१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Friday, 20 September, 2024
२o७९ बैशाख २ शुक्रबार ११:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनबाट जसपा बाहिरिएपछि बाँकेमा पालिका बाँडफाँडमा सकस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार ११:३१:oo

स्थानीय निर्वाचन नजिकिए पनि बाँकेका पाँचदलीय गठबन्धनलाई पालिका बाँडफाँड गर्न सकस भएको छ। जनता समाजवादी पार्टी (जसपा)ले बाँकेका चार पालिकामा चुनावी तालमेल नगर्ने अडानसहित पाँचदलीय गठबन्धनबाट बाहिरिने निर्णय गरेपछि गठबन्धन संकटमा परेको छ ।

चार पालिकामा सत्तागठबन्धनका दलहरूबीच मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी तालमेलको औचित्य नरहेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको जसपा जिल्ला अध्यक्ष मोहम्मद कमरुद्धिन राईले बताए। स्थानीय तह भागबन्डाका लागि बसेको सत्तागठबन्धनको बैठकमा जसपाले नेपालगन्ज, नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाको नेतृत्व दाबी गरेको उनले बताए। उक्त प्रस्ताव कांग्रेस र माओवादी केन्द्रले अस्वीकार गरेपछि जसपा बैठकबाटै बाहिरिएको र गठबन्धनमा नबस्ने निर्णय गरिसकेको उनले बताए। ‘कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दम्भ देखाए। सहमतिको प्रयास गर्दासमेत जसपालाई बाइपास गरेर अगाडि बढ्न खोजे,’ उनले भने।

जसपाले नेपालगन्ज उपमहानगर नछाड्ने अडान राख्दै आएको छ। जसपा जिल्ला अध्यक्ष राई स्वयं नेपालगन्ज उपमहानगरको मेयरको उम्मेदवार घोषणा गरी चुनावी अभियानमा छन्। ‘बाँकेका चार पालिकामा गठबन्धन दलहरूबीच प्रतिस्पर्धा हुने भएपछि स्वस्थ प्रतिस्पर्धा गर्ने गरी तालमेल नगर्ने टुंगोमा जसपा पुगेको छ,’ उनले भने।

२०७४ को स्थानीय चुनावमा नरैनापुर गाउँपालिकामा जसपाका सैयद इस्तियाक अहमद शाहले जितेका थिए। डुडुवा र नेपालगन्जमा कांग्रेससँग मुख्य प्रतिस्पर्धामा रहेको जसपाले जानकी गाउँपालिकामा एमालेले जित्दा कांग्रेस पहिलो र जसपा तेस्रो स्थानमा थियो। त्यस्तै, राप्तीसोनारी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धामा थिए। ‘हामी प्रतिस्पर्धामा रहेका पालिकामा एक्लाएक्लै लडौँ। एमालेले जितेका चार पालिकामा गठबन्धन बनाएर लडौँ भन्दा कांग्रेस र माओवादीका साथीहरूले नमानेपछि गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णयमा पुग्यौँ,’ उनले भने।

कांग्रेसले नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र डुडुवा गाउँपालिका नछाड्ने अडान लिएको छ। माओवादी केन्द्रले खजुरा, कोहलपुर र राप्तीसोनारी छाड्न नसक्ने बताउँदै आएको छ। त्यस्तै, एकीकृत समाजवादीले बैजनाथ गाउँपालिकामा दाबी गरिरहेको छ। ‘प्रदेश र संघको चुनावमा जस्तो स्थानीय तहमा चुनावी गठबन्धन सहज छैन,’ जसपा अध्यक्ष राईले भने। सबै राजनीतिक दल र नेताहरू आ–आफ्नो स्वार्थपूर्तिमा लागेको राईको आरोप छ। खजुरा गाउँपालिकाको सिट सुरक्षित गर्न माओवादी केन्द्र बाँकेका अध्यक्ष डम्बरबहादुर विके कांग्रेसलाई नेपालगन्ज दिन तयार भएको राईले बताए। कांग्रेस सभापति नारायणप्रसाद गौडेलले आफ्नो क्षेत्र कोहलपुरमा नेपाली कांग्रेसलाई दिलाएर आफ्नो साख जोगाउने पक्षमा भएको उनको आरोप छ।

जसपा सचिव एवं बाँके २ का सांसद मोहम्मद इस्तियाक राईले कांग्र्रेस र माओवादीको अडानका कारण बाँकेमा गठबन्धन धरापमा परेको बताए। उनले कांग्रेस र माओवादीले पुरानो जनमत देखाएर अहिले धेरै सिट लिन खोज्दा समस्या आएको बताए। ‘गठबन्धनका दलहरूले आफ्नो पार्टीलाई २०७४ सालकै जनमतको आँखाबाट हेरेर व्यवहार गर्न खोज्दा कुरा बिग्रिएको छ। गठबन्धनकै पार्टीले जित्ने ठाउँमा तालमेल गर्नुपर्दैन। एमालेले जितेका ठाउँमा मात्र गठबन्धन गरौँ भनेका हौँ,’ उनले भने।