सप्तरीमा दाइजो नल्याएको निहुँमा एक महिला निर्घात कुटिएकी छन् । रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँकुमारी भगतलाई दाइजो नल्याएको भन्दै श्रीमान्, सासू र ससुराले निर्घात कुटपिट गरेका हुन् । परिवारका सदस्यको कुटपिटबाट गम्भीर घाइते भएकी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी उनको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ । ‘आइतबार राति साढे ७ बजेतिरको घटना हो, तँलाई मारिदिन्छु भन्दै ससुरा शिवदयाल भगत, पति सञ्जीवकुमार भगत, सासू सीतादेवी, जेठानी अञ्जु, नन्द रञ्जु, गाउँकै नाता पर्ने बिणाले अन्धाधुन्ध कुटपिट गरेपछि म अचेत भएँ,’ उनले भनिन्, ‘सोमबार बिहान मात्रै होस खुलेपछि जसोतसो गरी अस्पतालसम्म आइपुगेँ ।’
यसअघि पनि दाइजोकै निहुँमा आफूमाथि पटक–पटक कुटपिट हुने गरेको उनले गुनासो गरिन् । ‘दाइजोको निहुँमा पटक–पटक शारीरिक र मानसिक यातना खेप्दै आएकी छु,’ उनले भनिन्, ‘सहन नसकेपछि प्रहरीमा पुगे पनि सुनुवाइ नै भएन ।’ प्रहरीले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर सप्तरी जिल्ला अदालतमा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता गरेको उनले बताइन् । ‘सो मुद्दामा १९ पुस ०७८ मा अदालतले अन्तरिम संरक्षणात्मक आदेश दियो,’ उनले भनिन्, ‘त्यसपछि त परिवारका सदस्यहरू झन् उग्र बने र तेरो अदालतले कसरी बचाउन आउँछ भन्दै कोठामा थुनेर कुटपिट गर्न थाले ।’ आइतबार राति पनि त्यही घटना दोहोरिएको उनले बताइन् ।
प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय राजविराजकी कानुनी अधिकृत अधिवक्ता किरण साहले विभिन्न बहानामा लक्ष्मीनियाँमाथि भएको हिंसाविरुद्ध प्रहरीमा उजुरी दिँदासमेत पीडकहरूलाई कारबाही गर्नेतर्फ प्रहरी उदासीन देखिएको बताइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुटपिटमा संलग्न लक्ष्मीनियाँका ससुरा शिवदयाललाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताए । ‘पुरानै घरायसी झैझगडा हो । धेरैपटक प्रहरीमा छलफल पनि भएकै हो,’ उनले भने, ‘पछिल्लो घटनाको जानकारीसँगै पीडितका ससुरालाई नियन्त्रणमा राखी हामीले अनुसन्धान गरिरहेका छौँ ।’