भक्तपुरमा मनाइने बिस्केट जात्रा बिस्का जात्राको नामले पनि चिनिन्छ । यो जात्रा प्रत्येक वर्ष चैतको अन्तिम साता सुरु भई नयाँ वर्ष सुरु भएको वैशाख ५ गतेसम्म मनाइन्छ । यो जात्रा भक्तपुर नगरपालिकाभित्र आठ रात, नौ दिनसम्म भव्य रूपमा चल्छ । लिच्छविकालदेखि व्यवस्थित रूपमा मनाउन थालिएको यो जात्रा भैरवनाथ तथा भद्रकाली देवीदेवतालाई काठ तथा बेतबाट निर्माण गरिएको प्यागोडा शैलीको कलात्मक रथमा राखी घुमाइन्छ । केही इतिहासकारले यो जात्रा विक्रम सम्वत् सुरु भएको मितिदेखि मनाउन थालिएको बताएका छन् ।
चैत मसान्तको चार दिनअघिदेखि भक्तपुर नगरमा जात्राको रौनक सुरु हुन्छ । भक्तपुर नगरभित्रका नेवार समुुदायले मनाउने यस जात्रामा तान्त्रिक विधिले निर्माण गरिएको श्रीभैरव र भद्रकालीको रथ तौमडीस्थित पाँचतले मन्दिर प्रांगणबाट क्वाँछे, कुमारीपाटी, साकोथा, सुकुलढोका, गोलमडी, गाःहिटी, भेलुखेल क्षेत्रसम्म तानेर पुर्याउने चलन छ । लिच्छविकालदेखि मनाइँदै आएको यो जात्रा विश्वनाथ भैरव, ध्वजा, शिव र शक्तिको प्रतीक मानिन्छ ।
स्थानीय नेवार समुदायले भव्य रूपमा मनाउँदै आएको यो जात्राले नयाँ वर्षको आगमनसँगै भक्तपुरको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्व बोकेको छ । विस्केट जात्रा सुरु भएसँगै भक्तपुर जात्रामय हुन्छ । नगरका टोलटोलमा बाजागाजासहित उल्लासमय वातावरण हुन्छ ।
जात्रा सुरु हुनुअघि गुठी संस्थानले तीन महिनाअघिदेखि सबै आवश्यक तयारी गर्दै आएको छ । संस्थानले मुख्य गरी रथका लागि काठ, बेत, डोरीलगायत सामग्री व्यवस्थापन गरी रथ निर्माणमा सघाउँछ । रथ निर्माणमा अनुभव भएका प्रेम शिल्पकारको टोलीले यस वर्ष रथ बनाएको हो ।
यो जात्राको अचम्मको विशेषता भनेको दुई टोलका बासिन्दाले दुई विपरीत दिशामा रथ तानातान गर्नु हो । दुई समूहले दुईतिर तान्ने भएका कहिलेकाहीँ तनाव सिर्जना हुन्छ । पाँचतलेदेखि माथिल्लो टोल र तलको टोलबीच रथ तान्दा घमासान लडाइँ हुन्छ । जसले जित्छ, रथ उतै गुड्छ । रथ तान्ने क्रममा कहिलेकाहीँ झडपसमेत हुन्छ । हरेक वर्ष बिस्केटमा रथ तान्दा झडप नहोस् भनेर सुरक्षा निकाय चनाखो भएको हुन्छ ।
जात्रा सुरु हुनु एक दिनअघि राष्ट्र प्रमुखको प्रतिनिधिका रूपमा हनुमान ढोका दरबारबाट ल्याइएको खड्ग बाजागाजासहित भक्तपुर सल्लाघारी च्वाँगा गणेस्थानमा पूजा गरी गुठी संस्थान शाखा कार्यालय भक्तपुर भित्याइन्छ । जात्राको पहिलो दिन श्री भैरवनाथ र भद्रकालीमा पूजा गर्ने, बेताल पूजा गर्ने, तलेजुका राजोपाध्यायलाई खड्ग बुझाउने, भैरवनाथ र भद्रकालीलाई फरक–फरक रथमा विराजमान गराउने अनि रथ तान्ने कार्यक्रम सुरु हुन्छ । रथ तानेर श्री भैरवनाथको रथ गाःहिटीमा पुर्याउने र भद्रकालीको रथ पुःबहालमा ल्याउने चलन छ । रथ तान्न हजारौँ स्थानीय सहभागी हुन्छन् । दुईतिर रथ तान्ने पहिलो दिन दुई पक्षबीच घम्साघम्सी हुन्छ ।
बिस्केट जात्रा सुरु हुने दिन दुईतिर रथ तान्ने परम्परालाई मैत्रीपूर्ण खेलका रूपमा लिई सौहार्दपूर्ण ढंगले निरन्तरता दिने थिति बसाउन सकियो भने जात्रामा झडपको सम्भावना अन्त्य हुन्छ
चैत मसान्तको चौथो दिनलाई लिंगो उभ्याउने जात्रा भनिन्छ । भक्तपुरको बोलाँछेस्थित कुमाले टोलमा बिहान हात नभएको लिंगो उभ्याउने कार्यक्रम हुन्छ । भद्रकालीमा राँगो बलि दिने, भैरवनाथको लिंगोमा हात टाउको बनाउने, लिंगो उठाउन आवश्यक सामग्रीहरू धागोको डोरी, कपडा आदि भेलुखेल पुर्याइन्छ । सल्लाको रुखबाट तयार भएको नाङ्लो जत्रो फेद भएको ५५ हाते लामो लिंगो ठड्याउने चलन छ । यो लिंगो जसरी पनि २४ घन्टाभित्र स्थानीय समुदायले उभ्याएर ढलाउने परम्परा छ । चैत मसान्तमा लिंगो उभ्याउने र नयाँ वर्षको दिन १ वैशाखमा विधिअनुसार ढलाइन्छ ।
१ वैशाखमा गुठी संस्थानले कानफट्टा जोगीहरूको सहयोगमा विधिपूर्वक राँगा, बोका, कखुराको बलि दिई जोगीचक्र पूजा गरिन्छ । सोही दिन इन्द्रायणी देवतालाई खटमा राखी नगर परिक्रमा गर्ने प्रचलन छ । २ वैशाखमा श्री ज्याठा गणेश र श्वेत भैरवको रथयात्रा गर्ने प्रचलन छ । ५ वैशाख बिस्केट जात्राको अन्तिम दिन हो । श्रीभैरव, भैरवी र भद्रकालीको पूजा सम्पन्न गरी बाजागाजासहित दिउँसो २ बजे तलेजुका पुजारीलाई खड्ग बुझाउने र अपराह्न ४ बजे भैरवनाथलाई बाजागाजासहित गाःहिटीमा ल्याई रथमा राखेर तानिन्छ । रथ तौमढी भैरवनाथ मन्दिरअघि पुगेपछि भैरवनाथ र खड्गलाई मन्दिरमा भित्याई विधि र परम्पराअनुसार जात्रा सम्पन्न गरिन्छ ।
सुधार गर्नुपर्ने पक्ष : काठमाडौँ उपत्यकाका अरू जात्राजस्तै बिस्केटको आफ्नै इतिहास र मौलिकता छ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्व बोकेको बिस्केटको बलियो आस्थालाई जोगाइराख्न सुधार गर्नुपर्ने केही पक्ष देखिन्छन् । दुई टोलले दुईतिर रथ तान्ने परम्परा भएको र जसले जित्यो उतै रथ गुडाउनुपर्ने भएकाले बल प्रयोग हुनु स्वाभाविक हो । तर, रथ तान्ने क्रममा विगतमा ठूलो झडप हुँदा मानवीय क्षति भएका घटनासमेत छन् ।
जात्रा सुरु हुने पहिलो दिन दुईतिर रथ तान्ने परम्परालाई मैत्रीपूर्ण खेलका रूपमा बुझेर सौहार्दपूर्ण ढंगले तान्ने थिति बसाउन सकियो भने बिस्केटजस्तो महत्वपूर्ण जात्रामा कोही पनि घाइते हुने अवस्था आउँदैन । त्यसका लागि स्थानीय समुदायले छलफल गरेर पहिले नै एउटा समझदारी गर्नु उचित हुन्छ । त्यतिवेला नगरपालिका र सुरक्षा निकायले समन्वय गर्न सक्छन् । विनामानवीय क्षति जात्रा भव्य र सभ्य बनाउन जनचेतना जगाउनु आवश्यक छ । जात्रा तयारीका क्रममा स्थानीय निकाय, जिल्ला प्रशासन, सुरक्षा निकाय, विज्ञ, जात्रा व्यवस्थापन समिति र गुठी संस्थानबीच समन्वय र छलफल भएमा जात्रामा हुने कमी–कमजोरी हटाउन सकिन्छ । ‘हामी हाम्रो जात्रा भव्य र सभ्य बनाउँछौँ’ भन्ने मनन गरी सम्बन्धित सबैले ध्यान दिनु आवश्यक छ ।
रथ निर्माण गर्दा, लिंगो उठाउने र ढलाउने, जात्रा समापन गर्दासम्म विभिन्न चरणका काम व्यवस्थित ढंगले पूरा गरेपछि बिस्केट जात्राको ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्पराको निरन्तरता रहन्छ । गुठी संस्थानले आफ्ना तर्फबाट यो काम गर्दै आएको छ । यो वर्ष बिस्केटलाई विशेष रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नगरपालिका र स्थानीय समुदायको सहयोग र सहभागिताले भव्य रूपमा सम्पन्न हुने चरणमा छ । (ओली गुठी संस्थान भक्तपुरकी कार्यालय प्रमुख हुन्)