१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Monday, 01 July, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ बैशाख २ शुक्रबार o७:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

सिन्धुपाल्चोकमा उम्मेदवार छान्न गठबन्धनलाई सकस

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार o७:२२:oo

सत्तासाझेदार गठबन्धनलाई स्थानीय तह टुंग्याएर उम्मेदवार छान्न सकस परेको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू निरन्तर छलफलमा बसे पनि सहमतिमा पुग्न सकेका छैनन् ।

गठबन्धनको केन्द्रीय संयन्त्रले ३ वैशाखभित्र दलले नेतृत्व गर्ने स्थानीय तह र उम्मेदवारबारे सिफारिस गर्न पत्राचार गरेको छ । तीनपटक बैठक बसे पनि ठोस निर्णय र सहमति भएको छैन । २ र ३ वैशाखमा लगातार बैठक गरेर टुंग्याउने योजनामा आफूहरू रहेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले बताए । 

सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन् । तिनमा गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादीले बराबरी हिस्सा दाबी गरिरहेका छन् । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले तीन र माओवादी केन्द्रले दुई तह जितेका थिए । त्यसैका आधारमा एक सिट बढी पाउनुपर्ने कांग्रेसको दाबी छ । तर, मतभार र पछिल्लो समयमा बढेको संगठनको आधारलाई मान्नुपर्ने तर्क माओवादी केन्द्रको छ । सात तह जितेको एमालेको सिटमा आफूहरूलाई प्राथमिकता दिनुपर्ने एकीकृत समाजवादीका नेताहरूले दाबी छ ।

एमाले विभाजनपछि पूर्वसांसद सुभाष कर्माचार्यसहित संगठनमा प्रभाव पार्ने नेता एकीकृत समाजवादीमा गएका छन् । तर, मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपाल र दुई वडाध्यक्षबाहेक अरू जनप्रतिनिधिले एमाले छोडेनन् । एमाले छोडेका बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् । गठबन्धनका बैठकमा तीनवटै पार्टीले आ–आफ्नो दाबी प्रस्तुत गर्नेबाहेक ठोस प्रगति भएको छैन । 

पहिलो निर्वाचनमा कांग्रेसले सुनकोसी, इन्द्रावती र हेलम्बु गाउँपालिका जितेको हो । बाह्रबिसे नगर, मेलम्ची नगर, त्रिपुरासुन्दरी र जुगल गाउँपालिका एमालेले जित्दा कांग्रेस निकटतम प्रतिद्वन्द्वी थियो । एमालेले नै जितेको लिसंखुपाखर र बलेफीमा माओवादी केन्द्र निकटतम प्रतिद्वन्द्वी थियो । जुगल गाउँपालिकामा कांग्रेस दोस्रो भए पनि वडाको मतभार माओवादीको बढी देखिन्छ । कांग्रेस र माओवादीले बराबरी सिटमा दाबी गरिरहँदा एकीकृत समाजवादीले कम्तीमा एक स्थानीय तह पाउनुपर्ने छलफलमा उठेको छ । कांग्रेस र माओवादीको भागमा बराबरी सिट भागबन्डा गरेपछि माओवादीले एकीकृत समाजवादीलाई आफ्नो भागबाट एक तहको नेतृत्व दिनुपर्ने छलफल चलेको बुझिएको छ । गठबन्धन दलबीचका छलफल सकारात्मक नै रहेको कांग्रेस जिल्ला सभापति जंगबहादुर तामाङले बताए । 

विभाजनको सिकार बनेको एमालेले पनि उम्मेदवार छनोट प्रक्रिया टुंग्याउन सकेको छैन । आकांक्षी धेरै भएकाले उम्मेदवार छान्न कठिन परेको हो । तल्लो कमिटीबाट छनोट भएर आएका आकांक्षीको नाम सिफारिस गरेर पार्टीको माथिल्लो निकायमा पठाएको जिल्ला अध्यक्ष कमल नेपालले बताए । 

एमालेले भोटेकोसी गाउँपालिकाको उम्मेदवार टुंग्याएको छ । प्रमुखमा अमृतकुमार खड्का र उपप्रमुखमा सुन्तली लामा श्रेष्ठको नाम सर्वसम्मतले पारित भएको छ । बाह्रबिसे नगरपालिकामा हालका मेयर निम्फुन्जो शेर्पा र उपमेयर शुशीला पाख्रिनको नाम सिफारिस भएको छ । स्थानीय सरकारको आधा सत्ता जितेको एमालेलाई विभाजनले असर पार्ने दावी गठबन्धन दलहरूको छ । त्यसैले आकांक्षीलाई सम्बोधन नगरी उम्मेदवार छनोट गर्दा पार्टी नै छोड्ने सम्भावना रहेकाले एमालेले उम्मेदवारको टुंगो नलगाएको दावी अन्य दलको छ । 

काँग्रेसको तर्फबाट भने बाह्रबिसेमा बालकृष्ण बस्नेत, त्रिपुरासुन्दरीमा भक्तध्वज बोहोरा, सुनकोसीमा श्रवणकुमार जिसी, मेलम्चीमा आइतमान तामाङ उम्मेदवार बन्ने चर्चा छ । माओवादीले दावी गरिरहेको लिसंखुपाखरमा राजु लामा, बलेफीमा गंगा तामाङ, चौतारा साँगाचोकगढीमा पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा उम्मेदवार बन्ने सम्भावना रहेको बुझिएको छ । 

ad
ad
ad
ad