर्षअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३–५ पुस ०७५ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । उनले त्यसवेला विदेशमन्त्री माइक पोम्पियोलगायत उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए । तत्कालीन उपप्रधानमन्त्री कमल थापासँग अमेरिकामा ६ वर्षअघिको भेटवार्तामा तत्कालीन विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणमा आउने बताएका थिए । तर, उनको भ्रमण भएन । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ महत्वपूर्ण अवसर भएको बताउँदै उच्चस्तरीय भ्रमण अपेक्षित रहेको बताइन् । ‘यसमा दुवै पक्ष छलफलमा छन् । यो वर्ष दुवैतिरबाट उच्चस्तरीय भ्रमणको अपेक्षा छ, तर ठोस रूपमा भन्नुपर्ने कुरा छैन,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लम्सालले भनिन् । 

दुई दशकअघिको उच्चस्तरीय भ्रमण
शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा ५ माघ ०५८ मा विदेशमन्त्री पावेल नेपाल भ्रमणमा आएका थिए । माओवादीविरुद्ध सेना परिचालित भएको त्यो वेला ‘पावेलले आतंकवादविरुद्ध अमेरिकी सहयोग रहने’ घोषणा गरेका थिए । ११ सेप्टेम्बर २००१ मा अलकायदाले अमेरिकाको ट्विन टावरमा हवाई हमला गरेपछि अमेरिकाले आतंकवादविरुद्ध अभियान घोषणा गरेको थियो । त्यसवेला भारत र पाकिस्तानको भ्रमण सकेर नेपाल भ्रमणमा आएका पावेलले माओवादीविरुद्ध सरकारको कारबाहीमा ऐक्यबद्धता जनाउँदै थप सहयोगको आश्वासन दिएका थिए । 

अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्नेउ सन् १९७० मा नेपाल भ्रमणमा आएका थिए, जतिवेला अमेरिकी गुप्तचर एजेन्सी सिआइएको सहयोगमा तिब्बती खम्पाहरू नेपालको उत्तरी सिमानामा संगठित हुँदै थिए । सन् १९९५ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती (फस्र्ट लेडी)को हैसियतमा हिलारी क्लिन्टनले नेपाल भ्रमण गरेकी थिइन् । 

राजा महेन्द्र दुईपटक र वीरेन्द्र एकपटक अमेरिकाको राजकीय भ्रमणमा गएका थिए । त्यसपछि राष्ट्रप्रमुखस्तरमा नेपालबाट अमेरिकाको भ्रमण भएको छैन । २३–२८ वैशाख ०५९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको भ्रमण गरेका थिए । देउवाले अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँग ह्वाइटहाउसमा भेटवार्ता गरेका थिए । उनीपछि नेपालका कुनै पनि प्रधानमन्त्री ह्वाइटहाउस पुगेका छैनन् । 

देउवाअघि प्रधानमन्त्री बिपी कोइराला र डा. तुल्सी गिरीले मात्रै अमेरिकाको औपचारिक भ्रमण गर्ने अवसर पाएका थिए । प्रधानमन्त्री देउवालाई गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले वल्र्ड डेमोक्रेसी समिटमा निमन्त्रणा गरेका थिए, जहाँ देउवाले भर्चुअल सम्बोधन गरे । प्रधानमन्त्री देउवाको प्रयासमा नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट पारित भयो । ‘अहिले नेपाल र अमेरिकाबीच विश्वासको सम्बन्ध छ । तर, उच्चस्तरीय भ्रमणको आशा अहिले नै गर्नु हतार होला,’ जानकार एक कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । 

चीनसँग सीमा विवाद छैन : परराष्ट्र
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले छिमेकी चीनसँग नेपालको सीमा विवाद नभएको बताएकी छन् । दुई देशबीच दुई साताअघि सम्पन्न सीमा कानुनसम्बन्धी गृहसचिवस्तरीय बैठकका सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता लम्सालले भनिन्, ‘चीनसँग हाम्रो कुनै सीमा विवाद छैन । सीमा क्षेत्रमा भएका सानातिना समस्या गृहसचिवस्तरीय बैठकमा सेयरिङ भएको छ । यो नियमित प्रकारको बैठक हो ।’ 

केही दिनअघि चिनियाँ राजदूत होउ यान्छीले दुई देशबीच सीमा व्यवस्थापन र सीमाका विषयमा सहसचिव (महानिर्देशक) स्तरीय बैठकका लागि आपसी छलफल भइरहेको बताएकी थिइन् । हुम्लामा नेपाल र चीन सीमामा देखिएका समस्याबारे अध्ययन गर्न गृह मन्त्रालयले गठन गरेको कार्यदलले पनि सीमा क्षेत्रमा समस्या देखिएको तर अतिक्रमण नदेखिएको विवरण सरकारलाई बुझाइसकेको छ ।